बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगानी सम्मेलन बैशाख तेस्रो साता हुने

बुधबार, पुस १८ २०८०
लगानी सम्मेलन बैशाख तेस्रो साता हुने
फाइल तस्बिर

लगानी सम्मेलनका लागि आवश्यक कानूनी तथा संरचनागत सुधार, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत भइरहेको छ।

काठमाडौं- तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष बैशाख १६ र १७ गते (मार्च १६ र १७) मा काठमाडौंमा आयोजना हुने भएको छ। यसअघि उक्त सम्मेलन बैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो।

सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदस्य सचिव सुशील भट्टले जानकारी दिए। लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समितिको दोस्रो बैठक आज अर्थ मन्त्रालयमा बस्दैछ। अर्थमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठित निर्देशक समितिले सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने तथा सम्मेलनको समग्र पक्ष हेर्ने जिम्मेवारी पाएको छ।

परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति, पर्यटन, उद्योग, कृषि, सहरी, संघीय मामिलालगायत विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव र निजी क्षेत्रका तीन छाता संस्थाका अध्यक्ष निर्देशक समितिमा रहेका छन्।

निर्देशक समितिको पहिलो बैठक गत मङ्सिर १० गते बसेको थियो। उक्त बैठकले सम्मेलन अघि सम्भावित लगानीकर्तासँग द्विपक्षीय छलफल गरी वास्तविक लगानीकर्ता पहिचान गर्ने र आयोजनामा प्रस्ताव आह्वानदेखि लगानी स्वीकृतसम्मको प्रक्रियामा सरकारले सहजीकरण गर्ने गरी तयारी थाल्न निर्देशन दिएको थियो।

लगानी सम्मेलनका लागि आवश्यक कानूनी तथा संरचनागत सुधार, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत भइरहेको छ। लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’ मा लैजाने भनेर छनोटको काम पनि अहिले चलिरहेको छ।

मुख्यसचिव डा बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यान्वयन समितिको अघिल्लो बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै लगानी सम्मेलनमा सोकेसमा लैजान सकिने सम्भाव्य आयोजनाको विवरण पठाउन निर्देश गरेको थियो। रासस


प्रकाशित : बुधबार, पुस १८ २०८०१२:२५
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend