बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैंक’

images
बुधबार, पुस १८ २०८०
images
युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैंक’

गाउँपालिकाले ताराखोलामा रहेका सबै दुई हजार दुई सय घरधुरीबाट एक/एकजनालाई बैंकमा आबद्ध गराउने लक्ष्य लिएको छ।

images
images

गण्डकी- विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ। अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मंगलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैंकको कार्य शुभारम्भ गरिएको हो।

images
images
images

सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैंकमा आबद्ध ६७ सदस्यलाई शपथ ग्रहण गराएका थिए। युवालाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव संसाधनमार्फत गाउँपालिकाको समग्र विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैंक सञ्चालनमा ल्याइएको उनले बताए।

images
images

रोजगार बैंकमा आबद्ध सदस्यलाई गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका आयोजना, निजी क्षेत्र, निर्माण व्यवसाय, कृषि, सहकारी र उद्यमका विकासका काममा लगाइने उनको भनाइ छ। 'गाउँपालिकामा सञ्चालन हुने विकास योजना, ढुंगाखानी उत्खननलगायत स्थानीय उद्योगधन्दामा आवश्यक जनशक्ति आपूर्ति र रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न श्रम रोजगार बैंक सञ्चालनमा ल्याइएको हो,' अध्यक्ष बिकले भने, 'पहिलो चरणमा वडा तहबाट आवेदन संकलन गरेर रोजगार बैंकमा ६७ जनालाई सूचीकृत गरेका छौँ।'

images
images

स्थानीय दक्ष जनशक्ति परिचालन गरी विकास योजनालाई समयमै र गुणस्तरीय रुपमा सम्पन्न गराउने, युवाको सीप र दक्षताको प्रयोगमार्फत सामाजिक रुपान्तरण, सामाजिक विकृति न्यूनीकरण, श्रमिकको सम्मान र सुरक्षा गर्ने बैंकको उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताए।

गाउँपालिकाले बजेट विनियोजन गरेका, संघीय र प्रदेशका आयोजनामा श्रम बैंकमार्फत जनशक्ति आपूर्ति गरिने उनले उल्लेख गरे। गाउँपालिकाभित्र रहेका निर्माण व्यवसायी र सञ्चालकहरुलाई पनि रोजगार बैंकमा सूचीकृत गरिने जनाइएको छ।

चालु आर्थिक वर्षमा तीन करोड छ लाख रूपैयाँ बजेट बराबरको योजना श्रम बैंकमार्फत कार्यान्वयन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए। 'विकास निर्माणका अलावा सामाजिक गतिविधिमा पनि श्रम बैंकका जनशक्तिलाई परिचालन गर्छौँ,' उनले भने, 'श्रम बैंक सञ्चालनका लागि कार्यविधि बनाएका छौँ, श्रमिकको सम्मान र श्रमको उचित ज्यालाको सुनिश्चितता गर्न गाउँपालिका प्रतिबद्ध छ।'

गाउँपालिकाले ताराखोलामा रहेका सबै दुई हजार दुई सय घरधुरीबाट एक/एकजनालाई बैंकमा आबद्ध गराउने लक्ष्य लिएको छ। कार्यविधिमा दैनिक आठ घण्टा काम गर्ने मजदूरलाई गाउँपालिकाको योजनामा प्रतिघण्टा एक सय १०, प्रदेश, संघीय योजना र निजी क्षेत्रका काममा प्रतिघण्टा एक सय १५ रूपैयाँका दरले ज्याला उपलब्ध गराइने व्यवस्था छ।

मासिक १७ हजार तीन सय रूपैयाँ ज्यालामध्ये ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरिने भएको छ। गाउँपालिकाले श्रमिकलाई काम दिन नसके वा श्रमिकको एक महिनाको ज्याला १० हजार आठ सय २० रूपैयाँभन्दा कम दिएमा सामाजिक सुरक्षा कोषमा गाउँपालिकाले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत जम्मा गर्ने व्यवस्था गरिएको छ।

एक महिनाको ज्याला १० हजार आठ सय २० रूपैयाँभन्दा बढी भएमा गाउँपालिकाले १० प्रतिशत र श्रमिकले २१ प्रतिशत बराबरको रकम जम्मा गर्नुपर्नेछ। श्रम बैंकमा आबद्ध निर्माण व्यवसायीले सामाजिक सुरक्षा कोषमा २६ प्रतिशत र गाउँपालिकाले ६ प्रतिशत जम्मा गर्नेछन्।

श्रम बैंकमा आबद्ध श्रमिक र आश्रित परिवारलाई सामाजिक सुरक्षा भत्ता, औषधि उपचार, मातृत्व सुरक्षा योजना, बिरामी बिदा, दुर्घटना बीमा, किरिया खर्च, शैक्षिक छात्रवृत्तिलगायत सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। एकजना श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको १० प्रतिशत सहभागितासहित वार्षिक एक लाख १५ हजार १९ खर्च गरिने भएको छ।

श्रम रोजगार बैंकमा आबद्ध सदस्यहरुका लागि कार्यस्थलमा मादक पदार्थ सेवन गर्न नपाउने, तोकिएको पोसाक र सामग्रीसहित गाउँपालिकाले लगाएको काम गर्नुपर्ने, काममा अनुपस्थित हुँदा व्यवस्थापकलाई जानकारी गराउनुपर्ने, सार्वजनिक रुपमा गाउँपालिकाविरुद्ध अभिव्यक्ति दिन नपाउनेलगायत आचारसंहिता बनाइएको गाउँपालिकाका अध्यक्ष बिकले बताए।

श्रम रोजगार बैंकमा आबद्ध चन्द्रबहादुर रोकाले गाउँपालिकाले युवालाई लक्ष्य गरी रोजगारको कार्यक्रम ल्याएकामा खुशी व्यक्त गरे। केही दिनभित्रमा गाउँपालिकासँग सम्झौता गरेर सबै श्रमिक सदस्य कार्यस्थलमा खटिने उनको भनाइ छ। गाउँपालिकाका पाँचवटै वडाका युवा जनशक्ति श्रम रोजगार बैंकमा आबद्ध भएका छन्। युवाको आवेदन र वडा कार्यालयको सिफारिसका आधारमा गाउँ कार्यपालिकाले रोजगार बैंकमा आबद्ध हुने श्रमिकको छनौट गरेको थियो।

१८ देखि ४० वर्ष उमेर समूहका युवाका अतिरिक्त प्राविधिक सीपमा दखल राख्ने ६० वर्षसम्मका व्यक्तिहरुलाई समेत आवश्यकताका आधारमा श्रम रोजगार बैंकमा आबद्ध गरिने गाउँपालिकाले जनाएको छ। पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले श्रमिकको सम्मान र सुरक्षाका लागि ताराखोला गाउँपालिकाले देशमै नमुना कार्यक्रम सुरु गरेको बताए। गाउँमै रोजगारी सिर्जनाका साथै गुणस्तरीय पूर्वाधार विकासमा श्रम रोजगार बैंक कोसेढुंगा बन्ने उनले विश्वास व्यक्त गरे। रासस


प्रकाशित : बुधबार, पुस १८ २०८०११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend