बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

बन्दीपुरमा केबलकारको काम अझै एक वर्ष लाग्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १५ २०७८
images
images
बन्दीपुरमा केबलकारको काम अझै एक वर्ष लाग्ने
सांकेतिक तस्बिर।
images
images

बन्दीपुर- जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ। गत दसैँअघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो।  

images
images

बन्दीपुरमा निर्माणाधीन केबलकारको निर्माण करिब ९५ प्रतिशत पूरा भएको छ। भवन निर्माणसँगै केबलकारको ‘स्ट्रक्चर’को निर्माण अन्तिम चरणमा पुगेको छ। करिब डेढ तला क्विन टावर थप गर्नुपर्ने भएकाले मेकानिकल इक्युपमेन्ट बाहिरबाट ल्याउनुपर्ने हुँदा अझै केही समय लाग्ने देखिएको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। 

images
images

केबलकारको क्यापासिटी बढाउने गरी स्टालेसन गर्ने कार्य भइरहेको छ। उनले भने, 'इक्युमेन्ट प्रोडक्ट स्वदेशमै उत्पादन भए पनि टेक्नोलोजी बाहिरबाट आउनुपर्ने भएकाले ढिलाइ हुने भएको हो।' गत वर्षको दसैँदेखि केबलकार सञ्चालनमा ल्याउने प्रयास गरिए पनि कोरोनाका कारण निर्माणमा ढिलाइ हुन गएको उनले बताए। 

images
images

एक वर्षअघि नै सञ्चालनमा ल्याउनुपर्ने योजना हो तर ढिलो भइहाल्यो, त्यसैले गुणस्तर र आकर्षण किसिमको बनाऊ भनेर लागिएकाले पनि ढिलाइ हुन पुगेको हो। उनले भने, 'अब जति सक्दो छिटो सञ्चालन गर्ने तयारीका साथ काम थालिएको छ।' 

सुरुमा तीन सयसम्म कामदार रहे पनि अहिले ५० देखि ६० जना कामदारले निरन्तर काम गरिरहेका छन्। फिनिसिङका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले पुन: जनशक्ति बृद्धि गरिनेछ। 

बन्दीपुर केबलकार परियोजनाले पन्ध्र तले क्विन टावरको दक्षिण एसियामा नै फरक उद्देश्यसहित निर्माण गरेको छ। केबलकार सिधै चारतारे होटेलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। 

उक्त चारतारे होटेलबाट मनोरम सूर्योदयको दृश्य देख्न सकिनेछ। होटेलमा सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बङ्गला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्विमिङ पुल र ६६ कोठा रहनेछन्। माथिल्लो स्टेसनमा निर्माण हुने क्विन टावरको लागत भने ८० करोड रुपैयाँ रहेको छ । 

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्विङ, म्युजिकल वाटर सोसमेत बनाउने तयारी गरेको सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए। 

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन रहनेछ। ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा दुई सयजनाले एकै पटकमा वारपार गर्न सक्नेछन्। 

केबलकारले एक किलोमिटर ६ सय  मिटर यात्रा गर्नेछ। बैंकिङ पार्टनरका रूपमा नेपाल एसबिआई बैंक र एनएमबी बैंक लिमिटेड रहेका छन्। बन्दीपुर केबलकार एन्ड टुरिजमको लागत एक अर्ब ६६ करोड ८९ लाख रुपैयाँ रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९–६१ रहेको छ।

परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर वितरण गरेको बताइएको छ। रासस 


प्रकाशित : बुधबार, मंसिर १५ २०७८०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend