चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने कामले गति लिएको छ।
यसअघि विस्फोटको विकल्प नरहेको भन्दै भत्काउन रोकिएकामा अन्तिम विकल्पका रुपमा पुनः भत्काउन थालिएको थियो। यही पुस ७ गतेदेखि दुईतर्फी सडक बन्द गरेर दिउँसोमा भत्काउने काम गरिँदै आएको छ।
नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार पुल बनाउनका लागि तुइन खोलाको आडमा रहेको ढिस्को भत्काउन थालिएको हो।
करिब ६० मिटर अग्लो ढिस्को गत वर्ष भत्काएर ३५ मिटरमा झारिएको थियो। कडा चट्टान आएपछि काम रोकिएको थियो। यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उनले जानकारी दिए। आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ। गएको दश दिनमा छ मिटर पहाडको चट्टान भत्काइएको छ।
गत साल २२ टनको ब्रेकरमात्र प्रयोग गरिएको थियो। आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताए। उनको भनाइमा यही ढंगबाट काम भएमा अर्को थप दुई साता सडक रोकेर काम गर्दा सम्पन्न हुने अनुमान गरिएको छ।
पहिलोपटकका लागि तीन साता सडक रोकेर काम गरिएको हो। थप दुई साता सडक रोकेर काम गरेपछि आकल झुकलबाहेक सडक रोक्न नपर्ने अनुमान आफूहरुले गरेको उनले बताए। गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो। त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उनले जानकारी दिए।
सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो। विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो। पुलको लागत एक अर्ब २८ करोड रूपैयाँ छ। पछिल्लो पटक थप गरिएको म्याद यही पुस १० गते सकिँदै छ। अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो। यो राजमार्गलाई एसियाली विकास बैंक (एडीबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो। पुल ११ मिटर चौडा छन्।
सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ। राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन्। रासस