शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

पूर्वशिक्षकको पशुपालन : दूध बेचेरै मासिक पाँच लाख कमाउँछन् तिलबहादुर, मलबाट पनि हुन्छ आम्दानी

images
images
images
पूर्वशिक्षकको पशुपालन : दूध बेचेरै मासिक पाँच लाख कमाउँछन् तिलबहादुर, मलबाट पनि हुन्छ आम्दानी
फाइल तस्बिर

गाईभैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गरी बजारमा बिक्री गरेर मासिक १५ देखि २० लाख रूपैयाँ आम्दानी गर्ने अबको लक्ष्य छ।

images
images

गण्डकी- कास्की जिल्ला, रुपा गाउँपालिका-६ भोर्लेका ७० वर्षीय तिलबहादुर खड्का गाउँ फर्केर व्यावसायिक पशुपालनमा रमाउन थालेका छन्।

images
images
images

एक दशकको पोखराको बसाइ त्यागी गाउँ फर्किएका खड्काले भिरचोकस्थित चन्द्रप्रभा माविमा १२ वर्ष प्रधानाध्यापक र १० वर्ष देउराली स्रोत केन्द्रको स्रोतव्यक्तिसहित चार दशक शिक्षण पेसामा रहेर सेवा गरेका थिए। 

images

खड्काले दर्ता गरेको देउराली फार्ममा उन्नतजातका १७ वटा भैँसी र १५ वटा गाई छन्। फार्ममा दैनिक एक सय लिटर दूध उत्पादन हुन्छ। बजारमा बिक्री गरेर मासिक पाँच लाख रूपैयाँ आम्दानी हुने गरेको छ। भैँसीको दूध प्रतिलिटर एक सय ४० रूपैयाँ र गाईको दूध एक सय २० रूपैयाँका दरले बिक्री हुन्छ।

images

बिहान सबेरै स्कुटरमा दूध बोकेर बजार लैजाने र फर्कँदा गाईभैँसीलाई आवश्यक दाना चोकर बोकेर ल्याउने दैनिकी बनाउँदै आएका उनका कान्छा छोरा भूपेन्दबहादुर खड्का विदेश जानुभन्दा गाउँको जग्गालाई सदुपयोग गर्दै परिवारसँगै बसेर पशुपालनबाट मनग्य आम्दानी गर्नु राम्रो भएको बताउँछन्।

images
images

'गोठमा रहेका माहु, भैँसी र गाई अधिकांश ब्याउनेछन् फागुन महिनादेखि दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ', उनले भने, 'गाईभैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गरी बजारमा बिक्री गरेर मासिक १५ देखि २० लाख रूपैयाँ आम्दानी गर्ने लक्ष्य छ।'

गाउँबाट दूध बोकेर पोखरा जानु र तीन बोरासम्म चोकरदाना बोकेर फर्कँदा ६० देखि ७० किलोमिटर स्कुटरको यात्रा कष्टकर बनेको दुखेसो सुनाउँदै बीबीएस उत्तीर्ण गरेका ३३ वर्षीय खड्काले भ्यान भए उत्पादित दूध बिक्री र पशु आहारा ओसारपसारमा सुविधा पुग्ने बताए।

स्थानीय रुपाकोट रिसोर्टले दैनिक २० लिटर दूध र फार्ममा उत्पादित मल खरिद गर्ने गरेको छ। बाँकी दूधको बजार पोखरा नै हो। फार्मबाट जम्मा भएको गोबर मल बिक्रीबाट हालसम्म चार लाख रूपैयाँ आम्दानी भएको छ। नस्ल सुधारका लागि ९० हजार रूपैयाँमा राँगो खरिद गर्दा गाउँपालिकाबाट ३० हजार रूपैयाँ अनुदान प्राप्त भएको उनले बताए।

दूध बिक्रीभन्दा पनि फार्ममा जन्मेका पाडापाडी हुर्काउने अभियान छ। गोठमा यतिखेर २० वटा पाडी, दुईवटा पाडा र चारवटा बाच्छाबाच्छी छन्। स्थानीय खडागाउँको पानीको स्रोत सुकेपछि खरिबोटको पानी मोटरको सहायताले ल्याउँदा थप ६५ हजार रूपैयाँ लगानी भएको छ।

पाडापाडी हुर्काएबापत गण्डकी प्रदेश सरकारबाट ९० हजार रूपैयाँ अनुदानसमेत प्राप्त गरेको र यस वर्ष ५० हजार रूपैयाँ अनुदान पाउने विश्वास व्यवसायी खड्काको छ। प्रदेश सरकारले पाडापाडी हुर्काउने पशुपालकलाई प्रतिपाडी १० हजार रूपैयाँ अनुदानको व्यवस्था गरेको छ।

घाँसमा आधारित पशुपालन गर्ने लक्ष्यका साथ २७ रोपनी जग्गामा सुपरनेपिएर जातका बिरुवा, डाले र भुइँघाँस लगाएका कारण पनि पशुपालनमा  सुविधा पुगेको छ। एभरेष्ट बैंकबाट ७० लाख रूपैयाँ कृषि ऋण लिएर फार्म सञ्चालन गरेको बताउँदै खड्का भन्छन्, 'गाउँको पायक पर्ने स्थानमा १८ रोपनी जग्गा खरिद गरी सुरु गरेको फार्ममा हालसम्म रु एक करोड ५० लाख लगानी भइसकेको छ।' फार्ममा पाँच जनाले रोजगारी पाएका छन्।

उर्वर र रमणीय भोर्ले गाउँका ८० घरमध्ये अहिले चार घरमा मात्र मानिस बस्छन्। बाँकी घर रित्तिएका छन्। जग्गा बाँझो भई जंगलमा परिणत भएको छ। साढे दुई वर्षको अवधिमा चरनमा छवटा बाच्छीलाई चितुवाले मारेको छ। पशु बीमाको क्षतिपूर्ति पाउँदा केही हदसम्म राहत मिलेको छ।

सहरबाट गाउँ फर्केर पशुपालन व्यवसाय सञ्चालन गर्नु सबैका लागि प्रेरणाका स्रोत भएको गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउँछन्। पालिकाले पशुपालन किसानको प्रोत्साहनका लागि ढुवानी, घाँसका बिरुवा, भकारो सुधार, नस्लसुधार लगायतमा अनुदानको व्यवस्था गर्दै आएको उनले जानकारी दिए।

सडक पूर्वाधार निर्माणसँगै पालिकालाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गरी स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ पशुपालन, कृषि, मौसमी तथा बेमौसमी तरकारीखेती, मौरीपालनलगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ। रासस

images

प्रकाशित : मंगलबार, पुस १७ २०८००१:५१

प्रतिक्रिया दिनुहोस