काठमाडौं- डेडिकेटेड र ट्रंकलाइनमा विवाद समाधान नहुँदै नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटेपछि ११ दिनदेखि मुलुकका दर्जनौँ उद्योग बन्द छन्। बिजुलीको लाइन काटिएपछि उद्योगीले उद्योगमा ताला लगाएका छन्।
जसले दैनिक ज्यालादारीमा काम गर्ने मजदूरसँगै अन्य सयौँ कर्मचारीसमेत समस्यामा रहेका छन्। जगदम्बाका ३५ सय कर्मचारी त बिजुली जोड्न माग गर्दै हरेक दिनजसो प्राधिकरणको कार्यालयमा धर्ना बसिरहेका छन्।
बक्यौता नतिरेको भन्दै ६१ वटै उद्योगको बिजुली काट्ने तयारीमा विद्युत प्राधिकरण छ। खासगरी अहिले बन्द गरिएका सिमेन्ट, डन्डी र धागोजस्ता निर्यातजन्य उद्योगहरू हुन्। जुन समग्र अर्थतन्त्रमै समस्या पार्न सक्ने उद्योग हुन्। उद्योग बन्द हुँदा नेपाल विद्युत प्राधिकरणलाई पनि क्षति भइरहेकै छ।
नेपालको समग्र बिजुली खपतमा उद्योगको हिस्सा ३३ प्रतिशत रहेको छ। अहिले बन्द भएका ४ वटा घोराही, अर्घाखाँची, सर्वोत्तम र सोनापुरले मात्रै दैनिक ५ लाख युनिट बिजुली खपत गर्दछन्।
प्राधिकरणले अहिले निगाले सिमेन्ट, बुटवल सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, अन्नि सिमेन्ट, कसमस सिमेन्टको पनि विद्युतको लाइन काटेको छ। उक्त उद्योगहरूले पनि दैनिक लाखौँ युनिट बिजुली खपत गर्दछन्।
एउटा स्टिल उद्योगले पनि २५ देखि ४० मेगावाट बिजुली खपत गर्दछन्। हिमाल आइरन एण्ड स्टिल, हामा आइरन, लक्ष्मी स्टिल र अशोक स्टिलको पनि लाइन काटिँदा सबै बन्द छन्। जसले दैनिक १५० मेगावाट बिजुली खपत गर्दछन्।
यता धागो उद्योगमा पनि एक केजी धागो उत्पादन गर्न २ युनिट बिजुली खपत हुने गरेको छ। धागो पनि नेपालबाट बाहिर निर्यात हुँदै आएको छ। प्राधिकरणले धागो उद्योगमा पनि बिजुली अवरुद्ध पारेको छ। यो अबरुद्ध हुनुले राज्यको करमा समेत मार पर्ने देखिन्छ।
उद्योगको बिजुली काटिँदा विदेशी मुद्रा ल्याउने पर्यटनपछिको स्रोत पनि बन्द भएका छन्। उता प्राधिकरण पनि लामो समय उद्योग बन्दको अवस्थामा जाँदा घाटामा जाने निश्चित छ।
डिजेल प्लान्ट असम्भव भएपछि उद्योग बन्द
प्राधिकरणले बिजुली काटेपछि विगतमा जस्तै डिजेल प्लान्ट राख्ने सोच उद्योगीले गरेका थिए तर महँगो र समय पनि धेरै लाग्ने भएपछि अहिले उक्त सोचबाट पछाडि हटेका छन्।
‘डिजेल प्लान्टबाट सम्भव नै हुँदैन, बिजुली नै चाहिन्छ,’ सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णु न्यौपानेले भने। नेपालमा उद्योगहरूले धेरै बिजुली खपत गर्दै आएका छन्। धागो उद्योगमा पनि धेरै बिजुली खपत हुने गरेको न्यौपानेले बताए।
सरकारले तत्काल समाधान निकाल्नु पर्नेमा लम्बाउने काम भएको उनको आरोप छ। ‘अहिले भारतबाट बिजुली ल्याउनुपर्ने छ, बिजुली खेर जाने अवस्था भएको भए लाइननै काट्ने थिएन,’ न्यौपानेले भने। प्राधिकरणले अहिले पनि लोडसेडिङ पिकआवरमा जारी राखेको अहिले बन्द गरेर हाइसन्चो गरेर बसेको समेत न्यौपानेले बताए।
प्राधिकरणले अघिल्लो शुक्रबार रातिबाट बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन एण्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेट प्लास्ट र बुटवल सिमेन्टको लाइन काटिएको छ।
विषयको देखिएको विवाद समाधान नहुँदै नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा लाइन काटेपछि दर्जनभन्दा बढी ठूला उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। नेपाल विद्युत प्राधिकरणले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २३ उद्योगको बिजुली काटिसकेको छ। जसले निर्यातजन्य उद्योगहरू नै बन्द हुने अवस्था रहेको उद्योगीहरूले बताइरहेका छन्।
यता सिमेन्ट, डन्डी र धागोजस्ता निर्यात गर्ने उद्योगहरू नै बन्द गरिएपछि अर्थमन्त्री डा. प्रकाशरण महत असन्तुष्ट बनेका छन्। अर्थमन्त्री महतले हजारौँलाई रोजगारी दिने तथा निर्यातमार्फत डलर भित्र्याउने उद्योग सानो विवादमा नै बन्द गर्नु गलत भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै असन्तुष्टी व्यक्त गरेका छन्। उद्योगमन्त्री रमेश रिजाल पनि उद्योग बन्द गराएको भन्दै प्रधानमन्त्री दाहालसँग रुष्ट बनेका छन्।
प्राधिकरणले बक्यौता बाँकी रहेका ६१ वटै उद्योगको बिजुली काट्ने घोषणा गरिसकेको छ। ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै अघिल्लो साताको शुक्रबारबाट लाइन काट्न थालेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको शुक्रबार मध्यरातमा थप १४ उद्योगको लाइन काटेका थिए। विवाद मिलाउन भन्दै उद्योगीहरूले शुक्रबार साँझ प्रधानमन्त्री दाहाल भेटेपछि घिसिङ थप आक्रामक बन्दै राति लाइन काटेका थिए।
डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा देखिएको विवाद समाधानका लागि उद्योगीहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले उच्चस्तरीय समिति बनाएर समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यता प्राधिकरणले भने लाइन काट्ने काम रोकेको छैन।
उद्योगीले भने प्रमाणबिना बक्यौताको नाममा पत्र पठाएकोले पैसा तिर्नका लागि प्रमाण दिनुपर्ने बताउँदै आएका छन्। विगतमा विभिन्न समितिहरूले पनि बिलको प्रमाण पेश गरेर बक्यौता उठाउनुपर्ने निष्कर्ष निकालेको प्रतिवेदनमा देखिएको छ। तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबै प्रमाण सम्बन्धित ठाउँमा पेश गर्ने बताउँदै आएका छन्।
अघिल्लो शुक्रबार रातिबाट बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन एण्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेट प्लास्ट र बुटवल सिमेन्टको लाइन काटिएको छ।
त्यसअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटिदिएको थियो। यस्तै आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको थियो।