काठमाडौं- स्थापनाको निकै छोटो समयमै ठूलो फड्को मारेको ग्लोबल आइएमई बैंक अहिले ‘नम्बर वान बैंक’ बनेको छ। गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार सुरु गरेसँगै ग्लोबल आइएमई बैंक पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बनेको हो ।
विभिन्न २१ बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गरेर ग्लोबल आईएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। सन् २००७ मा ग्लोबल बैंक लिमिटेडको रुपमा स्थापित बैंकले सन् २०१२ मा ‘ग’ वर्गको आईएमई फाइनान्सलाई प्राप्ति गरेपछि 'ग्लोबल आईएमई बैंक' बनेको थियो।
वाणिज्य बैंकहरूमा यसले सन् २०१४ मा कमर्स एण्ड ट्रष्ट बैंक, २०१९ मा जनता बैंक र २०२३ जनवरीमा बैंक अफ काठमाण्डूसँग मर्जर गरेको छ। यस्तै सन् २०१३ सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग एक्वायर गरेको यस बैंकले २०१५/१६ मा आएर थप दुई विकास बैंकहरू प्यासेफिक डेभलपमेन्ट बैंक र रिलायबल डेभपलमेन्टलाई प्राप्ति गरेको थियो।
यस्तै ग्लोबल आईएमई बैंकले सन् २०१२ मा आईएमई फाइनान्स कम्पनी र लर्ड बुद्ध फाइनान्स कम्पनी साथै सन् २०१९ मा हाथवे फाइनान्स कम्पनीलाई एक्वायर गरेको थियो।
वित्तीय सूचकमा समेत अब्बल बन्दै ग्लोबल
ग्लोबल आइएमई बैंक वित्तीय सूचक आधारमा समेत मजबुत बन्दै गएको छ। मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानदेखि ठूलासम्म वित्तीय सेवा पुर्याउनेगरी अघि बढिरहेको ग्लोबल आइएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ।
ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाइ भोगिरहेका उद्योग व्यवसायीका लागिसमेत यसले राहत दिएको छ।
सबै क्षेत्र र समाजका ग्राहकहरूलाई उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले आम जनमानसमा 'सबैका लागि बैंक' भन्ने दृष्टिकोणसहित बैंकिङ सेवा प्रवाह गरिरहेको छ।
त्यसो त आकार र वित्तीय सूचांकमा मात्र ठूलो देखिनु होइन ग्लोबल आइएमई बैंकले साँच्चै मुलुकको वित्तीय क्षेत्रमा समेत रचनात्मक र गुणात्मक परिवर्तन ल्याउनेगरी वृहत पुँजी वृद्धिको संकल्पसहित मर्जर नीतिलाई प्राथमिकता दिँदै आएको छ। जसका कारण हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आइएमई बैंकमा समाहित भइसकेका छन् भने उपर्युक्त मर्जर नीतिले छोटो समयमा नै बैंक देशकै ठूलो र अब्बल बैंक बन्न सफल भएको छ।
यस्तो छ बैंकको वित्तीय स्थिति
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ। जुन गत आवको अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको ब्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कसिसन आम्दानी वृद्धी भएको छ। साथै सम्पूर्ण नागरिकलाई बैंकिङ पँहुच पुर्याउन ग्लोबल आइएमई बैंकले ११०० भन्दा बढी देश तथा विदेशको सेवाकेन्द्रहरूबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रुपैयाँ गरेको थियो। यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनमा ७ करोड रुपैयाँले बढेको छ। गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको छ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ।
३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ।
सबैभन्दा धेरै कर तिर्ने बैंक
ग्लोबल आईएमई बैंकले नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेर गत वर्ष इतिहास रचेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरि नेपाल सरकारबाट सबै भन्दा बढि कर दाखिला गर्नेमा सम्मानित भइसकेको छ। ग्लोबल आइएमई कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ।
सबैका लागि बैंक भन्ने नारालाई आत्मसात गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृष्ट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ। हाल बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३ सय ५१ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको न्यूदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत समेत बैंकिङ सेवा दिइरहेको छ।
बैंकको १२ वर्षे लाभांश इतिहास
चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल बनेको यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ। बैंकले यस वर्ष १ प्रतिशत बोनस र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो।
सो वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो। हरेक वर्ष बोनस सेयरमा जोड दिदै आएको बैंकले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा बैंकले १२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो।
बैंकले हरेक आर्थिक वर्षमा सेयरधनीहरूलाई नगद लाभांश भन्दा बोनस सेयर धेरै दिँदै आएको छ। यस्तै, बैंकले आर्थिक वर्ष २०६८/७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकले यस वर्ष ३ प्रतितश बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो।
त्यसैगरी आव २०६९/७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो भने आ.व. २०७०/७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो। यस आर्थिक वर्ष बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो।
बैंकले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई बोनस सेयरमात्र वितरण गरेको थियो। यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो। आव २०७२/७३ मा बैंकले १६ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो।
बैंकले आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
बैंकले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको हो।
बैंकले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यस वर्ष बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।
त्यसैगरी बैंकले आव २०७८/७९ मा ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो।