आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

उद्योगी व्यवसायीमा निराशा कायमै, खाद्यान्नकै माग किन घट्यो?

images
सोमबार, पुस १६ २०८०
images
images
उद्योगी व्यवसायीमा निराशा कायमै, खाद्यान्नकै माग किन घट्यो?

क्षेत्रगतरुपमा उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले संकुचन आएको छ। अघिल्लो वर्षको सोही समयमा यो ४०.१७ प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कुल ४४.५७ प्रतिशतले गिरावट आएको देखिन्छ।

images
images

काठमाडौं- पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्वीकार गरेको नेपाल सरकार तथा नियामकीय निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएका छन्।

images
images
images

अर्थतन्त्रको बाह्य क्षेत्रको तथ्यांकलाई यसको आधार बनाइएको छ। सरकारको यस्तो तथ्यांक र जिकिरलाई जनस्तर, निजी क्षेत्र एवं सञ्चारमाध्यमहरु गरिरहेको अनुभव तथा तथ्य-विश्लेषणहरुसँग मेल नखाइरहेको अवस्थामा अर्थतन्त्रको वास्तविकता आकलन गर्न नेपाल उद्योग परिसंघ (सीएनआई) ले उद्योग व्यवसायस्तरमा एक सर्वेक्षण गरेको छ।

images

परिसंघको यस सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन। समग्र बजार माग खस्किएको देखिएको छ। कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ। उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ।

images
images
images

परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको थियो। सोही सर्वेक्षणको दोस्रो संस्करणका रुपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको हो।

सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको छ। सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो। यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको छ। आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचन आएको छ।

यसैगरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा यो कुल ३०.५४ प्रतिशतले खुम्चिएको छ।

अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गतवर्ष नै उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालु वर्ष समेत यथावत् रहेको देखिएको छ। सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४ प्रतिशत उद्योगी-व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन्। यसबाट सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको देखिन्छ।

क्षेत्रगतरुपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाएअनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले संकुचन आएको छ। अघिल्लो वर्षको सोही समयमा यो ४०.१७ प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कुल ४४.५७ प्रतिशतले गिरावट आएको देखिन्छ।

यसैगरी यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९ प्रतिशतले संकुचन आएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप ९.५४ प्रतिशतले गिरावट आएको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कुल ४४.८२ प्रतिशतले संकुचन आएको देखिएको छ।

परिसंघको सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ८३.३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२.५० प्रतिशतले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन्। निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रिया अनुसार यस क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ४३.४३प्रतिशत ले घटेको थियो।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९प्रतिशत ले संकुचन आएको पाइएको छ। यसैगरी यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३.७१ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप २०.८० प्रतिशत ले घटेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कुल ५५.४२ प्रतिशतले संकुचन आएको देखिएको छ।

यस्तै यस क्षेत्रका उद्योगहरूमा ३३.३३ प्रतिशतले लगानी स्थगित गरेको जनाएका छन् भने गत वर्ष ५३.८५ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेका थिए।

अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसीजी क्षेत्रको माग २.५० प्रतिशतले बढेको थियो तर यस वर्ष १७.७० प्रतिशतले गिरावट आएको देखिएको छ। यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल १५.६४ प्रतिशतले संकुचन आएको देखिएको छ। यसैगरी यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १.२५ प्रतिशत १२.२५ बढेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १८.५० प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा समग्र कारोबार रकममा ८.५२ प्रतिशतले संकुचन आएको छ।

सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४१.६७ प्रतिशतले यस क्षेत्रका उद्योगी तथा व्यवसायीले व्यापार लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस क्षेत्रमा ५० प्रतिशत व्यवसायीहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका छन्।


प्रकाशित : सोमबार, पुस १६ २०८०१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend