काठमाडौं- चालु आर्थिक वर्षको मौद्रिक समीक्षापश्चात् बैंक तथा वित्तीय संस्थाहरुमा मार्जिन ल्याण्डिङ (सेयर कर्जा) र रियलस्टेट कर्जाको माग बढ्न थालेको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक समीक्षामार्फत कर्जाको ब्याजदर घटाउँदै कर्जा प्रवाह बढाउने नीति लिएपछि बैंक वित्तीय संस्थाहरुमा घरजग्गा व्यवसायी र सेयर लगानीकर्ताले कर्जाको माग गर्न थालेका हुन्।
राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत सेयर कर्जा र रियलस्टेट कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट घटाएर १ सय २५ प्रतिशत कायम गरेपछि घरजग्गा व्यवसायी र सेयर लगानीकर्तामा उत्साह देखिएको हो।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत ब्याजदर कोरिडोरको सीमाहरु बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाएपछि बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर घटाएका छन्। फलस्वरुप पछिल्लो समय बैंकहरुको औसत आधार दर ९.७५ प्रतिशतमा झरेको छ। केही बैंकहरुले प्रिमियम दरसमेत घटाएका छन्।
जोखिमभार र कर्जाको ब्याजदर घटेकाले सेयर लगानीकर्ताहरु लगानी गर्न प्रोत्साहित हुन थालेका छन्। समीक्षा अगाडि वियरिस ट्रेण्डमा रहेको सेयर बजार परिसूचक (नेप्से) सकारात्मक हुन थालेको छ। यस्तै, लामो समय नैरास्यतामा रहेको घरजग्गा व्यवसायलाई पनि मौद्रिक समीक्षाले उत्साहित बनाएको छ।
रियलस्टेट कर्जाको जोखिमभार पनि घटेको र ब्याजदर पनि सस्तो हुँदै गएकाले घरजग्गा र सेयर कर्जाको माग बढ्न थालेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए। 'समर्ग्र अर्थतन्त्रमा मौद्रिक समीक्षाको असर देखिन अझै थप समय लाग्छ। तर, सेयर र घरजग्गामा बिस्तारै कर्जाको माग बढ्न थालेको छ। बैंकहरुले कर्जाको ब्याजदर घटाएको र राष्ट्र बैंकले जोखिमभार घटाइदिएकाले लगानीकर्ता तथा व्यवसायी आसावादी देखिएका छन्', केसीले भने।
घरजग्गा व्यवसायमा राष्ट्र बैंकले लिएको लचिलो नीतिलगत्तै नेपाल घरजग्गा व्यवसायी संघले आठौँ घरजग्गा मेला काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना गरेको छ। संघले पुस १२ गते देखि १५ गतेसम्म मेला आयोजना गरेको थियो।
असोज १८ गते राष्ट्र बैंक संशोधन गरेको एकीकृत निर्देशनले समेत सेयर बजार र घरजग्गाको क्षेत्रमा केही नरम नीति लिएको थियो। यसै निर्देशनमार्फत एकाघरपरिवारले बैंकिङ प्रणालीबाट लिन पाउने १२ करोड कर्जाको सीमा बढाएर १५ करोड र १८ करोड पुर्याएको छ।
संस्थागत लगानीकर्ताले बैंकिङ प्रणालीबाट १८ करोड र व्यक्तिगत लगानीकर्ताले १५ करोड कर्जा लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्तै राष्ट्र बैंकले काठमाडौं उपत्यकाको हकमा लोन टु भ्यालु अनुपात ४० प्रतिशतबाट बढाएर ५० प्रतिशत कायम गरेको थियो। यस्तै हायरपर्चेज कर्जा र ओभरड्राफ्ट कर्जामा पनि राष्ट्र बैंकले यसै निर्देशनमार्फत सहजीकरण गर्ने नीति लिएको छ।
दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताले पछिल्लो १ सय ८० दिनको औसत सेयर मूल्य वा प्रचलित सेयर मूल्य मध्ये जुन कम हुन्छ त्यसका आधारमा ७० प्रतिशतसम्म मार्जिन ल्याण्डिङ प्राप्त गर्ने व्यवस्था रहेको छ। सेयर मूल्य बढ्दै गएपछि मार्जिन ल्याण्डिङको सिमा पनि बढ्दै जाने हुन्छ। यस्तै सेयर मूल्य घटेमा धितो थप्नका लागि वा कर्जा भुक्तानीका लागि बैंक वित्तीय संस्थाहरुले लगानीकर्तालाई मार्जिन कल गर्न पाउने व्यवस्था रहेको छ।