आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

सीमाबस्तीमा भारतीय जंगली हात्ती आतंक : कोही खेतै बाँझो राख्छन्, कोही रातभर जाग्राम बस्छन्

images
सोमबार, पुस १६ २०८०
images
images
सीमाबस्तीमा भारतीय जंगली हात्ती आतंक : कोही खेतै बाँझो राख्छन्, कोही रातभर जाग्राम बस्छन्

'हरेक दिन राति हात्तीकै त्रासदीले अनिँदो बस्नुपरेको छ। हात्ती गाउँमा पल्किएर खेतमा मात्रै होइन घरभित्रको अन्नसमेत खान छाड्दैनन्।'

images
images

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै संघर्ष गर्दैछिन्। साढे दुई दशकदेखि नेपाल-भारत सीमा बस्तीमा बस्दै आएकी सुनारले छोरीका लागि बनाइदिएको घरमा भत्काएर दुई बोरा धान जंगली हात्तीले नष्ट गरेपछि कसरी छाक टार्ने भन्ने समस्याले चिन्तित छिन्।

images
images
images

'छोरीले गाउँमै केही गरेर जीविका चलाउला भनेर टिन हालेर होटल खोलिदिएँ', कमलाले भनिन्, 'होटलबाट जीविका चलाउन गाह्रो भएपछि मजदुरीका लागि भारत गएकी छोरीको घरको छानो नै हात्तीले केही दिन अघि भत्काइदियो।'

images

नेपाल-भारत सीमास्तम्भ नं ८०० सय नजिक सुनारको घर छ। भारतीय जंगलबाट आउने हात्तीको बथानले कमला जस्तै बस्तीका अधिकांश स्थानीय पीडित छन्। 'हरेक दिन राति हात्तीकै त्रासदीले अनिँदो बस्नुपरेको छ', सुनारले भनिन्, 'हात्ती गाउँमा पल्किएर खेतमा मात्रै होइन घरभित्रको अन्नसमेत खान छाड्दैनन्।'

images
images
images

दोधारा चाँदनी नगरपालिका-३ का वडा सदस्यसमेत रहेका बडुवाल टोलका लक्ष्मी रानाले सीमा बस्तीका स्थानीयले जंगली हात्तीबाट प्रताडित हुन थालेको १२ वर्ष बितिसकेको बताइन्। 'दोधाराचाँदनीमा मात्रै केही समययता हात्तीको आक्रमणबाट दुई जनाले ज्यान गुमाइसके', वडा सदस्य रानाले भनिन्, 'यो पटक मात्रै बडुवाल टोलमा आठ घर हात्तीले भत्काएका छन्।' उनले जग्गाधनी पुर्जा नहुँदा वन्यजन्तुबाट ज्यान गुमाउँदा राज्यबाट पाउने क्षतिपूर्तिसमेत नपाएको उनको भनाइ छ।

भौगोलिकरुपले विकट बडुवाल टोलको पश्चिमतर्फ भारतीय जंगल पर्छ। जोगबुढा नदी पारीको बस्ती बडुवाल टोलबाट हात्तीकै त्रासदीले स्थानीय सीता सुनारले १८ कठ्ठा खेत नै बाँझो राखिन्। 'भारतीय जंगलबाट आउने हात्तीले अन्नबाली सखाप पार्न थालेपछि खेत नै खाली छोडिदिएँ', उनले भने, 'हात्ती नियन्त्रणका लागि सरकारले ठोस कदम नै चालेन।'

प्रायः बस्तीमा हात्तीको बथान आइरहने बताउँदै उनले हात्ती धपाउन गाउँमा आगो पाल्नेदेखि होहल्ला गर्ने काम गर्नु नै आफूहरुको दैनिकी बनेको गुनासो गरे। उता वडा सदस्य रानाले हात्तीपीडितका लागि दोधाराचाँदनी नगरपालिकाले दुई लाख रूपैयाँ बजेट विनियोजन गरेर राहत सामग्री वितरण गरिएको बताए।

'दातृ निकायबाट पनि हात्तीपीडित भनेर गाउँमा धेरै सहयोग भएको छ', उनले भने, 'हात्ती नियन्त्रणका लागि तारजालीको आश्वासन मिले पनि उपलब्ध भएको छैन।' उनले स्थानीयले खेतमा गरेको मेहनत नै हात्तीका कारण असुल हुन समस्या भइरहेको बताए।

त्यसैगरी बडुवाल टोलमा रहेको गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलमा स्थानीयले सीमा संरक्षणमा पहरेदारी गरे पनि नागरिकले जिउधनको रक्षामा सरकार गम्भीर नभएको बताए।

'यतिका वर्षदेखि सीमामा दुःख कष्ट सहेर बसिरहँदा हामीले हात्तीको आक्रमण एवं क्षति रोक्न दीर्घकालीन उपाय खोज्न सकेनौँ', उनले भने, 'सीमाको वनक्षेत्रमा तारजाली लगाएर हात्ती नियन्त्रणका लागि गाउँलेले धेरैपटक माग गर्दा वास्ता भएन।'

तीन सयभन्दा बढी परिवारको बसोबास रहेको बडुवाल टोलमा अधिकांश पुरुष ज्याला मजदुरीका लागि भारतका विभिन्न सहरमा गएर जीविकोपार्जन गर्दै आएका छन्। रासस


प्रकाशित : सोमबार, पुस १६ २०८०१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend