काठमाडौं- पुस १२ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा सुरु भएको 'आठौँ रियल स्टेट एक्स्पो' सम्पन्न भएको छ। साना ठूला गरी ६० भन्दा बढी स्टलहरु राखिएको एक्स्पो करिब ४० हजारभन्दा बढीले अवलोकन गरेका छन्। आयोजकका अनुसार मेला अवधिभरमा करिब तीन अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको छ।
मेलामा घर जग्गा व्यवसायी एवं प्रदर्शनकर्ताहरुको अत्याधिक सहभागिता र अवलोकनकर्ताहरुको उल्लेख्य र उत्साहजनक उपस्थिति रहेको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले जानकारी दिए।
मेलाको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजेन्द्र मल्लले हालका दिनमा देशको समग्र अर्थतन्त्र उकुसमुकुस अवस्था रहेको वर्तमान परिप्रेक्ष्यमा यस रियल स्टेट एक्स्पोले अर्थतन्त्र चलायमान बनाउन सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरे। साथै उनले घरजग्गा व्यवसायको विकास र विस्तारले अन्य निर्माण उद्योगसँग सम्बन्धित पेसा व्यवसायलाई समेत आर्थिकरुपमा ठूलो टेवा मिल्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले देशको अर्थतन्त्र संकुचनमा रहेकाले यसले घरजग्गा व्यवसायलाई पनि प्रभावित पारेको र हालका दिनहरुमा देशको अर्थतन्त्रमा क्रमिक सुधारका संकेत समेत देखा परेको अवस्थामा निजी क्षेत्रका पेसा व्यवसायीहरुले यसप्रकारको सकारात्मक पक्षलाई आत्मसात गर्नुपर्ने बताए।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको नीतिका कारण घरजग्गा व्यवसाय लगायत सम्पूर्ण उद्योग व्यवसायमा नकारात्मक असर परेको धारणा राखे। साथै उनले देशको समग्र अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रका व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले सकारात्मक भूमिका खेल्नुपर्ने बताए।
यसैगरी नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले यस घरजग्गा मेलाका प्रवर्द्धकको नाताले मेलालाई भव्य एवं सभ्य तरिकाले सफल बनाउन साथ र सहयोग दिनुहुने सहभागीहरु लगायत सबैलाई धन्यवाद दिए।
मेलामा घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन तथा बैंकिङ जस्ता व्यवसायमा संलग्न व्यवसायीहरुले आ-आफ्ना उत्पादनहरु प्रदर्शन गरी सोसम्बन्धी परामर्श सेवा समेत प्राप्त गरेको आयोजकले जनाएको छ।
चार दिनसम्म सञ्चालन भएको मेलाले योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्ट खरिद र बिक्रिमा संलग्न सरोकारवालाहरु थप उत्साहित भएको पाइएको आयोजकको भनाइ छ।