चौधरी समूह अन्तर्गतको सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् करण चौधरी। सीजी मोटोकर्पले दशकौँ अघिदेखि सुजुकी कम्पनीका कार नेपाली बजारमा बिक्री गर्दै आएको छ। त्यस्तै अन्य सवारीजन्य सामानसमेत उपलब्ध गराउँदै आएको छ। सीजी मोटोकर्पमा विगत १६ वर्षदेखि आवद्ध रहँदै आएका उनै चौधरीले नाडाको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिँदै छन्। मंसिर २२ र २३ गते हुने नाडाको ४५औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ। सोही चुनावलगायत विषयमा केद्रित रहेर करण चौधरीसँग बिजनेस न्युजले गरेको कुराकानी :
अटोमोबाइल व्यवसायीहरूको चुनाव आगामी साता हुँदै छ। तपाईंले पनि उम्मेद्वारी घोषणा गर्नु भएको छ। के-के छन् तपाईंको नाडा हाँक्ने एजेन्डा?
मैले पनि नाडाको आगामी निवार्चनमा अटो मोबाइल एशोसिएशन अफ नेपालको अध्यक्ष पदमा उम्मेद्वारी दिँदै छु। नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूको प्रतिनिधित्व भएको साझा संस्था हो। उहाँहरूको आत्मसम्मानलाई म प्रमुख महत्व दिन्छु। अटोमाबाइल क्षेत्रमा सहज वातावरण व्यवसायिक सहजता बनाइ अझै प्रगतशील बनाउने प्रयास गर्नुको साथै उच्च आय आर्जन सुनिश्चित गर्ने वातावरण बनाउने छु। यसको लागि केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका सबै सरकारहरूसँग समन्वय गर्ने छु।
विशेष गरि अटोमोबाइल व्यवसायमा संलग्नहरू चाहे सवारी आयातकर्ता हुन् वा स्पेरपार्टस् सबैको हक हितका लागि बिनापूर्वाग्रह काम गर्न सक्छु भन्ने मेरो विश्वास छ। यी सबै कुरालाई सम्बोधन गर्दै संस्थाले कायम गरेको उचाइमा एउटै भए पनि इँटा थप्न पहल पक्कै गर्ने छु।
सबै व्यवसायीहरूको राय लिइ व्यवसाय केन्द्रित नीति निर्माण गर्न संयन्त्र निर्माण गर्नेछु। सबैको सल्लाह सुझाव लिने वातावरण बने संस्था नीतिगत तहमा बलियो हुने विश्वास मलाई छ। नाडालाई डाटा हबको रुपमा अगाडि बढाउन पनि म प्रतिबद्ध छु। कोभिडबाट अटोमोबाइल व्यवसायीहरूलाई पूर्ण सुरक्षित राख्दै व्यवसायिक सुरक्षाका लागि समेत सरोकारवालाहरूसँग संस्थागत रुपमा पहल गरिरहेको र गर्ने प्रतिवद्धता साथीहरू समक्ष गरेको छु।
नाडा संघीय संरचनामा गएसँगै ठूलो संख्यामा सदस्यहरू थपिए। एक हिसाबले धेरैको प्रतिनिधित्व त भएको छ। तर यसले पनि चुनाव अलि बढी जटिल भएको हो?
सदस्यहरू थपिनु संस्था अझै बलियो भएको सूचक हो। संघीय संरचनामा जादाँ नाडाको पहुँच अझै बलियो भएको छ भने विभिन्न भूभागमा रहेको व्यवसायीहरूले अझै लाभ पाउने अवस्था सृजना हुनेछ।
म यो संरचनालाई अझै सुदिृढ बनाउन प्रतिवद्ध छु। चुनाव लोकतान्त्रिक प्रक्रिया भएकाले परिणाम नआउन्जेल मात्र हो, परिणामपछि सबै व्यवसायी विगतमा पनि एकै हुने गरेको र यो पटक पनि एकै हुन्छन् नै। तपाईंले भन्नु भएजस्तो जटिल नहोला भन्ने अपेक्षा गरौँ।
यसअघिका चुनावमा अध्यक्षका दुई उम्मेद्वार भए पनि प्यानल नै भने बन्ने गरेको थिएन। यो पटक पूरै प्यानल बनाएर चुनाव हुने देखिँदै छ। यसले व्यवयासीबीच ध्रुवीकरण त ल्याउँदैन नि?
ध्रवीकरण ल्याउँछ जस्तो मलाई चाहिँ लाग्दैन। किन कि विगतमा पनि चुनाव भएको र त्यसले नाडामा ध्रुवीकरण ल्याएको इतिहास छैन। चुनाव हुनु संस्था बलियो भएको प्रतीक हो। थुप्रै अनुभवी र युवा व्यवसायीले फरक तरीकाले नेतृत्व गरी संस्थालाई अझै बलियो बनाउन प्रेरित हुनुभएको हो। प्रतिस्पर्धी रुपमा चुनिएको नेतृत्वले अझै सुदृढ रुपमा कार्य गर्ने छन्। यो सबैका लागि लाभदायी छ।
अझै पनि म अन्तिम समयसम्म सर्वसहमतिमा कसरी जान सकिन्छ भनेर लागिपरेको छु। त्यति गर्दागर्दै पनि सर्वसहमतिमा जान सकिएन भने प्रजातान्त्रिक रुपमै चुनावमा जानुको विकल्प रहँदैन। यसरी चुनावै भयो भने धेरैजसो मतदाताले स्वयम् मत खसाल्ने प्रक्रियामा भाग लिन पाउनुहुनेछ र सहि नेतृत्व चयन गर्नुहुनेछ। यसरी समग्रमा नाडालाई चुनाव लागेको छ। र मैले पनि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेकाले, मलाई पनि स्वभाविक रुपमा लागेको छ।
नाडामा व्यवसायिक घरानाले मात्र नेतृत्व गर्दै आएको छ भनिन्छ, तपाईं पनि व्यवसायिक घरानाबाटै नेतृत्वमा जाँदै हुनुहुन्छ। नाडालाई सबैको साझा संस्था बनाउन कसरी लाग्नु हुन्छ?
यो अलि गलत भन्ने लाग्छ मलाई। नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीको प्रतिनिधित्व भएको संस्था हो र यो प्रजातान्त्रिक विधिमा अगाडि बढिरहेको संस्था पनि हो। संस्था सबल, सक्षम भएमा सबैले नेतृत्वको लागि अगाडि बढ्न सक्ने छन्। यसमा कुनै सिण्डिकेट भएकोमा म सहमत छैन। वर्तमान र विगतलाई हेर्ने हो भने सबै व्यवसायिक घरानाले मात्र नेतृत्व गरेका छैनन्।
यसका साथै नाडामा अध्यक्ष मात्र हुँदैनन्। संस्था सिंगो कार्यसमितिबाट चल्ने भएकाले कार्यसमितिमा सबै खालका व्यवसायीको प्रतिनिधित्व पक्कै हुनेछ। संस्थागत रुपमा राखिने धारणा र गरिने पहलमा कार्यसमितिमै छलफल गरेर गरिँदै आएको र गरिने छ। त्यसैले नाडा अहिल्यै पनि सबै अटो व्यवसायीको संस्था हो र रहिरहने छ।
चुनाव प्रतिस्पर्धी हुने देखिन्छ। तपाईंको सबल पक्ष र जित्ने आधार केलाई मान्नु भएको छ?
म सबै अटोमोबाइल व्यवसायीसँग रिलेट गर्न सक्छु। मेरो विगत १६ वर्षदेखिको अटो व्यवासायमा काम गर्दा हासिल गरेको व्यवसायिक अनुभवमा मैले धेरै विज्ञ र युवा व्यवसायीहरूसँग सहकार्य गरेको छु।
म सबै अटोमोबाइल व्यवसायीलाई सँगै अगाडि लिएर जाने सक्षम छु। मैले मेरो टिममा भएका सबैलाई समेटेर सँगै अगाडि लैजानुपर्छ भन्ने कुरामा सचेत पनि छु। जसका कारण म सबै कुरामा पूर्ण हुनेछु भन्ने ठानेको छु। मैले मेरो टिममार्फत नाडामा केही गरेर देखाउनु नै प्रमुख उद्देश्य हुनेछ। अटोमोबाइल क्षेत्रका साथीहरूको मुद्दा सम्बोधन गर्न सक्ने र यो क्षेत्र बुझेको नाताले सबैजसो साथीहरूको साथ र सहयोग नै मेरो सबल पक्ष हो।
नाडा आयातकर्ताहरू डिलरहरूमा हाबी भए भन्ने गुनासो सुनिने गरेको छ। यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
नाडामा महत्वपूर्ण भूमिका नै डिलरहरूको हो। आयातकर्ता र डिलरहरूको सहकार्य पनि निकै राम्रो रहेकाले डिलरहरूमाथि आयातकर्ता हावी भए भन्न मिल्दैन।
डिष्ट्रिब्यटर्स र डिलरबीच सम्बन्ध बिगारेर दुबैको भ्रम पैदा गर्ने किसिमको वातावरण बनाउनु हुँदैन। वर्तमान कार्यसमितिलाई हेर्ने हो भने पनि डिष्ट्रिब्युटर्स मात्र होइन डिलरसमेतको उल्लेख्य प्रतिनिधित्व कार्य समितिमा देख्नुहुने छ। त्यसैले डिलर र डिष्ट्रिब्युटर्सबीच नङ र मासुको जस्तै सम्बन्ध रहँदै आएको र रहिरहने छ। म नाडाको नेतृत्वमा पुगेपछि कतै त्यस्तो बुझाइमा फरक परेको छ भने त्यसलाई समाधानमा लाग्ने छु।
अब प्रसंग बदलौँ, सरकारले शून्य प्रदूषण सवारी प्रवर्द्धन गर्ने नीति लिएको छ। यसमा नाडाले आफूलाई कसरी प्रस्तुत गर्छ?
विद्युतीय सवारी साधन अहिलेको आवश्यकताकै रुपमा देखिएको छ र यो नीतिगत तहका कुरा पनि हुन्।
विद्युतीय सवारी साधनहरू नाडा आवद्ध आयातकर्ताहरूले बिक्री गर्न सुरु भइसकेको छ। यसलाई चरणवद्ध रुपमा नीतिगत तहमै पुनरावलोकन गर्ने, प्रयोग भइसकेको ब्याट्रीहरूको व्यवस्थापन गर्ने, सहज रिचार्ज गर्ने व्यवस्था मिलाउने, गणस्तरीय सुरक्षित विद्युतीय सवारीसाधनको आयातमा नीति बनाउन सरकारलाई नाडाले सहयोग गर्ने छ।
विद्युतीय सवारी आयातमा विगतमा भएको नीतिगत अस्थिरता नआओस् भनेर नाडाले नीतिगत स्थिरता कायम गर्न सक्दो पहल गर्नेछ।
सरकारले नेपालमै सवारी एसेम्बल र उत्पादन गर्न जोड दिइरहेको छ। संस्थागत रुपमा नाडाले सवारी उद्योग प्रवर्द्धन गर्न के पलह गर्छ?
नेपाल सरकारले विदेशी मुद्रा बाहिर नपाओस्, त्यहीअनुसार रोजगारी सिर्जना होस् र नेपालको पैसा नेपालमै बस्नु पर्यो भन्ने कुरालाई विशेष ध्यानमा राख्नु जरुरी छ।
यसका लागि उद्योगीहरूले पनि सरकारको लक्ष्यलाई हेरेर हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ। हाल नेपालमै उत्पादित पार्टस्, लुब्रिकेन्टलगायत अन्य उपकरणहरू प्रयोग गरेर यही नयाँ सवारी उत्पादन गर्नुजस्तो उचित केही हुँदैन। तर, त्यो गर्नलाई केही समय भने पक्कै लाग्छ।
नेपालले एसेम्बल उद्योग स्थापनाका लागि दिएका विभिन्न सन्देशले अब नेपाल पनि उद्योगको युगमा गएको भन्ने आभास भएको छ। यसले आगामी १० देखि १५ वर्षमा नेपालमै उत्पादित गाडीले सुविधा दिन सक्छ भन्ने सन्देश पनि हो। तर, सरकारले यस्ता कुराहरूमा नीतिगत स्पष्टता गरिदियो भने उद्योगीलाई धेरै ठूलो सहयोग हुन्छ। उद्योग फस्टाउने वातावरण बन्छ।