गण्डकी- लगनशील हुने हो भने कृषि गर्न आफ्नै जग्गा चाहिन्छ भन्ने छैन, भाडामा लिएको जग्गाबाट पनि पर्याप्त आम्दानी गर्न सकिन्छ भनेर यहाँका एक कृषकले उदाहरण दिएका छन्।
पोखरा महानगरपालिका-३१ नहर छेउ देउराली खोलास्थित भाडामा लिएको नौ रोपनी जग्गामा गरेको व्यावसायिक तरकारीखेतीबाट प्रशस्त आयआर्जन गर्न सफल कृषक गोविन्द बास्तोला यतिखेर सबैका लागि अनुकरणीय बनेका हुन्।
पोखरा-२८ स्याङ्खुदी टारीको पैत्रिकसम्पत्ति भिरालो पाखोबाट तरकारीखेती सुरु गरेर अनुभव बटुलेका बास्तोला अवसर खोज्दै पाँच वर्षअघि वेगनास तालको नजिक समथर र उर्वरभूमिमा परिवारसहित झरेका हुन्।
'जीविकोपार्जनको आधार तरकारी थियो गाउँमा उत्पादन गरेको तरकारी बिक्रीका लागि डोकोमा बोकेर डुलाउँदा साह्रै दुःख थियो', ६२ वर्षीय कृषक बास्तोलाले भने, 'फाँटमा झरेपछि उत्पादन गरेको तरकारी खरिद गर्न व्यापारी बारीमै आउने गरेका छन्। शरीरले सुख पाउनुका साथै समयको समेत बचत भएको छ।'
मौसमी तथा बेमौसमी तरकारीखेती गरिरहेको भन्दै चार रोपनी क्षेत्रफलमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती फस्टाएको बास्तोलाले बताए। बन्दा दैनिक दुई सय केजी बिक्री हुँदै आएको उनले जानकारी दिए।
सुरुका दिनमा प्रतिकेजी बन्दा ५० रूपैयाँमा बिक्री गरे पनि पछिल्लो समय ३० रूपैयाँमा बिक्री गर्दै आएको बताउँदै कृषक बास्तोलाले बताए। करिब १५ क्विन्टल बेच्दा ५० हजार रूपैयाँ आम्दानी भएको उनको भनाइ थियो। यस वर्ष तीन हजार पाँचसय क्विन्टल उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए। 'बन्दा सकिएपछि काउलीले उत्पादन दिन थाल्छ। यस सिजनमा बन्दा, काउली र ब्रोकाउलीका बिरुवा बिक्री गरेर ३० हजार रूपैयाँ आम्दानी भएको छ', उनले भने।
बेमौसी तरकारी खेतीका लागि बारीमा १० वटा टनेल निर्माण गरिएको बताउँदै बास्तोलाकी श्रीमती चित्राकुमारी बास्तोलाले भने, 'चिसो मौसम सुरु भएसँगै टनेलभित्र काँक्रा, घिरौँला, करेला, सिमीजस्ता लहरेबाली लगाउने तयारी भएको छ। धान काटेपछि खेतमा दुई सय ५० केजी आलुको बीउ रोपेका छौँ।'
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न समयमा फलामको टनेल दुई र कच्ची टनेल पाँच निर्माण, असिना छेक्ने जाली, हातेट्र्याक्टर लगायतमा ५० प्रतिशतका दरले एक लाखभन्दा बढी अनुदान प्राप्त भएको उनले जानकारी दिए।
खानेपानी र विद्युत् छिमेकीको घरबाट उपयोग गर्दै आएको बास्तोलाले बताए। तरकारीखेतीका लागि आवश्यक सिँचाइको पानी वेगनाश नहरबाट मोटरको सहायताले तान्नदा खर्चिलो हुने गरेको बताउँदै उनले टनेललगायत आवश्यक संरचना तयार गर्दा अहिलेसम्म १३ लाख रूपैयाँ लगानी भएको जानकारी दिए।
'तरकारी लगाएर बचेको जग्गामा धानखेती गर्दा ५६ मुरी उत्पादन भएको थियो। परिवारलाई एक वर्षलाई खान पुग्ने मनसुली धान राखेर बढी मूल्य पर्ने १७ मुरी जेठोबुढो धान बिक्री गर्दा ९० हजार रूपैयाँ आम्दानी भएको छ', बस्तोलाले भने, 'उत्पादित पराल गोठमा रहेका गाईलाई पुग्दछ।'
बिहान सूर्योदयदेखि साँझ सूर्य अस्ताउने समयसम्म माटोमा खेल्ने यस परिवारले वार्षिक एक लाख रूपैयाँ अग्रिम जग्गाको भाडा तिरेर खाद्यान्न र तरकारी बिक्रीबाट वार्षिक चार लाख रूपैयाँ बचत हुने गरेको बास्तोला दम्पत्तिको भनाइ थियो। उनका अनुसार बिदाका समयमा छोराबुहारीले सहयोग गर्दै आएका छन्। रासस