आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सुदूरपश्चिममा माछापालनतर्फ किसानको आकर्षण बढ्दो, यहीँको उत्पादनले धान्छ ७५ प्रतिशत माग

images
शनिबार, पुस १४ २०८०
images
सुदूरपश्चिममा माछापालनतर्फ किसानको आकर्षण बढ्दो, यहीँको उत्पादनले धान्छ ७५ प्रतिशत माग

सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशत माग धानिरहेको छ। बाँकी २५ प्रतिशत भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको छ।

images
images

गोदावरी- पछिल्लो समयमा सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ।

images
images
images

सरकारी तथ्यांंकअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख केन्द्रका रुपमा विकसित हुँदै गएको मत्स्यविकास केन्द्र गेटा कैलालीका प्रमुख सूर्य शाहीले बताए। सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशत माग धानिरहेको बताउँदै उनले बाँकी २५ प्रतिशत भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको जानकारी दिए।

images
images

सुदूरपश्चिममा माछाको खपत पनि बढ्दै गएको छ। एक व्यक्तिले वार्षिक सरदर साढे दुई किलो माछा उपभोग गर्दै आएको केन्द्रको तथ्यांकले देखाएको छ। उत्पादनमा वृद्धिसँगै आउँदो १० वर्षमा प्रतिव्यक्तिलाई १० केजी उपभोग गराउने लक्ष्य रहेको कार्यालय प्रमुख शाहीले बताए। उनले आउँदो १० वर्षभित्र ३० हजार मेट्रिकटन उत्पादन पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए।

images
images

माछापालक कृषकले समयमा माछाको भुरा, दाना, औषधिलगायत आवश्यक सामग्री नपाउने समस्या रहेको बताएका छन्। माछा व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गए पनि बजारीकरणमा निकै समस्या झेल्नु परेको शाहीको भनाइ थियो।

कैलाली र कञ्चनपुरमा मात्रै वार्षिक चार हजार आठ सय मेट्रिकटन माछा खपत हुने गरेको छ। केन्द्रका अनुसार प्रदेशभर वार्षिक करिब १० हजार मेट्रिकटन खपत हुने गरेको छ। मत्स्यविकास केन्द्रका अनुसार दुई जिल्लामा गरी एक हजार सात सय ५० हेक्टर जमिनमा रहेका पोखरीमा माछापालन गरिँदै आइएको छ। तीमध्ये एक हजार तीन सय हेक्टर प्राकृतिक र दुई सय ५० हेक्टर कृत्रिम ताल रहेका छन्।

कृत्रिम तालमा प्रतिहेक्टर वार्षिक तीन मेट्रिकटन र प्राकृतिक तालमा प्रतिहेक्टर एक मेट्रिकटन माछा उत्पादन हुने गरेको छ। केन्द्रका प्रमुख शाहीका अनुसार सुदूरपश्चिममा ग्रासकार्प, सिल्भरकार्प, विगेटकार्प, रौ, नैनी र भाकुर जातका माछापालन हुने गरेको छ। उनले पछिल्लो १० वर्षको अवधिमा सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा कैलाली र कञ्चनपुरमा माछापालन व्यवसाय निकै फस्टाएको बताए।

एक दशकअघिसम्म यी दुई जिल्लामा करिब ९० प्रतिशत भारतबाट आयात हुने माछा खपत हुने गरेकामा १० वर्षको अवधिमा आन्तरिक उत्पादन बढ्दै गएको जनाइएको छ। 

विभिन्न प्रजातिका माछाका भुरा उत्पादन गरेर मत्स्यपालक किसानलाई बिक्रीवितरण गर्दै आइएको जनाउँदै मत्स्यविकास केन्द्रले पछिल्ला वर्षमा लक्ष्यभन्दा बढी परिमाणमा भुरा उत्पादन भइरहेको उल्लेख गरेको छ। केन्द्रमा ह्याचलिङ, फ्राई, फिङ्गरलिङ र एडभान्स फिङ्गरलिङ साइजका माछाका भुरा उत्पादन गरी बिक्रीवितरण हुने गरेको छ। रासस


प्रकाशित : शनिबार, पुस १४ २०८०१३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend