शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

राजनीतिसँगै व्यावसायिक माछापालनमा सक्रिय गाउँपालिका अध्यक्ष

images
images
images
राजनीतिसँगै व्यावसायिक माछापालनमा सक्रिय गाउँपालिका अध्यक्ष

फार्ममार्फत धार्चेका किसानलाई माछापालनमा प्रोत्साहनका लागि तालिम सञ्चालन गर्ने तयारी गरिएको छ।

images
images

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ। गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उनको कृषि पेसाको लगाव घटेको छैन।

images
images
images

धार्चे गाउँपालिका-३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अर्गानिक होम’ सञ्चालन गर्दै आएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी बिहान-बेलुकीको अधिकांश समय त्यही फार्ममा बिताउँछन्। त्यसैबाट हुने आम्दानीले आफ्नो र सिंगो परिवारको जीविकोपार्जन राम्रोसँग चल्दै आएको उनी बताउँछन्।

images

पालिकाको केन्द्र रहेको माछीखोलाबाट करिब २० मिनेटमा पुगिने खोर्लाबेँसीमा रहेको अर्गानिक फार्ममा उनी सकभर हरेक साँझ बास बस्न पुग्छन् र फार्ममा रहेका माछापोखरी डुलेर दिनभरिको थकाइ मेट्छन्। खोर्लाबेँसीमा गुरुङले करिब १२ रोपनी क्षेत्रफल जमिनमा नौवटा पोखरी निर्माण गरेर व्यावसायिक रेन्वो ट्राउट माछापालन गर्दै आएका हुन्।

images

'धार्चेमा धेरै चिसो पानी बगिरहेको छ, यसलाई उपयोग गर्नुपर्यो भनेर व्यावसायिकरूपमा रेन्व्रे ट्राउट माछापालन गर्न सुरु गरिएको हो', उनले भने। उनले बाह्य पर्यटकलाई लक्ष्य गरेर २०६७ सालमा निर्माण गरिएको अर्गानिक होमलाई रुपान्तरण गरेर अहिले साझेदारीमा ट्राउट एण्ड अर्गानिक होम सञ्चालन गरेको बताए।

images
images

ट्राउट एण्ड अर्गानिक होममा उत्पादित रेन्वो ट्राउट माछा प्रतिकिलो एक हजार सात सय रूपैयाँमा बिक्री हुने गरेको उनको भनाइ छ। 'अर्गानिक होममा नै पकाएर खाने पर्यटक तथा पाहुनाले ट्राउट माछा प्रतिकिलो दुई हजार रूपैयाँ तिनुपर्छ, घर लैजानेले प्रतिकिलो एक हजार सात सय रूपैयाँमा पाउँछन्', उनले भने।

आजभोलि मनास्लु पदयात्रामा जाने आउने पर्यटकसमेत ट्राउट एण्ड अर्गानिक होममा बसेर ट्राउट माछाको स्वाद चाखेर मात्र फर्कने गरेको उनले बताए। 'दैनिक करिब छ-सात किलो माछा बिक्री हुन्छ, माघमा तातोपानी मेलाको समयमा त दैनिक दुई-तीन क्विन्टलसम्म पनि बिक्री हुँदै आएको छ', उनले भने।

फार्मको उत्पादनले स्थानीय बजारमा नपुग्नेसमेत गुरुङले बताए। ट्राउट माछा पाल्नका लागि १४ देखि १८ डिग्री उपयुक्त तापक्रम हो। अहिले ट्राउट एण्ड अर्गानिक होमबाट वार्षिक २० देखि २५ क्विन्टल उत्पादन हुन्छ। यसबाट राम्रो आम्दानी हुँदै आएको छ, उत्पादित माछा अधिकांश स्थानीय बजारमा खपत हुने गरेको भए पनि केही भने आरुघाट बजार बिक्री हुने गरेको उनले जानकारी दिए।
 
रेन्वो ट्राउट माछा दुई वर्षमा तीन सय ग्रामसम्मको हुने र अन्य माछाको तुलनामा अन्यन्तै स्वादिष्ट हुने भएकाले पनि ग्राहकको रोजाइ पर्ने गरेको अध्यक्ष गुरुङले बताए। उनले अर्गानिक फार्ममा माछापालनबाहेक माछाको भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालन गरिएको छ भने एरोविक कफीखेती र लोकल कुखुरापालन गर्दै आएका छन्। धार्चेमा चिसो पानी भएकाले ट्राउट माछापालनको प्रशस्त सम्भावना रहेको उनले जानकारी दिए। धार्चेका किसानलाई हौसला प्रदान गर्नका फार्ममै भुरा उत्पादनका लागि ह्याचरीसमेत सञ्चालन गरिएको छ। फार्म सञ्चालनका लागि करिब तीन करोड रूपैयाँ लगानी भएको उनले जानकारी दिए।

ट्राउट एण्ड अर्गानिक होममा माछाका लागि दाना उत्पादन गर्नका लागि एक तालिम प्राप्त व्यक्तिलाई सेयर सदस्यका रूपमा राखिएको उनले बताए। 'सामूहिकरूपमा कमाउने र रोजगारी प्रदान गर्ने उद्देश्य छ। बाहिरबाट आउने पर्यटकले बोकेर ल्याएर फोहर फाल्ने ठाउँ धार्चेलाई बनाउनु हुँदैन, धार्चेको उत्पादनले बजारलाई आत्मानिर्भर बनाउनुपर्छ', गुरुङले भने।

अहिले सञ्चालन गरिएको ट्राउट एण्ड अर्गानिक होम बाह्यभन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको उनको भनाइ छ। ग्रामीण परिवेश भएकाले धार्चेमा सानो लगानीमा तर सफा र स्वच्छ संरचना निर्माण गरेर पर्यटकलाई आर्कषित गर्नुपर्ने उनले बताए। धार्चे आउने पर्यटकलाई यहीँको उत्पादनको स्वाद चखाउन सके स्थानीय किसानले उत्पादन गरेको वस्तु बिक्री पनि हुने र किसानले पैसा पाउने अवस्था सिर्जना हुन्छ, त्यसो गर्दा स्थानीय किसानको आयआर्जन वृद्धि गर्न मद्दत पुग्छ भन्ने विश्वास अध्यक्ष गुरुङको छ।

फार्मबाट अहिले वार्षिक एक लाख ट्राउट माछाको भुरा उत्पादन गर्न सकिने अध्यक्ष गुरुङले बताए। 'फार्मका लागि आवश्यक पर्ने ३० हजारदेखि ३५ हजारसम्म मात्र माछाको भुरा उत्पादन गर्ने गरिएको छ', उनले भने, 'भुराको माग भए त एक लाखसम्म पनि उत्पादन गर्न सकिन्छ।'

एउटा उमेर पुगेका माछाबाट एक सय ५० ग्राम अण्डा उत्पादन हुन्छ भने एक ग्राम अण्डाबाट १६ वटा भुरा उत्पादन हुने गुरुङको भनाइ छ। फार्ममा अहिले भुरा उत्पादनका लागि छ सयवटा पोथी माछा रहेको छ। फार्ममार्फत धार्चेका किसानलाई माछापालनमा प्रोत्साहनका लागि तालिम सञ्चालन गर्ने तयारी गरिएको छ। रासस

images

प्रकाशित : बुधबार, पुस ११ २०८०११:३६

प्रतिक्रिया दिनुहोस