आइतबार, भदौ २३ गते २०८१    
images
images

नाम जनताको जलविद्युत्, काम औसत

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १३ २०७८
images
images
नाम जनताको जलविद्युत्, काम औसत
images
images

काठमाडौं- सरकारले विशेष प्राथमिकताका साथ जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेका तीन जलविद्युत् आयोजनामा आशातीत प्रगति हुन सकेको छैन।
 
रसुवामा आयोजना स्थल रहेका ती आयोजनाको हरेक वर्ष विद्युत् उत्पादनको मिति सर्दै आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले पटकपटक स्थलगत निरीक्षण गरेर निर्देशन दिए पनि आयोजनाको काम प्रभावकारी हुन सकेको छैन।

images
images
images

नेपालको जलविद्युत् क्षेत्रमा एउटा उदाहरण बनेको चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका ती आयोजनाबाट कहिले विद्युत् उत्पादन हुन्छ भनेर निक्र्यौल गर्नसमेत अप्ठ्यारो हुन थालेको छ। प्राकृतिक विपद्, कोरोना भाइरस सङ्क्रमण जोखिमलगायत कारणले आयोजनाको समय र लागत दुवै बढ्दै गएको छ। चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ। आयोजना छिटो सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लगातार ताकेता गर्दै आउनु भए पनि अवस्था उस्तै छ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरु सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणको नेतृत्व ताते पनि प्रसारण लाइनको अवस्था उस्तै छ। कहिले प्रसारण लाइन सकिने र आयोजनाको काम सकिए पनि बिजुली जोड्ने कुनै ठेगान छैन।

भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोभिड-१९ को महामारी लगायतका कारणले आयोजना निर्माणमा जटिलता उत्पन्न भए पनि सहज अवस्थामा समेत काममा गति देखिएको छैन।

images

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्। चिलिमेको प्रबन्ध-सञ्चालक हुँदा घिसिङले नै तीनवटै आयोजनाको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाएका थिए।

'मुख्य सिभिल संरचनाहरुको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको आयोजनाको निर्माण यथासक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपछ', उनले भने, 'बाँकी रहेका कामहरु समानान्तर रुपमा अगाडि बढाएर सात/आठ महिनाभित्रमा सम्पन्न गर्नुपर्छ।'

माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायत सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान  सम्पन्न भइसकेका छन्। आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ। माथिल्लो सान्जेनको क्यासकेडका रुपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ। विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ। सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट नआउँदा काम प्रभावित भएको छ। निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मङ्गलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरणहरु जडान सुरु गर्नेछन्। प्रसारण लाइनको टावरहरु निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकी छ।

रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो। इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ।

'इलेक्ट्रोमेकानिक ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरणहरु जडानका लागि ठाउँको अभाव छैन, कामदार थपेर सबै ठाउँमा समानान्तर रुपमा काम गरी आठ/नौ महिनाभित्र सक्नुहोस्, ठेकेदारले व्यहोरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्नेछौँ', कार्यकारी निर्देशक घिसिङले भने।

तीनवटै आयोजनाहरुको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिनेछ। चिलिमे  तथा त्रिशूली थ्री बी हब सबस्टेसन र चिलिमी-त्रिशूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ। रासस


प्रकाशित : सोमबार, मंसिर १३ २०७८१३:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend