बुधबार, वैशाख २६ गते २०८१    
images
images

पाँचथरका बम्जन दम्पतीले फलाए १६८ मुरी धान, पाए ५० हजार पुरस्कार

images
बिजनेस न्युज
images
images
पाँचथरका बम्जन दम्पतीले फलाए १६८ मुरी धान, पाए ५० हजार पुरस्कार

बम्जन दम्पतीले लामो समयदेखि बर्सेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएको स्थानीयवासीको भनाइ छ। किसान मकरबहादुर गाउँपालिकाले ५० हजार रूपैयाँ पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा छन्।

images
images

पाँचथर- पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो।

images
images
images

गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए। सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो। भान्सामा चिया र नास्ता पाक्दै थियो।

images

मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो। घर वरिपरि कोदो टन्न फलेको थियो। टिप्ने समय बित्नै लागेको छ। फाल्गुनन्द-१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उनकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए।

images

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजार रूपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो। उक्त घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुगेका थिए। उनले आफूले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गरे। मकरबहादुरको दाबीपछि बुधबार जनप्रतिनिधि र कर्मचारी उनको घर पुगेका हुन्।

images
images

मकरबहादुरले निबु खोलाको बेँसी र घर छेउको पाखाबारीमा फलाएको धान एक सय ६८ मुरी प्रमाणित भएपछि उनी औधी खुशी भए। मकरबहादुर दम्पतीले फाल्गुनन्द-७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए। उक्त बीउबाट फलेकोमध्ये ३० मुरी धान उनले यसअघि नै बिक्री गरिसकेको बताए। त्यसैले उनले फलाएको धान एक सय ६८ मुरी मात्र गणना भयो।

फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ। मकरबहादुरले फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताए। गत मङ्सिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाएका थिए।

'वडाध्यक्षले खबर गरेपछि गत मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ', मकरबहादुरले भने। विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उनको भनाइ छ। 'विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, दुई पाथी धान लुकाएँ। त्यतिबेला मेरो पाँचजनाको परिवार थियो', उनले भने, 'मेरो नाममा दुई रोपनी जग्गा छ। यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ। ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन।' मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिएका हुन्। उनले मकैका लागि पाखो बारी अधियाँमा लिएका छन्।

किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले धानका खलाखलामै कर्मचारीलाई बोलाएका थिए। तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गरे। 'धान जम्मा गर्न सात हजार रूपैयाँ खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्', उनले भने।

बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन्। तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहेका छन्।

'दुःख नभई सुख हुँदैन रहेछ। साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्', मकरबहादुरले भने। विसं २०६० देखि धान खेतीमा लागिपरेको उनी बताउँछन्। पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेँसीमा समस्या नरहेको उनले बताए।

मकरबहादुर गाउँपालिकाले ५० हजार रूपैयाँ पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा छन्। 'गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ', उनले भने। बम्जन दम्पतीले लामो समयदेखि बर्सेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएको स्थानीयवासीको भनाइ छ। रासस

images

प्रकाशित : ११:१६
प्रतिक्रिया दिनुहोस