काठमाडौं- चालु वर्षको सुरुवातको महिनादेखि नै वाणिज्य बैंकहरू माग भएजति ऋण दिननसक्ने अवस्थामा पुगे। ऋण दिन मिल्ने बचत न्यून हुँदै गएपछि बैंकहरूले त्यस्तो रकम तान्न विभिन्न उपाय अपनाउन थाले।
माग भएजति ऋण दिनका लागि मुख्य स्रोत भनेकै सर्वसाधारण तथा संस्थाहरूले बचत गर्ने पैसा हो। यसरी बचत(निक्षेप) आकर्षित गर्न बैंकहरूले ब्याजदर बढाए। ब्याजदर बढाउँदै जाँदा १० प्रतिशत भन्दा माथिसम्म पुग्यो। यसरी बचतमा ब्याज बढेपछि वाणिज्य बैंकहरूको ऋणको ब्याजदर सहकारीकै तहमा पुग्न थाल्यो।
यस्तो अवस्था आएपछि नियामकले बैंकहरूलाई ऋण/बचतको ब्याजदर घटाउनका लागि हस्तक्षेप नै गर्यो। खुला बजारमा राष्ट्र बैंकले बैंकहरूको ब्याजदर निर्धारणमै हस्तक्षेप गरेको भन्दै आलोचना पनि भयो।
यस्तो अवस्था आउनु पहिलेका सामन्य कारणहरू छन् जुन प्रत्येक दिनजसो आमसञ्चारमाध्यममा आउँछ। उद्योगी व्यवसायी, बैंकर तथा सरकारी अधिकारीहरू यसमा धारणा राखिरहेका हुन्छन्।
यस्ता व्यक्तिहरूले सबैले बुझ्ने भाषामा भन्ने एउटा कुरा हो- बैंकहरूमा निक्षेप घट्दै गयो। अर्थात् बैंकहरूले यसअघि पाइरहेको निक्षेप पनि गुमाउन थाले तर ऋणको माग भने बढीरह्यो। आफ्नो वार्षिक लक्ष्य पूरा गर्ने ध्याउन्नमा रहेका बैंकका व्यवस्थापकहरू ब्याजदर बढाउने होडबाजीमा उत्रिए।
वाणिज्य बैंकहरूमा पछिल्लो साता पनि निक्षेप घट्ने र ऋण बढ्ने क्रम दोहोरिएको छ। मंसिर ३ गतेदेखि १० गतेसम्मको तथ्यांक अनुसार ऋण १४ अर्ब थपिएको छ भने निक्षेप ६ अर्बले घटेको छ।
मंसिर तीन गतेसम्म ४२ खर्ब २६ अर्ब निक्षेप रहेको बैंकिङ प्रणालीमा मंसिर १० गते आइपुग्दा ४२ खर्ब १९ अर्बमा सीमित भएको छ। ऋण परिचालन भने पछिल्लो साताको तुलनामा १४ अर्बले वृद्धि भएको छ। मंसिर ३ गते ४० खर्ब ४१ अर्ब ऋण परिचालन भएको थियो भने मंसिर १० गते आइपुग्दा ४० खर्ब ५५ अर्ब पुगेको छ।
असोज मसान्तदेखि यता एकपटकमात्र निक्षेप संकलनमा वृद्धि भएको छ। तर ऋण परिचालन भने एकपटकमात्र स्थिर रहेको छ। असोज मसान्त यता निक्षेप घट्दै जाने र निक्षेप बढ्ने क्रम रहेको छ।
आखिर बैंकिङ प्रणालीमा भएको निक्षेप हराएर कहाँ जान्छ। सर्वसाधारणले बैंकबाट तानेर पैसा खर्च गर्छन्। त्यही पैसा फेरि बैंकमा जानुपर्ने हो। हामीले बुझ्ने सामन्य बैंकिङ चक्र यही हो। तर यो सामन्य चक्रअनुसार किन चल्दैन। आखिर कसरी घट्छ निक्षेप?
बैंकिङ चक्रमा आन्तरिक तथा बाह्य कारण हुने र त्यस्ता चक्रको एकआपसमा सन्तुलन नहुनेवित्तिकै असरका रुपमा निक्षेप घट्ने, ऋण बढ्नेजस्ता गतिविधि देखिने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल।
'निक्षेप घट्ने र ऋण बढ्नेक्रम चलिहरन्छ। यस्तो हुनुका पछाडी धेरै कारण हुन्छन्। जस्तो बैंकहरूले नेपाल राष्ट्रबैंकबाट एसएलफ लगायतका अल्पकालीन सुविधाबाट निक्षेपस्वरुप रकम लिएका हुन्छन्। त्यस्तो रकम फिर्ता हुन्छ। यसरी फिर्ता हुनेवित्तिकै बैंकिङ प्रणालिको निक्षेप घटेको देखिन्छ। त्यस्तै मान्छेहरूले बैंकबाट पैसा निकालेर खर्च गर्छन्। त्यसरी हुने खर्च प्रणालीमा आउन समय लाग्छ। अनि घटेको देखिन्छ' ढकालले भने।
यी र यस्ता कारण बाहेक अरु कारणले पनि निक्षेप घट्ने उनको भनाइ छ। जस्तो कुनै संस्ठाले ठूलो निक्षेप कुनै बैंकमा जम्मा गरेर राखेको हुन्छ। उसले त्यस्तो पैसाबाट विदेशबाट आयात गर्ने वस्तु तथा सेवाको लागि भुक्तानी गर्छ। यसरी भएको भुक्तानी फेरि प्रणालीमा आउँदैन। यस्तो कारणले पनि निक्षेप घट्ने उनको भनाइ छ।
पछिल्लो समय आयात अत्याधिक बढ्दा पनि तरलतामा चाप परेको अधिकारीहरूको भनाइ छ। कुनै निश्चित समयमा आयात आढ्दा पनि बैंकिङ प्रणालीमा रहेको निक्षेप घट्नुको कारणमा भने कुनै वस्तुको आयात अधिक हुँदा पैसा विदेश जान्छ। अघिल्लो महिनाको तुलनामा पैसा धेरै जानेवित्तिकै प्रणालीमा पैसाको कमी हुन्छ।
चालु वर्षको चार महिनामै औषत १ खर्ब ५० अर्ब बढीको आयात भइरहेको छ। यसरी आयात हुँदा भएको पैसामात्र होइन बैंक तथा वित्तीय संस्थाबाट जाने ऋण पनि जान्छ। अन्तत: प्रणालीमै घुम्नुपर्ने पैसा विदेश जाने तर विदेशबाट आउने पैसा अर्थात् रेमिट्यान्समा कमी आएको छ।
बैंकिङ प्रणालीको पैसा निकालेर अनौपचारिक अर्थतन्त्र तथा अनौपचारिक वित्तीय कारोबारमा पनि परिचालन हुँदा समस्या सिर्जना हुन्छ।
अर्को मुख्य कारण हो सरकारी राजस्व। सरकारले राजस्व उठाउँछ। तर त्यसरी उठाउने राजस्व खर्च हुँदैन। खर्च नहुँदासम्म त्यस्तो पैसा निक्षेपका रुपमा जम्मा हुन पाउँदैन। तर राजस्व संकलन हुँदा भने निक्षेपमै रहेको पैसा जाने प्रवक्ता ढकालको भनाइ छ।