शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

बजार घट्दा पनि १५ कम्पनीका लगानीकर्ता मालामाल, आउने साता के होला बजार?

शनिबार, पुस ७ २०८०
बजार घट्दा पनि १५ कम्पनीका लगानीकर्ता मालामाल, आउने साता के होला बजार?

साताको अन्तिम कारोबारमा वृद्धि थामिएको बजारले आउँदो साता पनि उचाइतर्फकै यात्रा गर्ने विश्लेषकहरू बताउँछन्।

काठमाडौं- निरन्तर उचाइतर्फ गइरहेको सेयर बजार यो साताको अन्तिम कारोबारमा थामियो। गएको साता देखिएको उछाललाई साथ मिल्ने गरी यो साता पनि सेयर बजार वृद्धितर्फ नै लागिरहँदा अन्तिम कारोबारमा केही करेक्सन देखिएको हो।

नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो। साताको अन्तिम कारोबारमा वृद्धि थामिए पनि बजारले आउँदो साता पनि उचाइतर्फकै यात्रा गर्ने विश्लेषकहरू बताउँछन्। पछिल्ला कारोबारले लगानीकर्ताका लागि सुखद् संकेत नै गरेको छ। लामो समय उतारचढावमा रहेको बजारमा गएको सातायता २८८.५१ अंकको सुधारपछि बजार थामिएको हो।

बिहीबार ३२.७७ अंकले घटेर बजार २१०९.१० बिन्दुमा झरेको छ। ५० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँको कारोबार भएको थियो। १९१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

बिहीबार बजार घटे पनि यो साताको अवस्था लगानीकर्ताका लागि सुखद् नै देखिन्छ। यो साता समग्रमा बजारमा ११४.४९ अंकको सुधार देखिएको छ।

बजार घट्दा चम्किएका यी १५ कम्पनी

बिहीबार ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा बन्द हुँदा १९१ कम्पनीको सेयर मूल्य घटेको थियो। १५ कम्पनीका लगानीकर्ताले भने मनग्य कमाएका छन्। 

बिहीबार ५ वटा कम्पनी १० प्रतिशत, ७ वटा कम्पनी ९ देखि १० प्रतिशतको बीचमा र ३ वटा कम्पनी ८ देखि ९ प्रतिशतको बीचमा बढेका छन्।

विगत ८ कारोबार दिनदेखि ५० कित्ता कारोबार गर्दै १० प्रतिशतले बढ्दै गरेको कम्पनी बोटलर्स नेपाल (बालाजु) लिमिटेड बिहीबार पनि ५० कित्ता नै कारोबार गरेर १० प्रतिशत बढेको छ। बोटलर्स नेपालको अन्तिम कारोबार बिहीबार ५ हजार ७ सय ८४ रुपैयाँमा भयो।

लघुवित्त समूहअन्तर्गतको ३ वटा कम्पनीले पनि बिहीबार सर्किट लेभलमा कारोबार भयो। आशा, धौलागिरी र बिपीडब्ल्यू लघुवित्त तीन वटै कम्पनीले १० प्रतिशतको सर्किट लेभलमा कारोबार भयो।

आशा लघुवित्तको ९ हजार ३ सय ७४ कित्ता, धौलागिरी लघुवित्तको ३ हजार ८ सय ८६ कित्ता र बीपीडब्ल्यु लघुवित्तको ६ हजार ९ सय ५३ कित्ता सेयर कारोबार भयो। तीन लघुवित्तमध्ये आशा र धौलागिरी लघुवित्त भने अन्तिम केही कारोबारमा मात्रै बढाएर १० प्रतिशतको सर्किट ब्रेक लगाएको फ्लोरसिटबाट देखिन्छ।

चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा कम्पनी,मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउस कम्पनी लिमिटेड हालैमात्रै नेप्सेमा सूचीकृत कम्पनी हुन्। पछिल्लो समय धितोपत्र बोर्डले म्युचुअल फन्डमा कोटामा पाएको सेयरमा ६ महिनाको लकिङ पिरियड लगाएपछि आईपीओको सेयरमा सेलिङ आउन कम भएको छ। आईपीओको सेयर २/३ दिन सर्किट लागेपछि मात्रै नियमित कारोबार हुने गरेको छ।

मान्डु हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर भने हाइड्रोपावर समूहबाट सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु हुन। हिमालयन हाइड्रोपावरको ५० हजार ७ सय ४० कित्ता,मान्डु हाइड्रोपावरको ७१ हजार ४ सय २० कित्ता र मिड सोलु हाइड्रोपावर ३४ हजार ९ सय ८० कित्ता कारोबार भएको छ। हिमालयन हाइड्रोपावर भने अन्तिम समयमा मात्रै सर्किट लेभलमा कारोबार भएको हो।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र कुथेली बुखरी हाइड्रोपावर भने ८ प्रतिशत मूल्य बढेर कारोबार भएको छ। एनआरएनको २ लाख ९ हजार ३ सय ४५ कित्ता र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको ४ हजार ६ सय २५ कित्ता सेयर कारोबार भएको छ।


प्रकाशित : शनिबार, पुस ७ २०८०११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend