शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

नाडालाई सर्वसाधारण व्यवसायीको बनाउँछु : ध्रुवबहादुर थापा [अन्तर्वार्ता]

images
images
images
नाडालाई सर्वसाधारण व्यवसायीको बनाउँछु : ध्रुवबहादुर थापा [अन्तर्वार्ता]
images
images

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५ औँ वार्षिक साधाारण सभा तथा निर्वाचन यही मंसिर २२ र २३ गते हुँदै छ। यो साधारण सभाले नाडाको नयाँ कार्यसमिति चयन गर्ने छ। पोखराबाट अटोमोबाइल व्यवसायमा उदाएका ध्रुवबहादुर थापा वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन्। उनै थापासँग आगामी निर्वाचनलगायत विषयमा बिजनेस न्युजले गरेको कुराकानी :

images
images
images

अटोमोबाइल व्यवसायीहरूको चुनाव नजिकिँदै छ। तपाईंले पनि उमेद्‍वारी दिनु भएको छ। के के छन् तपाईंका एजेन्डा?

images

आसन्न नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको निर्वाचनमा आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा उमेद्‍वारी दिँदै छु। नाडामा ९५ प्रतिशत जति सर्वसाधारण व्यवसायीहरू छन्। उनीहरूको पनि नाडा हुनुपर्‍यो भनेर मैले उमेद्‍वारी दिएको हुँ। ५ प्रतिशत कर्पोरेट व्यवसायी छन् उनीहरूसँग पनि समन्वय गरेर जानुपर्छ। सर्वसाधारण व्यवसायीहरूको आवाज सरकारसँग पुग्न सकेको छैन भन्ने जुन आवाज उठिरहेको छ। यी विषयलाई सम्बोधन गर्ने गरि म नाडाको नेतृतवमा जान लागेको हो।

images

नाडालाई संस्थागत रुपमै बलियो बनाउनु पर्छ। संस्था बलियो हुँदा मात्र हामीले राखेका कुराहरू सुनिने अवस्था आउँछ। विगतमा केहीले व्यक्तिगत रुपमा संस्थानालाई बढी उपयोग गरेको भन्ने सुनिएको हो। यस्ता कुरा नसुनिने गरि संस्थालाई बलियो बनाउनु आवश्यक छ।

images
images

कुनै व्यक्तिलाई मुद्दा पर्‍यो भने व्यक्ति आफै जानु पर्ने अवस्था छ। तर नाडा बलियो भएको अवस्थामा संस्थाले समेत त्यस्ता समस्याहरूमा सहयोग गर्न सक्छ। नाडाले त्यो स्तरको हाइट बनाए पनि लुकेको अवस्था छ। त्यसलाईं उचाइमा पुर्‍याउने काम म गर्छु।

नाडा संघीय संरचनामा गएसँगै ठूलो संख्यामा सदस्यहरू थपिए। यसले पनि चुनाव अलि जटिल भएको हो?

चुनाव भइसकेको त छैन, त्यति जटिल नहोला। संघीय संरचनामा गइसकेपछि नाडा अलि बलियो चाहिँ भयो भन्न सकिन्छ। चुनाल जटिल बन्ने जस्तो अवस्था देखिइ सकेको त छैन। अध्यक्षज्यूले पनि सहज रुपमा चुनाव गराउँछु भन्नुभएको छ।

विगतमा अध्यक्षका दुई उमेद्‍वार भए पनि प्यानल नै भने बन्ने गरेको थिएन। यो पटक पूरै प्यानल बनाएर चुनाव हुने देखिएको छ। यसले व्यवयासीबीच ध्रुवीकरण ल्याउँदैन?

संस्था भनेको प्रजातान्त्रिक पद्धतिबाट चल्ने भएकाले चुनावले ध्रुवीकरण नै ल्याउँछ भनिहाल्नु हुँदैन। संस्थाहरूमा चुनावको परिस्थितिलाई लिएर ध्रुवीकरण होला चुनावपछि त्यस्तो हुँदैन। पहिलेभन्दा फरक ढंगको चुनाव हुनेछ यो पटक। करिब एफएनसीसीआईकै सरह सदस्य भएको चुनाव नाडामा हुँदैछ।

नाडाका जो साथीहरू हामी चुनावमा जाँदै छौँ प्यानल नै बनाएर जाने अवस्था बनेको छ। पहिला पनि एक खालको प्यानल बन्ने गरेको थियो। तर यो पटक साथीहरू प्यानल नै बनाएर यो टिम र उ टिम भनेर लाग्ने अवस्था छ। यो चुनावसम्म स्वभाविक रुपमा जाने देखिएको छ। चुनावपछि यस्तो अवस्थाको अन्त्य हुन्छ।

व्यवसायीक घराना बाहिरबाट नाडाको नेतृत्वमा आउन कठिनाइ हुने सुनिँदै आएको छ। तपाईंले चुनाव जित्ने आधारहरू के के छन्?

चुनाव त करिब करिब जितिसकेको अवस्था छ। मैले अघि नै पनि भनेँ ९५ प्रतिशत सदस्यहरू सर्वसाधारण व्यवसायीहरू छन्।

उनीहरूको नेतृत्व मैले नै गरिरहको छु। म आफैँ पनि सर्वसाधारण व्यवसायीबाटै आएर बल्ल मध्यमवर्गीय व्यवसायीको स्टाटसमा आएको छु। आम व्यवसायीहरू पनि नाडामा परिवर्तन हुनुपर्‍यो भन्नेमा हुनुहुन्छ।

नाडामा केही सीमित व्यवासायीहरूको मात्र हालिमुहाली रहेको भन्ने कुरालाई सम्बोधन गर्न पनि मैले नेतृत्वम जाने भनेको हो। सर्वसाधारण व्यवसायीको समस्या आयो भने सरकारसम्म नपुग्ने गुनासो आएको छ। त्यही माझबाट नेतृत्व हुने हो भने सर्वसाधारण व्यवसायीको गुृनासो सरकारसम्म पुग्ने अवस्था आओस् भन्ने हो। नाडामा रहेको एक प्रकारको सिन्डिकेट छ त्यसको पनि अन्त्य गर्नुपर्ने अवस्था आएको हो। चुनाव हाम्रो पक्षमा निश्चित जस्तै छ, अब मतदान हुन बाँकी मात्र हो।

चुनावमा तपाईं‌को सवल पक्ष र जित्ने आधार केलाई मान्नु भएको छ?

मेरो बलियो पक्ष भनेकै सर्वसाधारण व्यवसायी हुन्। यसमा म दुईवटा कुरा गर्छु। एउटा सर्वसाधारणकै रुपमा व्यवसायबाट आएकाले यसको अप्ठेरो र समस्याबारे म जानकार छु। अर्को नाडामा कर्पोरेट व्यवसायी हुनुहुन्छ। ३२ सय सदस्यमध्ये ३ हजार त सर्वसाधारण र मध्यवर्गीय व्यवसायी नै छन्। त्यस्तै म मोफसलबाट आएको व्यक्ति हुँ। मोफसलका व्यवसायीको संख्या ६५ प्रतिशत छ भने उपत्यकाबाट ३५ प्रतिशत व्यवसायीको मात्र प्रतिनिधित्व छ। यसको अर्थ मोफसलबाट पनि र व्यवसायीका हिसाबले पनि मेरो स्ट्रेन्थ राम्रो छ।

नाडामा एउटा कुरा पनि चलेको छ, परिवर्तन चाहियो भन्ने। लिगेसीबाट आएकोले मात्र होइन आम व्यवसायीबाट आएको व्यक्ति पनि नेतृत्वमा हुनुपर्छ भन्ने कुरा छ। यो अवस्थामा तलको आवाज सुनिएन भनिँदै आएको छ। यो कुरा सम्बोधन गर्न पनि म उपयुक्त पात्र हो जस्तो लाग्छ। 

आयातकर्ताहरू स्थानीय डिलरहरूमा हाबी भए भन्ने गुनासो सुनिने गरेको छ। तपाईं पनि डिलरबाटै उदाउनु भएको हो। ती समस्या कसरी समाधान गर्नुहुन्छ?

म आफू अहिले पनि डिलर नै छु। ५/६ वर्ष अघिबाट मात्र एउटा ब्रान्डको आयातकर्ताको रुपमा काम गर्दै आएको छु। मलाई डिलर र इम्पोटरको समन्वय गर्न सक्छु भन्ने छ।

करिब ३० वर्षदेखि डिलरको रुपमा काम गर्दै आएकाले डिलरका समस्याबारे म अवगत नै छु। केही समयअघि डिलरका साथीहरूसँग छलफल भएको थियो। त्यहाँ मैले आफ्नो तर्फबाट गर्न सक्ने जति काम गर्छु भनेको छु। त्यो गर्न आवश्यक छ। समस्या आयो भने त्यसलाई सम्बोधन गरेर जानुपर्छ। रोकेर राखियो भने त्यो पछि ब्लास्ट हुन सक्छ। डिलर र इम्पोटरबीच समन्यव कायम गर्न सक्छु भन्ने लाग्छ।

व्यवसायीको हकहितमा लविङ गर्ने संस्थाको रुपमा नाडा रहँदै आएको छ। पछिल्लो पटक यो विषयमा नाडा चुकेको आरोप लाग्दै आएको छ। नाडालाई सक्षम संस्थाको लयमा फर्काउन के पहल गर्नुहुन्छ?

नाडाभित्र व्यक्तिवादी कुरा हावी भइरहेको छ। नाडालाई सबैको साझा संस्थामा विकास गर्दै लानु पर्छ, जुन कुरा मैले पहिले पनि भनेँ। सरकारी निकायमा भेट्नका लागि समय नपाउने, घण्टौं कुर्नुपर्ने अवस्था छ। यसको अन्त्य आवश्यक छ। नाडाको स्तर घटेको भन्ने बुझिन्छ। नाडाको गरिमा डाउन भएको भन्ने देखियो। यसले संस्थालाई बलियो बनाउँदैन। यसका लागि मैले काम गर्छु।

अर्को कुरा नाडा संघीयतामा गएपछि प्रादेशिक संरचना बन्यो। त्यहाँ संस्था त बन्यो तर तीनलाई अधिकार दिइएको छैन। स्पेयर पार्टस्, डिलर, लुब्रिकेन्ट, इम्पोटर सबैलाई समेटेर जानु पर्छ। समेट्न सकिएन भने भोली अर्को संस्था बन्ने खतरा समेत हुन्छ। यस बारेमा हामी सजग हुनुपर्छ। सरकारसँग लबिङ गर्दा नाडा व्यक्तिवादी भन्दा संस्थागत रुपमा बढे केन्द्रित हुनेछ।

शून्य प्रदूषण सवारी प्रवर्द्धन गर्ने नीति सरकारले लिएको छ। यसमा नाडाले आफूलाई कसरी प्रस्तुत गर्छ?

विश्वव्यापी रुपमै प्रदूषण हटाउने कुरा भइरहेको छ। इलेक्ट्रिक वा हाइब्रिड सवारी बन्ने कुरा आइरहेको छ। निश्चित देशहरूले समयसीमा नै तोकेर विद्युतीय सवारी मात्र दर्ता गर्ने भनिरहेका छन्। हाम्रो देशमा पनि नीतिहरू बनिरहेका छन्। बागमती प्रदेश सरकारले २०८८ सम्म विद्युतीय सवारीमात्र दर्ता गर्ने भनेको छ। त्यहीअनुसार नाडाले पनि सरकारी नीतिलाई पछ‍्याउँदै काम गर्ने छ।

यो पृथ्वी, हाम्रो क्षेत्रको वातावरण संरक्षण गर्ने जिम्मेवारी हाम्रो पनि भएकाले नाडाले आफ्नो तर्फबाट गर्ने काम गर्दै जानेछ। अघिल्लो वर्ष सरकारले जसरी विद्युतीय कारमा कर बढाउने काम गर्‍यो। त्यसको हामीले डटेर विरोध गर्‍यौँ। यसमा सबैले सहयोग गरेपछि त्यो फिर्ता पनि भएको छ। यो नीतिले निरन्तरता पाउनु पर्छ। 

सरकारले नेपालमै सवारी एसेम्बल/उत्पादन गर्न जोड दिइरहेको छ। संस्थागत रुपमा नाडाले सवारी उद्योग प्रवर्द्धन गर्न के पहल गर्छ?

एसेम्बल मात्र होइन म्यानुफ्याक्चरिङ उद्योग पनि आउन सक्छ। यसका लागि सरकारले लिने नीति स्थिर हुनुपर्छ। सरकारले यसका लागि नयाँ व्यवस्थासमेत गर्नुपर्छ। हामी सरकारसँग यसबारेमा छलफल गर्न तयार छौँ।

images

प्रकाशित : सोमबार, मंसिर १३ २०७८१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend