काठमाडौं- बैंकिङ प्रणालीमा नेपाली जनताको कुल निक्षेप ६० खर्ब पुगेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कुल ६० खर्ब निक्षेपमध्ये वाणिज्य बैंकहरूमा ५३ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। यस्तै विकास बैंक र अन्य वित्तीय संस्थाहरूमा ६ खर्ब ९३ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
गत मङ्सिर २७ गतेको ५९ खर्ब ९५ अर्ब कुल निक्षेप रहेकोमा २८ गते ५ अर्बले बढेर ६० खर्ब निक्षेप पुगेको हो। यस अवधिमा कुल कर्जा प्रवाह ४९ खर्ब ९२ अर्ब पुगेको छ।
मङ्सिर २७ गतेको तुलनामा २८ गते कर्जा प्रवाह ३ अर्बले बढेको छ। पछिल्लो समय व्यावसायिक गतिविधिमा आएको संकुचनका कारण कर्जा नबढ्दा बैंकहरूको औषत कर्जा निक्षेप अनुपात (सीडी) ८०.३६ प्रतिशतमा झरेको छ।
हाल बैंकिङ प्रणालीमा ५ खर्ब ८० अर्ब रुपैयाँँ अधिक तरलता भएपनि कर्जा प्रवाह बढन सकेको छैन। पहिलो त्रैमासमा बैंकहरूको नाफा २८ प्रतिशतले घटेपछि कर्जाको ब्याजदर घटाएर कर्जा प्रवाह बढाउने प्रयासमा छ।
कात्तिक, मङ्सिर र पुसमा बैंकहरूले लगातार मुद्दती निक्षेपको ब्याजदर घटाएकाले आगामी दिनमा कर्जाको ब्याजदर घट्ने र कर्जा प्रवाह बढ्ने अनुमान गरिएको छ।
बैंकलाई ब्याजदर घटाउन सहजीकरण गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै नीतिगत दर १ प्रतिशत बिन्दुले घटाएको छ। राष्ट्र बैंकले नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ।
यस्तै राष्ट्र बैंकले बैंकदर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र निक्षेप संकलन दर ४.५ बाट घटाएर ३ प्रतिशत कायम गरेको छ।
नीतिगत दर घटाएसगै कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक र एनएमबि बैंकले मङ्सिरमा दुई पटक ब्याजदर घटाएका छन्।
प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर अन्तरबैंक ब्याजदर ३ प्रतिशतनजिक ल्याउन सफल भएको छ। हाल अन्तरबैंक ब्याजदर २.६० प्रतिशत रहेको छ।