देउखुरी- पछिल्लो समय दाङका मुक्त कमलरी महिला आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दैछन्।
घोराही उपमहानगरपालिका-२ निमुरियाकी विपती चौधरी पूर्वकमलरी हुन्। उनले कमलरीमुक्त भएपछि समूहमा आबद्ध भएर आयआर्जन गर्न तरकारी खेती सुरु गरेकी छिन्। उहाँ गुरधौली कृषि महिला समूहको अध्यक्ष भएर काम गरिरहेकी छिन्। 'तरकारी खेती गरेको छु', उनले भनिन्, 'आफ्नै गाउँघरमा सानो लगानी गरेर आयआर्जनमा जोडिन पाउँदा धेरै खुसी छु ।'
मुक्तकमलरी विकास मञ्च र आइएम नेपालको सहयोगमा २५ महिलालाई समूहमा आबद्ध गराई तरकारी खेती, पशुपालन र बचत गर्ने तरिकाका बारेमा तालिमसमेत प्रदान गरिएको थियो। सो तालिमपछि उनले थोरै भएपछि बचत गर्नुपर्ने रहेछ र गाउँघरमा उत्पादन भएको वस्तु बिक्री गरेर पनि आम्दानी गर्न सकिन्छ भन्ने कुरा सिकेर अगाडि बढेको बताइन्।
अहिले उनको बारीमा काउली, बन्दा, साग, सिमी र गोलभेँडा लटरम्म फलेका छन्। मासिक ३० देखि ४० हजार रूपैयाँको तरकारी बिक्री गर्ने गरेको उनले बताइन्। घरखर्चदेखि बचत गर्ने पैसा आफैले तरकारी बिक्री गरेर कमाउने गरेको उनले सुनाइन्।
घोराही-२ रामपुर पलासेका विपना चौधरी जागरण महिला समूहको सदस्य हुन्। उनी पनि पूर्वकमलरी नै हुन्। उनले अहिले समूहमा मासिक तीन सय रूपैयाँ बचत गर्छिन्। समूहमा बचत गरेको पैसालाई घुम्ती कोषमार्फत सबै सदस्यले पालैपालो लैजाने गर्दछन्। उनले संस्थाद्वारा सञ्चालित कृषि र उद्यमशीलताको तालिम लिएकी छिन्। तरकारी खेती गर्दा कसरी गर्ने, बीउ राख्दा केके कुरामा ख्याल गर्नुपर्छ भन्ने कुरा समूहमा बसेपछि थाहा पाएको उनले बताइन्।
उनले घुम्ती कोषबाट पैसा ल्याएर व्यावसायिक बाख्रापालन गरेकी छिन्। उनले एक बाख्राबाट सुरु गरेको व्यवसाय अहिले सात भएका छन्। उनले भनिन्, 'दुई वटा खसी २०/२० हजार रूपैयाँमा दसैँमा बिक्री गरेको हो।' यसैलाई व्यावसायिकरुपमा अगाडि बढाउने र ५० बाख्रा पुर्याउने लक्ष्य रहेको उनले बताइन्।
घोराहीका नगरप्रमुख नरुलाल चौधरीले मुक्तकमलरी विकास मञ्चले महिलालाई आयआर्जनमा जोडेर राम्रो काम गरेको बताए। महिला सचेत भएमा बालविवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्यका लागि सकारात्मक प्रभाव पर्ने भएकाले स्थानीय तहले गर्ने गरेका काममा सहयोगीको भूमिका खेलेकामा प्रशंसा गरे। उनले पूर्वकमलरी आयआर्जनमा लागेर जीवन नै परिवर्तन गरेको र आत्मनिर्भर भएको देख्दा खुसी लाग्ने बताए।
मञ्चले हाल घोराहीका वडा नं २, ४ र ८ मा आएइमको कार्यक्रम लागू गरेर महिलालाई स्वरोजगार बनाउन सहयोग गरेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले मुक्त कमलरीको पुनःस्थापनाका लागि ज्ञान केन्द्रले ध्यान दिएको बताए। कृषिसम्बन्धी कार्यक्रममा मुक्त कमलरीलाई पनि जोड्ने गरेको बताए।
तरकारी खेती गरेका मुक्त कमलरीलाई तरकारीमा लाग्ने रोग किराको घुम्ती शिविर राखेर जानकारी दिने, तरकारीको बीउ वितरण र किटनाशक औषधि सहयोग गर्ने गरेको उनले बताए। आयआर्जमा जोडिएर काम गर्न चाहने किसानका लागि सधैँ सकारात्मक भूमिका खेलेको उनले जानकारी दिए।
विसं २०७० असार १३ गते नेपाल सरकारले कमलरीलाई मुक्त घोषणा गरेको थियो। मुक्त भएपछि कमलरी सङ्गठित हुनुपर्छ भन्ने उद्देश्य लिएर मुक्त कमलरी विकास मञ्च नामको साझा संस्था स्थापना गरेका थिए मुक्त कमलरी आर्थिक समाजिकरुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ वटा सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम गरिरहेका छन्।
सहकारीमा १४ हजार सात सय २१ जना सदस्य रहेका छन्। सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारीखेती, कुखुरापालन, बङ्गुरपालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिए।
उनले मुक्त कमलरीका छोराछोरी आफ्ना बाबुआमा जस्तो दुःख नपाउन भन्ने उद्देश्यले सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्न खोजेको बताए। उनले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरे आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताए। महिलाले गर्दै आएका पेसा, व्यवसाय, कृषि, उद्यमशीलताका कामको अनुगमन गर्ने र सम्बन्धित कार्यालयका प्रमुखसँग समन्वयन गराउने गरेको उनले जानकारी दिए। रासस