दाङ- घोराही उपमहानगरपालिका-१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ। कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको छ। उपभोक्ताले समेत सस्तोमा ताजा तरकारीलगायतका कृषि उपज उपभोग गर्न पाएका छन्।
जिल्लाका किसानले विगतमा आफ्नै हिसाबले, तरकारी, फलफूललगायत बेच्ने गरे पनि अहिले कृषि उपज केन्द्र सञ्चालनमा आएपछि किसानलाई सजिलो भएको केन्द्रमा तरकारी किनमेलका लागि पुगेकी स्थानीय पद्मा खड्काले बताइन्। उनी हरेक दिन बिहानको समयमा यहीँ नै तरकारी लिन आउने गरेको बताउँछिन्।
'बाहिर तरकारी किनमेल गर्दा महँगो पर्ने हुँदा हरेक दिन ताजा तरकारी लिन आउने गरेका छु', उनले भनिन्, 'कृषि उपज केन्द्रले हामीजस्ता उपभोक्ता र दुःख गर्ने कृषकलाई सजिलो बनाइदिएको छ।'
यहाँ बिचौलिया हाबी हुन नपाउँदा किसानले आफ्नो कृषि वस्तुको मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा किनमेल गर्न सकिने हुँदा निकै सहज भएको उनको भनाइ छ। बिहान हिँड्दा स्वास्थ्यलाई पनि फाइदा पुग्ने र तरकारी पनि ताजा लैजान पाउने गरेको उनले बताइन्।
रोल्पाका किसान धनबहादुर रोकाले अन्त सस्तोमा व्यापारीले खोज्ने हुँदा यहाँ आफूले भनेकै मूल्यमा तरकारी बेच्न पाउने गरेको बताए। रोकाले अहिले घोराही-४ मा तरकारी खेती गर्दै आएका छन्। बाहिरको मूल्यभन्दा पाँच-दश बढीमा बिक्री गर्ने गरेको उनको भनाइ छ।
यस याममा तरकारीले मूल्य पायो भने मासिक दुई लाख बढी आम्दानी गर्न सकिने उनी बताउँछन्। अहिले दुई बिघामा तरकारी खेती गर्दै आएको उनको भनाइ छ। कृषि उपज बिक्री केन्द्रमा आफ्नो उत्पादन राम्रै बिक्री हुँदै आएको उनले बताए।
'घरमा फलाएको काउली, बन्दा, गोलभेँडा, साग, खुर्सानी बेच्न ल्याउने गरेको छु, ल्याएको जति सधैँ बिक्री हुन्छ, कहिलेकाहीँ मात्रै बच्ने गर्दछ', रोकाले भने। आफूजस्तै धेरै किसानलाई सहज भएको उनी बताउँछन् । सोही ठाउँका हरि खत्री पनि आफूले उत्पादन गरेको वस्तु बिक्री गर्न आउने गरेको बताए। धेरै खेती नभए पनि यस ठाउँमा बिक्री गर्न समस्या नभएको उनी बताउँछन्।
ताजा र सुपथ मूल्यमा पाउँदा उपभोक्ता पनि खुसी हुने गरेका छन्। उनले व्यावसायिकरूपमा खेती नगरे पनि घरमा खाएर बचेको तरकारी केन्द्रमा बेच्न ल्याएको बताए।
कृषि उपज केन्द्रमै भेटिएका घोराही-१८ रानिजरुवाका किसान अमर खत्रीले पनि १२ कठ्ठामा टमाटर खेती गर्दै आएका छन्। आफूले उत्पादन गरेको टमाटर आफ्नै मूल्यमा बेच्न पाउँदा सहज भएको उनले बताए। यसअघि उनले भारतमा पनि टमाटर खेती गरेका थिए।
कृषि उपज केन्द्र सञ्चालनमा आएदेखि किसान र उपभोक्ता दुवैलाई सहज भएको उनको अनुभव छ। यहाँबाट किसानले लगानीअनुसारको मूल्य पाएका छन् भने उपभोक्ताले पनि सस्तोमा पाएका छन्। जिल्लाका धेरै नागरिक कृषि पेसा गर्दै आएका छन्। किसानले यहाँबाट तरकारी, फलफूल बिक्री गरेबापत दैनिक १० केन्द्रलाई बुझाउने गरेका छन्।
घोराही-१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि ग्रामीण क्षेत्रका किसानलाई घर-घरमै पुगेर तरकारी बिक्री गर्न समस्या भएकामा अहिले भने सहज भएको बताए।
यहाँबाट किसानले उत्पादन गरेको कोभी, टमाटर, साग, मुला, दाललगायत विभिन्न कृषि उपजले बजार पाएको छ भने उपभोक्ताले पनि ताजा र सुपथ मूल्यमा पाउन सकेका छन्। किसानले आफूले मेहनत गरेर उत्पादन गरेको वस्तुले सहजरूपमा बजार पाएको हुँदा यसमा बिचौलिया हाबी नभएकाले उपभोक्ता पनि ठगिनबाट बचेको उनको भनाइ छ। रासस