तेह्रथुम- म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेकी छिन्। आठ वर्षअघि श्रीमानको मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी उनको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ।
एउटा सारी बुनिसक्न उनलाई सातदेखि १० दिन लाग्छ। बाक्लो बुट्टा भएको सारी बुन्न १० दिन र पातलो बुट्टा भएको सारी बुन्न सात दिन लाग्ने गरेको उनको भनाइ छ। बजारमा एउटा सारीको मूल्य छ हजारदेखि १३ हजार रूपैयाँसम्म पर्दछ। सामान्य लेखपढ गरेकी लिम्बूले ढाकाको सारी बुनेरै मासिक २२ हजार रूपैयाँ नाफा निकाल्ने गरेको बताइन्। 'सानो हुँदा पढिएन, अहिले यही सारी बुन्यो यसैले आमा छोराको गुजारा चलिरहेको छ', लिम्बूले भनिन्।
उनीजस्तै सोही टोलमा डेरा गरी बस्ने ३८ वर्षीया एकल महिला कुमारी राई पनि ढाकाको सारी बुनेरै गुजारा चलाउँदै आएकी छिन्। सात वर्षयता श्रीमान् हराएपछि आठवर्षे छोरोको अभिभारा एक्लै उठाएकी उनले ढाकाको सारी बुनेरै कक्षा छोरोको पढाइ खर्च पुर्याएकी छिन्। डेरा भाडा तिरी मासिक खर्च गरी मासिक रुपमा पाँचदेखि १० हजार रूपैयाँसम्म बचत गर्ने गरेको उनको भनाइ छ।
सङ्खुवासभा मादी मूलखर्ककी उनले म्याङलुङ आएर नवीन विकास ढाका कपडा उद्योगमा ढाका बुन्न सिकेकी थिइन्। सुरुमा ढाकाको गलबन्दी ज्यालामा बुन्न सुरु गरिन्। त्यतिबेला आफूसँग पैसा नभएकाले ज्यालामै बन्नु परेको उनको भनाइ छ। 'पछि तानका सामानहरु किनेर ल्याएपछि कोठामा आफै बुन्न थालेँ। आफैले बुन्दा धेरै फाइदा हुने रहेछ', उनले भनिन्।
मेन्छ्यायेम गाउँपालिका-२ स्थायी घर भई म्याङलुङ क्याम्पस बीएड तेस्रो वर्षमा अध्ययनरत १९ वर्षीया सन्ध्या लिम्बू पनि बिहान क्याम्पस गएर दिउँसोको समयमा ढाकाको गलबन्दी बुन्ने गर्छिन्। गलबन्दी बुन्ने तान सानो हुने भएकाले कोठाको एक कुनामा सजिलै अट्छ। एक दिनमा एउटा गलबन्दी तयार हुने र यसमा ८०/९० को धागो लाग्ने उनी बताउँछिन्। उनका अनुसार बजारमा एउटा गलबन्दी दुई सय रूपैयाँमा बिक्री हुन्छ। शिक्षक सेवा आयोगको पनि तयारी गरिरहेकी उनले पढेर बचेको समयमा गलबन्दी बुन्ने गरेको र आफूलाई खर्च चलाउन घरमा पैसा माग्नु नपरेको बताउँछिन्।
उनीजस्तै अर्की सोही क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत सोनी लिम्बू पनि स्थानीय रेडियो मेन्छ्यायेममा प्राविधिकको काम गर्दै ढाकाको कोट, मेख्लीको कपडा बुन्ने गर्छिन्। प्रतिमिटर आठ सय रूपैयाँको दरले कोटको कपडा बिक्री गर्ने गरेको र त्यसले आफूलाई खर्च पुगेको उनको भनाइ छ।
म्याङलुङ बजार र आसपासका गाउँका अधिकांशको आयआर्जनको माध्यम बनेको छ ढाका कपडा बुनाइ। ढाकाको राजधानी भनेर चिनिने तेह्रथुमको म्याङलुङ बजारका अधिकांश घर, बजार छेउका तम्फुला, शाब्ला, तुम्बाहाङ्फे गाउँका प्रत्येक घरहरुका कोठा, सिकुवा, बार्दली, आँगनहरुमा ढाकाका तानहरु देखिन्छन्। पेसाकै रुपमा होस् या अन्य काम गरेर फुर्सदको समयमा यहाँका अधिकांश महिलाले ढाकाको टाई, टोपी, गलबन्दी, कुर्ता सुरुवाल, लुङ्गी, सारी बुनेर बजारमा बिक्री गर्ने गर्छन्।
म्याङलुङ बजारको टुँडिखेलमा यसै वर्ष ढाका बुन्दै गरेको महिलाको स्तम्भ निर्माण गरिएको छ। तेह्रथुमका ढाका बुन्नेहरुको सम्मानस्वरुप र तेह्रथुमको ढाकाको पहिचान झल्काउने उद्देश्यले प्रदेश सरकार र म्याङलुङ नगरपालिकाको १० लाख रूपैयाँमा स्तम्भ निर्माण गरेको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताए।
तेह्रथुम उद्योग वाणिज्य संघका अध्यक्ष राजीव ढुङ्गानाका अनुसार म्याङलुङबाट वार्षिक एक करोड मूल्य बढीको ढाकाको कपडा जिल्लाबाहिर निर्यात हुने गर्दछ। तेह्रथुमबाट अलैँची, अदुवा र अम्लिसोपछि सबैभन्दा बढी ढाका कपडा जिल्ला बाहिर निर्यात हुने गरेको अध्यक्ष उनको भनाइ छ। म्याङलुङ नगरपालिका रोजगार संयोजक नवीन खतिवडाका अनुसार नगरपालिकामा अहिले उद्योग र निजी तानमा गरी झण्डै पाँच हजार जनाले ढाका बुन्ने काम गरिरहेका छन्।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रदीप पौडेलका अनुसार कार्यालयमा अहिले एक सय ५५ वटा ढाका कपडा उद्योग दर्ता भएका छन् भने जिल्लामा नौ ओटा ढाका कपडाका पसल छन्। ढाकाको उत्पादन धेरै हुँदा बजारको समस्या रहेको स्थानीय व्यवसायी भुवन नारायण श्रेष्ठ बताउँछन्।
उनी भन्छन्, 'पहिला छिमेकी जिल्ला सङ्खुवासभा, ताप्लेजुङ, भोजपुर, इलामलगायत राजधानी काठमाडौंमा ढाकाका धेरै कपडा निर्यात हुन्थ्यो, अहिले ती ठाउँमा पनि उत्पादन हुन थालेपछि माग कम भएको छ।' सरकारले प्रत्येक कार्यालय र विद्यालयमा एक दिन मात्रै भए पनि ढाका कपडाको पोसाक अनिवार्य गर्ने हो भने बजारको समस्या नहुने उनको भनाइ छ।
म्याङलुङमा ढाकाको कपडा पसल सञ्चालन गर्दै आएकी उज्ज्वलता सुब्बा दैनिक २०/२५ हजार रूपैयाँको ढाका कपडा बिक्री हुने गरेको बताउँछिन्। उनका अनुसार म्याङलुङ बजार घुम्न आउने पर्यटक, पाहुनाहरु हुन् वा जिल्लाका कर्मचारी जिल्लाबाहिर जाँदा कोसेलीका रुपमा ढाका कपडा किनेर लैजाने गर्दछन्।
थोरै लगानीमा गर्न सकिने यस पेसाले स्थानीयस्तरमा रोजगारीको सिर्जना गरेको भएपनि बजारको अभावमा व्यवसायीहरु निराश देखिन्छन्। गाउँगाउँबाट स्थानीयस्तरमा हातले बुनेको ढाका कपडालाई विदेशी कपडाले प्रत्यक्ष प्रभाव पारेको छ। रासस