दोलखा- साहित्यिक पत्रकार संघको आयोजनामा दोलखाको सैलुङमा ‘कविता यात्रा’ आयोजना हुने भएको छ। दोलखाको सैलुङको पर्यटन प्रवर्द्धन गर्ने हेतुले साहित्यकारहरुको उपस्तिथिमा कविता यात्रा हुने वरिष्ठ साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले बताए।
यात्रामा विभिन्न विधाका वरिष्ठ साहित्यकारहरु तीन दिनका लागि दोलखा आउने छन्। दोलखाको चरिकोट हुँदै तामाकोशी किनारमा रहेको चर्णावतीधामको ज्येष्ठ नागरिक सेवा केन्द्रमा आगामी पुस ४ गते बेलुकी बास बसी भोलिपल्ट पुस ५ गते सैलुङको सय थुम्काको अवलोकन भ्रमण गरी सैलुङको थुम्कामा साहित्यकारहरुले आफ्ना रचना प्रस्तुत गर्नेछन्।
सैलुङमा रचना वाचनपश्चात् साहित्यकारको टोलीले कालापानी रात बिताउने छ भने पुस ६ गते सैलुङ गाउँपालिका-८ सैलुङ वडाको आयोजनामा हुने साहित्यिक कार्यक्रममा सहभागी हुनेछ। तीन दिनमा साहित्यकारहरुले नियात्रासहितका विभिन्न विधामा सैलुङको प्रचारप्रसारमा कलम चलाउनेछन्। यस कार्यक्रमको आयोजना गर्न विशेष पहल दोलखाका वरिष्ठ समाजसेवी सोभित उप्रेतीले गरेका हुन्।
कार्यक्रमले दोलखाको सैलुङलगायत विभिन्न स्थानको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले बताएको छ। कार्यक्रममा गायिका गायककोसमेत उपस्थित हुनेछ। साहित्यिक पत्रकार संघले यसअघिको इलाममा कविता यात्रा आयोजना गरेको थियो। रासस