शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

ब्याजदर घटाएर कर्जा विस्तार गर्न चार बैंक आक्रामक, समीक्षालगत्तै दोस्रोपटक घटाए निक्षेपको ब्याज

मंगलबार, मंसिर २६ २०८०
ब्याजदर घटाएर कर्जा विस्तार गर्न चार बैंक आक्रामक, समीक्षालगत्तै दोस्रोपटक घटाए निक्षेपको ब्याज

काठमाडौं- राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै चारवटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

समीक्षामार्फत ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ०.५ प्रतिशत बिन्दुले घटाएर ७ प्रतिशत कायम गरेको छ। नीतिगत दर १ प्रतिशतले बिन्दुले घटाएर ५.५ प्रतिशत र निक्षेप संकलन दर १.५ प्रतिशत बिन्दुले बढाएर ३ प्रतिशत कायम गरेको छ। 

सामान्यता बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक महिनाको मसान्तमा आगामी महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्छन् तर राष्ट्र बैंकले नीतिगत दरहरू परिवर्तन गरेमा बीचमै ब्याजदर परिवर्तन गर्न पाउने सुविधा रहेको छ। 

चार वाणिज्य बैंकले उक्त सुविधाको उपयोग गर्दै मंसिर अन्तिममै ब्याजदर परिवर्तन गरेका छन्। ब्याजदर परिवर्तन गर्ने वाणिज्य बैंकहरूमा एनआइसी एसिया बैंक, कुमारी बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंक रहेका छन्। 

यी चारवटै बैंकले राष्ट्र बैंकले दिएको १० प्रतिशतले ब्याजदर घटाउने सुविधाको उपयोग गर्दै मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन्।

माछापुच्छ्रे बैंकले आज मंगलबार साधारण मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले घटाएको छ। मंसिरका लागि १०.६ प्रतिशत ब्याजदर तोकेको माछापुच्छ्रे बैंकले बीचमै संशोधन गर्दै ९.६० प्रतिशतमा झारेका छ।

मौद्रिक नीतिको समीक्षालगत्तै कुमारी बैंकले पनि साधारण मुद्दती निक्षेपको ब्याजदर १०.०१ प्रतिशतबाट घटाएर ९.६१ प्रतिशत झारेको छ।

यस्तै एनएमबि बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर ९.७६ प्रतिशतबाट घटाएर ९ प्रतिशत कायम गरेको छ।

यसअघि प्रिमियम दुई प्रतिशत बिन्दुले घटाएको एनआईसी एसिया बैंकले पनि समीक्षालगत्तै साधारण मुद्दती निक्षेपको ब्याजदर संशोधन गरेको छ। मंसिर २४ गते एनआईसी एसिया बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर ८.९६ प्रतिशबाट घटाएर ८.६७ प्रतिशतले घटाएको छ। 

यी चार बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर घटेसँगै रेमिट्यान्स मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएका छन्। 

मंसिरमा दुईपटक ब्याजदर घटाएकाले पुस महिनामा यी बैंकहरूको कर्जाको ब्याजदर थप घट्ने देखिएको छ। एकै महिना दुई पटकसम्म ब्याजदर घटाउन पाउने सुविधाको उपयोग गर्दा पुसमा कर्जाको ब्याजदर घटाउन सकिने भएकाले यी बैंकहरूले साधारण मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

निक्षेपको ब्याजदर घट्नासाथ बैंकहरूको 'कष्ट अफ फण्ड' र आधार दर घट्ने भएकाले कर्जाको ब्याजदर पनि घट्ने गर्दछ। यी बैंकहरू ब्याजदर घटाएर कर्जा विस्तार गर्ने रणनीतिमा अगाडि बढेका छन्।


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०१४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend