आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै हाटबजार

images
मंगलबार, मंसिर २६ २०८०
images
कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै हाटबजार

हाटबजार सञ्चालनमा आएपछि उत्पादित कृषि उपजले बजार नपाउने हो कि भन्ने चिन्ता हटेको किसान बताउँछन्।

images
images

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहेका छन्। जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ।

images
images
images

यहाँ उत्पादन भएको सागको बजार माग बढी हुँदा कृषकलाई मागअनुसार पुर्‍याउन कठिनाइ भएको उनले बताए। आँबुखैरेनी गाउँपालिकाले वडा नं ३ मा हाटबजार सञ्चालनमा ल्याएपछि यस क्षेत्रका कृषकलाई कृषि उपजहरु बजारीकरणका लागि सजिलो भएको गुरुङले बताए।

images
images

'गत वर्षको फागुनदेखि हाटबजार सञ्चालनमा आएपछि कृषि उपज सामग्री बजारीकरणको माध्यम हाटबजार बनेको छ। हाटबजारबाटै कृषि उपज सामग्री बिक्री गर्न पाउँदा उपभोक्तालाई पनि सजिलो भएको छ', उनले भने। छिम्केश्वरीमा उत्पादित सामग्रीको माग उच्च हुन थालेपछि यहाँका कृषक हर्षित भएको उनको भनाइ छ। 

images
images

मह उत्पादक कृषक शेरबहादुर गुरुङले उत्पादित महले बजार नपाउने हो कि भन्ने समस्याको अन्त्य भएको बताए। उनले भने, 'मह कहाँ लगेर बेच्ने भन्ने चिन्ता छैन, हाटबजारबाटै छोपाछोप हुन्छ। कृषकका लागि हाटबजार कृषि सामग्री बेच्ने माध्यम बनेको छ।'

स्थानीय कृषक सङ्गीता गुरुङ, तिलबहादुर गुरुङ, आयमान गुरुङ र डिलकुमारी भुजेलले उत्पादित कृषि सामग्री बिक्री नभए गाउँपालिकाले खरिद गरिदिने निर्णय गरेपछि आफूहरु झन् उत्साहित भएको बताए। आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि सञ्चालन गरेको हाटबजार कृषकको सहयोगी बनेको त छ नै उपभोक्तालाई पनि एकैठाउँमा फरक फरक कृषि सामग्री खरिद गर्न सजिलो भएको छ।

गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। वार्षिक दश लाख ५० हजार रूपैयाँ भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो। गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनले बताए।

किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गरेको उनको भनाइ छ। उनले भने, 'गाउँपालिकाले सञ्चालन गरेको हाटबजारमा छिम्केश्वरीका सामग्रीको माग उच्च भएको पाएका छौँ। किसानले ल्याएको सामग्री बिक्री नभए हामी खरिद गरिदिन्छौँ।' यसले गर्दा कृषकलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने चुमानको भनाइ छ।

हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका सामग्री बिक्रीका लागि राखिन्छ। स्थानीयस्तरमा उत्पादित कृषि सामग्री सहज रुपमा बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यसहित हाटबजार सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। 

हाटबजारमा छिम्केश्वरीमा उत्पादित उपजहरु यहाँका सर्वसाधारणको रोजाइमा पर्न थालेको छ। समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित साग, मह, गुन्द्रुक, दाललगायत सर्वसाधारणको रोजाइमा परेको हो।

छिम्केश्वरीका कृषकले हाटबजारबाट एकैदिन एक लाख ७८ हजार छ सय रूपैयाँको कृषि सामग्री बिक्री वितरण गरेका छन्। सो वडाका अध्यक्ष सन्तोष गुरुङका अनुसार साग, मह, गुन्द्रुक, केराउ, सिमी, दाल, फर्सी, सखरखण्डाको माग उच्च रहेको छ। उनले भने, 'यहाँ उत्पादित साग र गुन्द्रुकको माग बढी छ। मागअनुसार पुर्‍याउनै सकिएको छैन। यहाँको हावापानीका कारण साग र गुन्द्रुक सर्वसाधारणको रोजाइमा परेको हो।' रासस


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend