काठमाडौं- बचतकर्ताको पाँच करोड रुपैयाँभन्दा बढी रकम लिएर भागेका आरक्ष बचत तथा ऋण सहकारीका अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी कमल न्यौपाने डेढवर्षदेखि फरार छन्। जसका कारण हिनामिना भएको रकम बचतकर्ताले फिर्ता पाउन सकेका छैनन्।
सहकारीका सीईओ कमल न्यौपाने अध्यक्ष शारदा आचार्यका श्रीमान् हुन्। तीन स्थानबाट कारोबार गर्दै आएको आरक्ष समस्याग्रस्त भएको छ भने अध्यक्ष र सीईओ फरार छन्।
एकै बचतकर्ताको ५० लाख रुपैयाँसम्म फसेको छ। अहिलेसम्म सीईओ र अध्यक्ष सम्पर्कमा नआएपछि बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन्।
गत २०७९ भदौ २ गतेदेखि फरार भएका दुवैजनाबारे काठमाडौं महानगरले ताकेता गरेर सहकारी विभाग हुँदै प्रहरीसम्म विषय पुर्याएको थियो। सम्पर्कमा नआएपछि काठमाडौं प्रहरी परिसर टेकुलाई काठमाडौं महानगरले छानबीन र खोजबीन गरिदिन पत्रसमेत काटेको थियो।
२०७९ भदौ ९ गतेसम्म खुलेको सहकारीमा अध्यक्ष र सीईओ फरार भएको सूचना पाएपछि अन्य सञ्चालकहरूले बचत फिर्ता गर्न नसक्ने सूचना सहकारीको कार्यलयमा टाँस गरेका थिए। आरक्ष सहकारीले सितापाइला, चाबहिल र माछापोखरीको बुद्ध मलबाट कारोबार गर्दै आएको थियो।
अहिलेसम्म आरक्षका ५ सय बचतकर्ता सम्पर्कमा महानगरको सहकारी विभागका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए। ‘अध्यक्ष र सीईओ सम्पर्कमा नआएपछि थप छानबीन गर्न प्रहरीको सहायता मागेका थियौँ,’ पोखरेलले भने।
तीनवटै शाखाबाट करिब ४ करोड रुपैयाँ हिनामिना गरेको प्रारम्भिक अनुमानसहित महानगरले प्रहरीलाई छानबीन र पक्राउ गर्न परिपत्र गरेको थियो। तर अहिलेसम्म पनि उनीहरू सम्पर्कमा आएका छैनन्।
आरक्ष सहकारीबाट बचत फिर्ता नपाउनेमा बौद्ध, जोरपाटी, नयाँ बसपार्क तथा सितापाइला क्षेत्रका सयौँ बचतकर्ता रहेका छन्।