आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई प्रतिगाईभैँसी २० हजार अनुदान

images
सोमबार, मंसिर २५ २०८०
images
उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई प्रतिगाईभैँसी २० हजार अनुदान

स्थानीयस्तरमा रोजगारीका सम्भावना बढाउँदै पशुपालक कृषकलाई व्यावसायिक बनाउन पशुपालनमा आकर्षित गर्न थालिएको हो।

images
images

पर्वत- पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने भएको छ। दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको हो। 

images
images
images

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन रिजालका अनुसार उन्नत जातका गाई वा भैँसी जुनसुकै खरिद गरेर दूध तथा पाडापाडी र बाच्छाबाच्छी उत्पादन गर्नेलाई प्रतिगाईभैँसी २० हजार रूपैयाँ अनुदान दिने निर्णय भएको छ।

images
images

'बढ्दो बसाइँसराइ, शिक्षा तथा रोजगारका लागि अधिकांश युवा सहर पस्न थालेका छन्। स्थानीयस्तरमा रोजगारीका सम्भावना बढाउँदै पशुपालक कृषकलाई व्यावसायिक बनाउन पशुपालनमा आकर्षित गर्न थालिएको हो', उनले भने।

images
images

रिजालका अनुसार योसँगै दूध उत्पादन बढाउने र गाउँगाउँमा संकलन केन्द्र बनाउने कार्यक्रम रहेको छ। लिमे पाराकोटे भैँसी र रैथाने जातका गाईपालन गर्दा कृषकलाई समेत फाइदा नहुने र बाह्रैमास बाह्य जिल्लाबाट दूध तथा दुग्धजन्य वस्तु आयात गर्नुपर्ने अवस्था भएपछि गाउँकार्यपालिकाको बैठकले कृषकलाई अनुदान दिने निर्णय गरेको उनको भनाइ थियो। 

पालिकाभित्र व्यावसायिकरुपमा पशुपालन गर्दै आएका अगुवा कृषक, कृषि फार्म वा कृषि सहकारी संस्था र कृषक समूहले जतिसुकै सङ्ख्यामा खरिद गरे पनि सङ्ख्याको हिसाबले अनुदान वितरण गरिने रिजालले जानकारी दिए।

यस अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ प्रोत्साहन गर्नुका साथै स्वयं कृषक र गाउँपालिका पनि दूध, घ्यु, दहीलगायत दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने तथा बाह्य क्षेत्रमा निर्यात गर्न सकिने गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले बताए। 'स्थानीय जातका गाईभैँसी पाल्न र उन्नत जातका गाईभैँसी पाल्न उही समय, उही मेहनत र उही प्रकारको दानापानी आवश्यक हुन्छ', उनले भने, 'एउटै खर्च लाग्ने भएपछि उन्नत जातका गाईभैँसी पालेर प्रशस्त आम्दानी गर्न सकिन्छ।'

अध्यक्ष गुरुङले चालु आवमा यो कार्यक्रमका लागि ६ लाख रूपैयाँ विनियोजन गरिएको र आगामी वर्षदेखि कृषकको मागका आधारमा बढाउँदै लैजाने बताए। उनले यस वर्ष ३० वटा उन्नत जातका गाई वा भैँसी खरिद गर्नेलाई २० हजार रूपैयाँका दरले वितरण गरिने जानकारी दिए। रकम अपुग भएमा अर्को वर्ष मिलान गर्नेगरी व्यवस्थापन गरिने उनको भनाइ थियो।

पालिकाले सूचना जारी गर्दै उन्नत गाईभैँसी खरिद गरेबापत कृषकलाई उपलब्ध गराउने अनुदान कार्यक्रम सञ्चालन मापदण्ड २०७७ बमोजिम त्यस्ता पशु खरिद गर्नुपुर्व गाउँपालिकाबाट स्वीकृत लिनुपर्ने जनाएको छ। खरिद गरेपछि निवेदन र कृषकको नागरिकता, खरिद गर्नुपूर्व लिइएको सिफारिस, वडाको सिफारिस, कम्तीमा तीनदेखि पाँच वर्ष गाईभैँसी व्यावसायिकरुपमा पाल्ने प्रतिबद्धतापत्र, बीमा पोलिसी तथा खरिद गरेको गाई वा भैँसीको तस्बिर उपलब्ध गराएर भुक्तानी लिन सकिने लेखा अधिकृतसमेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए।

यसअघि उक्त पालिकाले काठेगाई अर्थात् स्थानीय जातका गाईपालन गर्ने कृषकलाई सुत्केरी भत्तास्वरुप पाँच हजार रूपैयाँ उपलब्ध गराउँदै आएको थियो। धार्मिक तथा जैविक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिने स्थानीय जातका गाई लोप हुन नदिन विगत दुई वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको थियो। विहादीमा झन्डै पाँच सयको सङ्ख्यामा स्थानीय जातका गाईपालन हुँदै आएको पालिकाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, मंसिर २५ २०८०१४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend