गण्डकी- मंसिर १५ मा पोखरा महानगरपालिका-३३ भरतपोखरीको बर माझथरका सात युवा कास्कीकै मादी गाउँपालिका-१ स्थित सिकलेसको भ्रमणका लागि निस्किए। पछिल्लो समयमा बढ्दो पर्यटकको आगमनले चासो र चर्चा कमाएको सिकलेस सञ्चारमाध्यममा सुनेका उनीहरुको उद्देश्य त्यहीँ पुगेर त्यहाँको वातावरण प्रत्यक्ष अवलोकन गर्नु थियो।
मोटरसाइकलमार्फत यात्राको तय गरेका उनीहरुलाई घरबाट निस्कँदा कतै भिडभाडका कारण बस्ने ठाउँ नै पाइँदैन कि भन्ने चिन्ता पनि थियो। त्यसै चिन्ताले यात्राकै क्रममा त्यहाँका होमस्टे सञ्चालकलाई फोन गरी आफूहरू आउन लागेको जानकारी गराएको भ्रमण टोलीका सदस्य कमलप्रसाद पौडेलले बताए।
'बाटोबाटै फोन गरिएका कारण हामीलाई त्यहाँ पुगेर बस्न र खान धेरै सजिलो भयो', स्थानीय चण्डी माध्यमिक विद्यालयका शिक्षक रहेका उनले भने, 'त्यो दिन सिकलेस पुग्नेको ठूलै उपस्थिति थियो, स्थानीयवासीलाई व्यवस्थापन गर्न हम्मेहम्मे देखिन्थ्यो।'
आफूहरू पनि पहिलोपटक सिकलेस पुगेको बताउँदै पौडेलले सञ्चारमाध्यम एवम् विभिन्न सामाजिक सञ्जालमा सुनेको भन्दा पनि अझै रमणीय स्थान भएको बताए। सिकलेस जाने बाटो ठाउँ ठाउँमा निर्माणकै क्रममा रहेका कारण दुईपाङ्ग्रे सवारीसाधनमार्फत जाँदा होसियारीपूर्वक नै जानुपर्ने उनको सुझाव थियो। पर्यटकीय गाउँ र ठाउँलाई आन्तरिकरुपमा पनि प्रवर्द्धन आवश्यक भएको पौडेलले उल्लेख गरे।
उनले भनेजस्तै बढ्दो पर्यटकको आगमनले यहाँका पर्यटन व्यवसायी तिनको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा छन्। विगतका वर्षमा कोरोनाको महामारीले लामो समय सुनसानजस्तै बनेको सिकलेसमा देशका विभिन्न भागबाट पर्यटक आउन थालेसँगै यहाँको चहलपहल ह्वात्तै बढेको हो। सिकलेसमा गाउँमाथिका पदमार्ग क्षेत्रकासमेत गरी ४१ वटा होटेल सञ्चालनमा आइसकेको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए।
होटेलका साथै यहाँका झन्डै दुई दर्जन सङ्ख्याका घरवास (होमस्टे) ले यहाँ दैनिकरुपमा पर्यटकलाई खाने बस्ने सुविधा दिइरहेका छन्। आफ्नो मौलिक कला, संस्कृति तथा मनोरम प्रकृतिका कारण सिकलेसले स्वदेशी एवम् विदेशी पर्यटकलाई लोभ्याउने गरेको उनले बताए। सिकलेस समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा छ। वरिपरि हरियो वनजङ्गल रहेको यो गाउँमा चरा र वन्यजन्तुप्रेमी पनि रमाउने गरेका छन्। यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई लोभ्याउने गरेको छ।
पछिल्ला समयमा पर्यटकको आगमनले यहाँको पयर्उटन राम्रै प्रवर्द्धन भएको उल्लेख गर्दै वडाध्यक्ष गुरुङले आगामी दिनमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयले आफूहरूलाई सचेत गराएको बताए। 'पर्यटकको आगमनलाई लक्ष्य गरी यहाँको प्रकृति, संस्कृति र मौलिकता समेतको संरक्षण गर्दै उचित व्यवस्थापन गर्नु जरुरी छ', उनले भने, 'बढ्दो पर्यटकको आगमनमा समेत यहाँको सरसफाइ, प्राकृतिक एवम् सांस्कृतिक मौलिकता जोगाउन आजैदेखि लाग्नु अपरिहार्य देखिएको छ।'
लगभग चार सय कुरिया घरधुरी रहेको सिकलेस नेपालकै ठूलो गुरुङ गाउँ हो। सिकलेसमा ढुंगाले छाएको तथा ढुंगा छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर बस्ती छन्। सरसफाइमा निकै ध्यान दिइएका कारण बाटाघाटा तथा घर, चोकमा प्लास्टिक एवम् कागज केही नभेटिनु यहाँको विशिष्टता हो। यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिकलेस ईको ट्रेकभित्र पर्दछ। कला र संस्कृति बचाउनका लागि यहाँ गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिलि, हेकुचे, घुर्राजस्ता प्रतियोगितासमेत गराउने गरिएको छ।
संस्कृतिकै निरन्तरतास्वरुप सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिकलेसमा कायमै छ। परम्परागत हस्तकला व्यवसाय, राडिपाखी, थैलो, भाङ्ग्रा (रेँका), बख्खु र मान्द्रो, भकारी, डोकोडालो, नाम्लो र गुन्द्री उत्पादन आदिले पनि यहाँको मौलिकता बचाएको छ।
गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर पनि एक दिनमा पुग्न सकिन्छ। त्यसैले गुरुङ जातिको अध्ययन अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशीसमेत सिकलेस जाने गरेका छन्। त्यहाँ रहेको सिकलेस ईको म्युजियम पनि दर्शनीयस्थलका रुपमा विकास भएको छ। संग्रहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री राखिएको इको म्युजियम व्यवस्थापन समितिका अध्यक्ष हुमकुमारी गुरुङले बताइन्।
सङ्ग्रहालयमा आउने पर्यटकले हिमाली जीवन र संस्कृतिसँगै विभिन्न जडीबुटी आदिबारे पनि जानकारी लिन पाउँछन्। त्यहाँ आउने पर्यटकले गुरुङ पहिरन लगाएर तस्बिर खिच्ने गर्दछन्। संङ्ग्रहालयको व्यवस्थापनका लागि विदेशी पर्यटकसँग एक सय ५० रूपैयाँ, अन्य सर्वसाधारणसँग एक सय र विद्यार्थीसँग ३० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको उनको भनाइ थियो। सिकलेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन्।
सिकलेसबाट कापुचे हिमतालका साथै कोरिसम्म पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ। वडाध्यक्ष गुरुङका अनुसार सिकलेसबाट कापुचे, कोरीसम्मको पदयात्रा मार्गलाई केटु पदमार्गका रुपमा विकास गर्ने सोच राखिएको छ। यस पदमार्ग क्षेत्रका कापुचे, होगुँ, कोरी, पासाँलगायत स्थानमा होटेल पनि सञ्चालनमा आएको उनले जानकारी दिए।
सिकलेसबाट पहिलो दिन कापुचे हिमताल पुगेका पर्यटक दोस्रो दिन कोरी र तेस्रो दिन पुनः सिकलेस फर्कन सक्ने अध्यक्ष गुरुङले बताए। 'सिकलेसबाट तारहिलटप हुँदै तिइँ, कापुचेसम्मको नयाँ पदमार्ग समेत विकास गर्ने हाम्रो सोच छ', उनले भने, 'पदयात्राका क्रममा उक्त मार्गबाट देखिने धवलागिरिदेखि मनासलु हिमशृङ्खलासम्मका दृश्यलाई एकसाथ अवलोकन गर्न पाउनु यहाँको विशिष्टता हो।'
यस पदमार्गलाई मादी गाउँपालिका वडा नं ६ को थाक हिल, चिप्ली, मादीकै वडा नं १ को सिलाङ गाउँका साथै घलेखर्कबाट पनि जोड्न सकिने उनले जानकारी दिए। गुराँसैगुराँसले भरिएका यस पदमार्ग गुराँस फुल्ने समयमा अझै मनमोहक देखिने अध्यक्ष गुरुङले बताए। पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिकलेस जान काहुँ खोलामा जीप सहजरुपमा नै उपलब्ध हुन्छन्।
नेपालको १२ वर्षे द्वन्द्व अन्त्यका लागि तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा (माओवादी)का नेता पुष्पकमल दाहाल पहिलोपटक यही सिकलेसबाट सार्वजनिक बनेकाले यो शान्ति प्रक्रियाको उद्गमस्थलका रुपमा चित्रित भएको छ। गाउँपालिकाले यही गाउँमा शान्ति स्मारकसमेत निर्माण गरिसकेको छ। रासस