आइतबार, पुस ७ गते २०८१    
images
images

गाउँमै थुप्रिए करोडौँका सुन्तला, बाटो अभावले बजार पुर्‍याउन सकस

images
आइतबार, मंसिर २४ २०८०
images
images
गाउँमै थुप्रिए करोडौँका सुन्तला, बाटो अभावले बजार पुर्‍याउन सकस

विगतमा बारीबाटै डोकोमा बोकेर यहाँका किसानले सुन्तला नारायणगढ बजार क्षेत्र पुर्‍याउने गरेका थिए। नदीमाथि पुल नहुँदा यहाँका किसानको राजमार्गसम्म सिधै पहुँच पुगेको छैन।

images
images

डुम्रे- तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ। यो सुन्तला उत्पादनको पकेट क्षेत्र पनि हो। यहाँ उत्पादित करोडौँको सुन्तला बाटो अभावका कारण बजारसम्म पुर्‍याउन सकस हुने गरेको छ।

images
images
images

अहिलेको समयमा यहाँको मुख्य उत्पादन भनेकै सुन्तला रहेको स्थानीय बताउँछन्। देवघाट गाउँपालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको छ। देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भए पनि यहाँका ग्रामीण क्षेत्रमा पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन नै गाह्रो हुने गरेको स्थानीयको भनाइ थियो।

images

यहाँ उत्पादित सुन्तला सिधै काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा लग्ने गरिएको देवघाट-३ छापस्वरा लुम्रिङका किसान कर्णसिंह रानाले बताए। त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने गरेको उनले अनुभव सुनाए। रानाले लामो समयदेखि सुन्तलाखेती गर्दै आएका छन्।

images

तेह्र वर्षदेखि सुन्तालाखेती गर्दै आएका रानाले भने, 'हामीले यहाँ उत्पादन गरेका सुन्तला रोपवे (तुइन) र घुमाउरो बाटोको सहायता लिएर बजारसम्म पुर्‍याउने गरेका छौँ। बाटो अभाव र जटिलताका कारण यहाँ उत्पादित सुन्तला बजारसम्म पुर्‍याउँदा दोबर भाडा तिर्नुपर्छ।' विकट गाउँ भए पनि लुम्रिङबाट मात्रै करिब तीन करोड रूपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको उनले जानकारी दिए।

'यहाँबाट उत्पादित सुन्तला सिधै काठमाडौं पठाउछौँ। यहाँ उत्पादित सुन्तलाको माग उच्च भए पनि रोपवे र घुमाउरो बाटोका कारण ढुवानीमा निकै सास्ती हुने गरेको छ', रानाले भने, 'उत्पादन राम्रो भएकाले गाउँमा बस्ने वातावरण भने बनाएको छ।'

देवघाट-३ का सुग्रिड, छिपछिपे, छापस्वरा, दगरा, लुम्रिङमा अन्य स्थानमा भन्दाबढी सुन्तला उत्पादन हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं सुन्तला कृषक भीमबहादुर रानाले जानकारी दिए। उनका अनुसार यस वर्ष लुम्रिङ गाउँबाट मात्रै रू तीन करोडभन्दा बढीको सुन्तला निर्यात भएको छ। अन्य अन्नबाली उत्पादन कम भए पनि सुन्तलाले गाउँको पहिचान बनाएको उनको भनाइ थियो।

स्थानीय किसान व्यावसायिक सुन्तालाखेती गर्न थालेपछि गाउँमा युवापुस्ताको उपस्थिति देखिन थालेको भीमबहादुरले बताए। उनले भने, 'अन्य अन्नबाली उत्पादन नभएका यहाँका किसानमा पछिल्लो समय सुन्तला उत्पादन बढेपछि केही वर्ष यता आशा पलाएको छ।' छिपछिपे, छापस्वरा, लुम्रिङ, दगरा, गाईघाटलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेतो नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान निकै सास्ती हुने गरेको किसान भीमबहादुरले बताए।

किसान नवराज गुरुङले सुन्तला बेचेरै यहाँका केही किसान लखपती बनेको बताए। लुम्रिङका एकै घरबाट कम्तीमा २० रूपैयाँभन्दा बढीको सुन्तला उत्पादन गरी बिक्री हुँदै आएको उनले जानकारी दिए।

वार्षिक करोडौँको उत्पादन भए पनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुने गरेको किसान बताउँछन्। नदी पारी रहेको सडकसम्म सुन्तला पुर्‍याउनै सकस हुने कृषक कृष्णबहादुर गुरुङले बताए। बजारसम्म पुर्‍याउन अधिकांशले रोपवे तथा घुमाउरो बाटो प्रयोग गर्ने गरेका उनको भनाइ थियो। दमौली, पोखरा तथा काठमाडौंसम्म सुन्तला निर्यात गर्ने गरिएको गुरुङले जानकारी दिए। लुम्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाटमा पुल नहुँदा पनि सदरमुकाम दमौली हुँदै बजारसम्म सुन्ताला पुर्‍याउन सकिने उनले बताए।

भरिया वा घुमाउरो बाटोमार्फत दोबर भाडा तिरेर सुन्तला बजार पुर्‍याउँदै आइएको भीमबहादुरको भनाइ थियो। 'अहिले नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी हुँदै साराङघाटको मोटरेबल पुलको बाटो प्रयोग गरी दमौली तथा काठमाडौंसम्म सुन्तला पठाउने गरेका छौँ', उनले भने।

यसरी गुमाउरो बाटो प्रयोग गर्दा किसानले दोबर भाडा तिर्नु परेको गुरुङले बताए। 'केही किसानले मुग्लिङ-नारयणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट भरियामार्फत झोलुंगे पुल तारेर राजमार्गसम्म ल्याउने गर्दछन्', उनले भने, 'आँपस्वारा दगराका कृषकले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौं लेजाने गरेका छन्।'

नाल्दी र गाईघाटमा पुल भएको भए यहाँ उत्पादित सुन्तला ढुवानीमा सहज हुने गुरुङको भनाइ थियो। 'पुल नहुँदा ढुवानी खर्च दोबर तिर्न बाध्य छौँ। नाल्दीमा पुल निर्माणको योजना परेको थियो। तनहुँ जलविद्युत् आयोजनाको तल्लो सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पुल पर्ने भएकाले उक्त योजना पनि स्थगित भएको छ।' पुल र व्यवस्थित सडक नहुँदा यहाँका किसानले तुइनको प्रयोग गर्न बाध्य भएका उनले बताए।

यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल तुइनबाट नै राजमार्गसम्म पुर्‍याएर बजारसम्म पुर्‍याउने गरिएको गुरुङले जानकारी दिए। साथै बाख्रा, कुखुरा तथा अन्य पशुपक्षीका लागि दाना तथा चोकर पनि तुइनबाट नै ल्याउने गरिएको उनले बताए। छापस्वारामा करिब ६० घरपरिवार रहेका छन्। 

ढुवानीमा समस्या 

उत्पादित सुन्तला बजार पुर्‍याउन तथा दैनिक खाद्यान्न गाउँसम्म ल्याउने/लैजाने मुख्य ढुवानीको माध्यम भनेको घुमाउरो बाटो र तुइन मात्रै हो। यस क्षेका स्थानीय अप्ठ्यारो र त्रासपूर्ण यात्रा गर्न बाध्य छन् भने उनीहरुले ढुवानीको समस्या भोग्दै आएका छन्।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं सुन्तला कृषक रानाले भने, 'सेती नदीमाथि पुल हालेर गाउँसम्म मोटरबाटो सहज बनाउन पाए गाउँलेलाई सहज हुन्थ्यो। मोटरबाटो नहुँदा जोखिम मोलेरै सामान ढुवानी गर्नुपर्छ। कहिलेकहीँ त सामान तुइनबाट झरेर क्षति हुन्छ।'

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले गाउँपालिका तीनतिरबाट नदीले घेरिएकाले निकै समस्या भएको बताए। यहाँका ग्रामीण भेगलाई जोड्न पक्की पुल निर्माण गर्नुपर्ने अवस्था छ। नदीमा पुल नहुँदा ढुवानी र गाउँपालिकासम्म आउनका लागि सकस हुने गरेको उनको भनाइ थियो।

अध्यक्ष थापाले ग्रामीण क्षेत्रलाई सहज बनाउन सेतीमादी नदीमाथि नाल्दीघाटदेखि लुम्रिङसम्म जाने ग्रामीण सडकलाई पालिकाले सुन्तला मार्गकै नामकरण गरी बजेट विनियोजन गरेको जानकारी दिए। उनका अनुसार गाउँपालिकाकै स्रोतबाट सडक सञ्जाल जोडिए पनि पुल नहुँदा राजमार्गसम्म समान ढुवानी गर्न समस्या भइरहेको छ।

अध्यक्ष थापाले यस्ता ग्रामीण क्षेत्रसँग जोडिएका बस्तीलाई सहज बनाउन संघीय सरकारले नै चासो दिनुपर्नेमा जोड दिए। कृषि क्षेत्रलाई प्रोत्साहन गर्न सामूहिक तवरबाट अनुदानको कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

नर्सरीका लागि ३० लाख रूपैयाँ विनियोजन गरिएको जनाउँदै अध्यक्ष थापाले काफलडाँडामा सुन्तला नर्सरी स्थापना गरिएको बताए। उनका अनुसार देवघाटका १, २, ३ र ४ नम्बर वडाका विभिन्न भाग सुन्तला उत्पादनको पकेट क्षेत्र हुन्। 

विगतमा बारीबाटै डोकोमा बोकेर यहाँका किसानले सुन्तला नारायणगढ बजार क्षेत्र पुर्‍याउने गरेका थिए। नदीमाथि पुल नहुँदा यहाँका किसानको राजमार्गसम्म सिधै पहुँच पुगेको छैन। यसले गर्दा विचौलियामार्फत दमौली, मुग्लिन, नारायणगढ र काठमाडौंसम्म सुन्ताला पुर्‍याउन घुमाउरो तथा रोपवे प्रयोग गर्नुपर्दा स्थानीयले उचित फल पाउन सकेका छैनन्। रासस


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend