शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

घट्दो ट्रेण्डको सेयर बजार राष्ट्र बैंकको नरम नीतिसँगै सकारात्मक बन्ला?

आइतबार, मंसिर २४ २०८०
घट्दो ट्रेण्डको सेयर बजार राष्ट्र बैंकको नरम नीतिसँगै सकारात्मक बन्ला?

काठमाडौं- नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षामा सेयर कर्जामा नरम देखिएसँगै दोस्रो बजार सकारात्मक हुने अपेक्षा गरिएको छ। लगानीकर्ता पनि पनि उत्साहित देखिएका छन्।

सेयर कर्जाकाे जाेखिम भार मात्र नभएर ब्याजदर घटाउने गरी नीतिगत दरसमेत घटाएकाले सेयर बजार सकारात्मक हुने अनुमान विश्लेषकहरुले गरेका छन्।

राष्ट्र बैंकको पहिलो मौद्रिक समीक्षामार्फत ५० लाखभन्दा बढी सेयर कर्जाको जोखिमभार १५० बाट १२५ मा झारेको छ। यस व्यवस्थाले सेयर बजारको क्षेत्रमा कर्जा प्रवाह बढ्ने देखिएको छ। योसँगै सेयर बजार बढ्ने अपेक्षा गरिएको छ।

२०७८ सालको मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जामा जोखिमभार १०० बाट बढाएर १५० प्रतिशत पुर्‍याएको थियो। उक्त व्यवस्थालाई पुनरावलोकन गर्दै राष्ट्र बैंकले १२५ प्रतिशतमा झरेको छ। जोखिमभार घटेकाले पुँजी कोषमाथिको दबाब पनि कम हुने भएकाले उक्त क्षेत्रहरूमा कर्जा लगानी बैंक वित्तीय संस्थाको प्राथमिकतामा पर्ने भएको छ।

उतारचढावबीच निरन्तर ओरालोमा देखिएर बुधबार सम्हालिएको सेयर बजारमा बिहीबार सामान्य अंकको वृद्धि देखिएको थियो। केही दिन वृद्धि र केही दिन गिरावट भइरहेको सेयर बजार लगातार ७ कारोबारमा घटेर आठौँ कारोबारमा बुधबार सामान्य वृद्धितर्फ देखिएको थियो। बिहीबार पुनः बजार हरियाली बनेको थियो।

बिहीबार ११.७३ अंकको वृद्धिसँगै बजार १८५२.७७ बिन्दुमा पुगेको छ। १७५ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ। गएको केही सातायता एक अर्ब आसपास भइरहेको कारोबार बिहीबार झन्डै तीन अर्ब पुगेको हो।

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसेकोमा अहिले १८०० बिन्दुनजिक तलमाथि भइरहेको छ। बिहीबार सेयर कारोबार रकम बढेर २ अर्ब ७९ करोड रुपैयाँमा उक्लिएको थियो। यो साढे दुई महिनायताकै सबैभन्दा बढीको कारोबार हो। गत असोज ४ गते बिहीबार नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार ३ अर्ब २९ करोडको कारोबार भएको थियो।

अघिल्लो साता १८५८ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता १८५२ अंकमा झरेको छ। आइतबार ७, सोमबार ४ र मंगलबार १० अंक घटेको बजार बुधबार ३ र बिहीबार १० अंकले बढ्यो। गत साताको पछिल्ला दुई दिन बजार सकारात्मक भएसँगै आगामी साता पनि त्यसले निरन्तरता पाउने अपेक्षा लगानीकर्ताको छ। यता राष्ट्र बैंकको नरम नीतिले पनि सेयर बजारको अंक सँगै कारोबार पनि बढ्ने अनुमान गरिएको छ। 

अघिल्लो साता ५ दिन खुलेको बजारमा कुल ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यो साता पनि ५ दिन खुलेको बजारमा ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भयो। 

ब्याजदर घटाउन नीतिगत दर पनि घट्यो

मौद्रिक नीतिको पहिलो समीक्षामार्फत नीतिगत दर घटाइएको छ। त्रैमासिक समीक्षामार्फत यसअघि ६.५ प्रतिशत रहेको नीतिगत दर घटाउँदै राष्ट्र बैंकले ५.५ प्रतिशत कायम गरेको छ। यस्तै बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गरेको छ। योसँगै ब्याजदर पनि घट्ने छ। जसका कारण पनि सेयर बजार सकारात्मक हुने अनुमान गरिएको छ।

राष्ट्र बैंकले निक्षेप संकलन दर पनि १.५ प्रतिशतले घटाएर ३ प्रतिशतमा कायम गरेको छ। साथै अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत् राखेको छ।

पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई थप लचिलो बनाइएको राष्ट्र बैंकले जनाएको छ। जसबाट आन्तरिक आर्थिक स्थिति सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकको छ।


प्रकाशित : आइतबार, मंसिर २४ २०८००७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend