कोरोना सुरु भएपछि पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भयो। व्यवसाय शून्यकै अवस्थामा पुग्यो। श्रमिक कामदारहरू बेरोजगार भए। त्यो महामारी मात्र थिएन त्यसबाट व्यवसायीहरूका लागि अरु धेरै खराब कुरा भएको थियो।
पछिल्ला दुई वर्षमा जे-जति खराब अवस्था झेल्नपर्ने थियो त्यो सबै झेल्यो पर्यटन क्षेत्रले। समग्र मानव सभ्यतामाथि नै चुनौती दिएको महामारीका कारण उद्योग व्यवसाय, रोजगारी जस्ता क्षेत्र प्रभावित भए। यसमध्ये सबैभन्दा धेरै प्रभावित मान्छेको यात्रा व्यवस्थापन गराउने व्यवसायहरू भए।
यस्तो खराब अवस्था अहिलेको पुस्ताले सायद पहिलोपटक भोग्यो। हरेक व्यक्तिका लागि यो खराब समय थियो। तर कुनै पनि कुरा अनन्त खराब हुन सक्दैन। सही ट्रयाकमा आउँछ अझ नयाँ भएर पनि आउन सक्छ।
कोरोना प्रभावबाट हामी जतिसुकै प्रभावित भए पनि अहिले विस्तारै न्यूनीकरण हुँदै आएको छ। संसारका सयौँ देशमा कोरोनाविरुद्धको खोप अभियानका कारणले जनजीवन सामान्य हुँदै आएको छ। कतिपय देश त कोरोनाभन्दा पहिलेको जस्तो अवस्थामा पुगिसके। नेपालमा पनि खोप अभियानले राम्रै गति लिएको देखिन्छ।
पछिल्लो सरकारी तथ्यांकअनुसार ९२ लाखले एकल डोज खोप लगाएका छन्। ४८ लाख व्यक्तिले दोहोरो डोज लगाएका छन्। यो तथ्यांकअनुसार आधा जनसंख्याले खोप लगाइसकेको छ। यो हाम्रा लागि सुखद संकेत हो।
खोप अभियानसँगै सरकारले यसअघि नै गरेका केही निर्णयका कारणले गर्दा पर्यटन तथा पर्यटनसँग व्यवसायहरू विस्तार लयमा फर्किन लागेका छन्।
अनअराइभल भिसा दिने, क्वारेन्टिन बस्न नपर्नेजस्ता नीति आए। यसले गर्दा पर्यटनको सम्भावना बढ्यो। व्यवसायीले काम गर्न पाए।
यस्तो नीति आउनुपहिले हाम्रोभन्दा खराब अवस्था भएका सयौँ मुलुकमा व्यवसायले गति लिन लागिसक्दा पनि यहाँका व्यवसायीले काम गर्नै पाएका थिएनन्। ढिलैगरी भए पनि सुरु भएको सरकारी अग्रसरताले काम गर्ने अवसर दियो।
सरकारको त्यो नीतिगत खुलापनपछि व्यवसायीहरूले अहिले नै ह्वारह्वार्ति पर्यटक ल्याउन थालेका भने होइनन् र छैनन्। अवस्था त्यस्तो सामान्य भएको छैन। खास कुरा व्यवसाय सञ्चालनका लागि लामो समयदेखि व्यवसायीहरूले तयारी नै गर्न पाएका थिएनन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जालसँग सम्पर्क टुटेको थियो। अहिले त्यो जोड्ने काम भइरहेको छ। धेरैले यस्तो तयारी गरिरहेका छन् जो मार्केटिङ पनि हो।
नेपाल गन्तव्यका प्याकेज बन्न थालेका छन्। यस्ता प्याेकज अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि खुला छन्। जसबाट अन्तत: पर्यटक आउने बाटो खुलेको छ।
विदेशी पर्यटक केन्द्रित व्यवसायहरू यस्तो तयारीमा छन्। तर आन्तरिक आवतजावत तथा पर्यटन केन्द्रित व्यवसाय तथा गन्तव्यमा भने चहलपहल बढीसकेको छ। काठमाडौं लगायतका सहरमा भएका रेष्टुरेन्टहरू सायद आफ्नो सामान्य व्यापारको अवस्थामा पुगेका छन्।
त्यस्तै नगरकोट, धुलिखेल, पोखरा र चितवनमा नेपालीहरू नै राम्रोसँग पुगेका छन्। यसले हाम्रो घरेलु पर्यटन बलियो हुँदै गरेको पनि देखाउँछ।
तर आन्तरिक पर्यटनको एउटा बेफाइदा छ। यसबाट सप्ताहन्तमा मात्र व्यापार दिन्छ। शुक्रबार र शनिबार मात्र नेपालीहरू घुम्न निस्किन्छन्। तर अरु दिन भने अहिले पनि कमजोर बुकिङ पाइरहेका छन्।
अहिलेसम्म जे जति भएको छ यसलाई बुस्ट गर्न सकिने केही आधारहरू छन्। हामीसँग धेरै सम्भावना छन्। यसका लागि सरकारले केही गर्नुपर्छ।
अहिले पर्यटन व्यवसायीहरूले आफ्नो काम गरिरहेका छन्। होटल, एयरलाइन्स तथा ट्राभलहरूले आफ्नो ठाउँमा काम गरिरहेका छन्। तर एक अर्कामा समन्वय छैन। सरकारमै पनि अन्तरसरकारी समन्वय छैन। त्यो समन्वय गरिदिने काम सरकारले गर्नुपर्छ। यसमा राष्ट्रिय रणनीति चाहिन्छ। सरकारले भनिदिएपछि सबैले गर्छन्। त्यसबाट प्रतिफल मिल्छ।
रणनीति किन चाहिन्छ? स्पष्टताका लागि चाहिन्छ। अर्को कुरा सरकारको एउटा कुनै निकायले भनेपछि एउटा क्षेत्रले मात्र मान्छ। तर अर्को क्षेत्रका लागि अर्को निकायले भन्छ। तर यसमा रणनीति भयो भने सबैका लागि स्पष्ट मार्गनिर्देशन हुन्छ।
अहिले हामीले पर्यटनका लागि तयार छौँ भनेर सन्देश दिनुपर्छ। सरकारको बजेटले एक महिना विदेशी पर्यटकलाई भिसा फ्रि भनेको थियो विष्णु पौडेलले बजेट ल्याउँदा। तर त्यो अहिलेसम्म लागू भएन। १० दिन पर्यटन काज भनेको पनि भएन। सरकारले बोलेको मात्र पूरा गरेको भए धेरै राहत हुन्थ्यो होला। अहिले पनि घुमिरहेका छन्। तर स्किम पाउँदा अझै घुम्थे होलान्। अहिले सप्ताहन्तमा मात्र भ्रमण भइरहेको छ। अरु दिनमा पनि घुम्नका लागि यो काजको विषय प्रभावकारी हुने थियो।
अब पहिलेजस्तो मार्केटिङमा शैलीमा चल्दैन। पहिले भौतिक सुविधामात्र केन्द्रित हुन्थ्यो। तर अहिले हामीले कोभिडसँग कसरी जुधेका छौँ? भन्ने कुरा पनि हुन्छ। यसका लागि पनि जोडिनुपर्छ। हामीले यसमा के गरेका छौँ भनेर हेर्नुपर्छ। कोभिडसँग जुध्न तयारी के गरेको छ भनेर कोही पनि आउँदैन। हाम्रो देशले विश्व स्वास्थ्यको मापदण्ड पालना गरेको छ कि छैन। अरु तयारी के छन् भनेर पर्यटकले खोज्छन्। यसले गर्दा विश्वास सिर्जना गर्छ। रणनीतिमा यस्ता कुरा आउनुपर्छ। नेपाल पर्यटक ल्याउँदा हामीले यी यी काम गर्छौं भनेर गर्नुपर्छ। नत्र पर्यटक आउनेवाला छैनन्। स्वास्थ्य क्षेत्र राम्रै भएको छ। सबै कुरा छ। तर पर्यटन तथा अर्थतन्त्रमा अझै समस्या छन्। यसमा रणनीतिक योजना चाहिन्छ।
अन्तर्राष्ट्रिय पर्यटन अझै लयमा आउने सम्भावना छैन। पछिल्लो समय फेरि युरोपमा प्रभाव देखिन थालेको छ। २०२४/२५ मा एउटा मेघा इभेन्ट चाहिन्छ। त्यसमा हामीले हाम्रो शाहासिक पर्यटनलाई फोकस गर्न सक्छौँ। यसका लागि जस्तो, लुम्बनीबाट सगरमाथा आधारशिवरमा म्याराथन जाने। तिलिचो ताल छ महिना फ्रिज हुन्छ। हिउँ पर्दछ। त्यहाँ आइस हक्की खेल्ने। अन्तर्राष्ट्रिय आइस हक्की संघ यसमा खेलाउन तयार छ। २०२० मा जे भनेका थियौँ त्यो भएको छैन। त्यो हामीले गर्नुपर्नेबेला भइसक्यो। अब गर्ने सही समय हो।
अझै पनि संसारका ठूला देशले ट्राभल एड्भाइजरीमा राखेका छन्। त्यो कुरा सरकारले हटाउन पहल गर्नुपर्छ। राजनीतिक नेतृत्वले यसमा पनि ध्यान दिनुपर्छ। आजको दिनमा दुबईबाट त्यहाँ काम गर्ने मान्छेहरू नेपाल आउन तयार छन्। अनलाइनमा हेर्यो भने सीसीएमसीको कागज खोज्छ दुबई एयरपोर्टमा। तर हाम्रो देशमा यो संरचना नै छैन। यत्ति कुरा त सरकारले समाधान गर्नुपर्छ। हाम्रो दूतावासले काम गरेको छैन। अहिले भ्याक्सिन लगाएको मान्छे क्वारेन्टिन बस्न नपर्ने भन्ने छ। तर सरकारको वेबसाइटमा अझै पनि क्वारेन्टिन बस्नुपर्ने भन्ने सूचना छ। त्यस्तो कुरा त हटाउनुपर्छ। सीसीएमसी नै खारेज भए पनि हटाउँदैन। विदेशीहरूले हामीलाई सोध्छन् भ्याक्सिन लगाएपछि क्वारेन्टिन बस्न पर्छ कि पर्दैन भनेर सोधीखोजी गर्छन्।
रणनीतिक योजनाबाट सरकारले यस्ता कुरामा काम गर्नुपर्छ।
अहिले भारतबाट मान्छेहरू आउन थालेका छन्। भारतीयहरूलाई धेरै देशमा भिसा दिँदैनन्, त्यसैले उनीहरू यहाँ आइरहेका छन्। चिनियाँहरू पनि यस्तैगरी आउन चाहेका छन्। तर चीनले नै आउन दिएको छैन। यसमा पनि सरकारी पहल छैन।
अहिले त खासमा आन्तरिक पर्यटनले नै धानिरहेको छ। त्यो त हाम्रो पर्यटन काज लागू गरिदिए पनि धेरै हुन्थ्यो। त्यसको कार्यविधि मात्र बनाइदिए हुने थियो।
सरकारले २०२४ मा ठूलो इभेन्ट गर्ने योजना बनाएर सरकारले यो गर्छौं भनिदियो भने संसाभर एउटा सन्देश जान्छ। संसारका मुख्य पर्यटकीय गतिविधि खुलिसके। थाइल्यान्ड र भारत खुलिसके। हाम्रोमा केही पनि छैन। यहाँ उडान बढेको बढ्यै छ। अन्तर्राष्ट्रिय उडान लगभग पूर्ण जस्तै भइसक्यो।
होटलको अकुपेन्सी अहिले १० प्रतिशत जति छ। सप्ताहन्तमा धेरै छ। पर्यटकीय ठाउँमा कोठा पाउन गाह्रो छ। हप्तामा २ दिनका लागि ब्यापार यस्तो छ। पाँच दिन भने अहिले खासै व्यापार छैन।