काठमाडौं- कोरोना महामारीपछि सबैभन्दा प्रभावित भएको क्षेत्र हो पर्यटन। आवतजावत नै बन्द भएको यो क्षेत्रबाट हुने आम्दानी तथा रोजगारी मात्रै गुमेन अर्थतन्त्र नै मारमा परेको छ।
कोरोनाको दोस्रो लहरको असर अझ देखिएको छ। युरोपमा तेस्रो लहरसम्म आएपछि झनै पर्यटक घुमफिरमा समस्या नै सिर्जना भयो। नेपालले दुई वर्षमा सरकारी च्यानलमा आउने १ खर्ब ५० अर्ब रुपैयाँ पर्यटन क्षेत्रबाटै गुम्यो। जसका कारण डलर सञ्चितिमै असर पारेको छ।
यो बैंकिङ क्षेत्रबाट आएको तथ्यांक हो। तर, नगदमा हुने कारोबार र भारतीय पर्यटकले नगदमा गर्ने खर्चको त कुनै लेखाजोखा नै छैन। नेपाल मात्रै होइन विश्वभर पर्यटन क्षेत्रले खर्बौं डलर गुमाएको छ।
सन् २०१९ मा १ अर्ब ४० करोड मान्छे (इन्टरनेशनल भिजिटर) हरू घुम्नका लागि आफ्नो देशभन्दा बाहिर निस्किएका थिए। युएन-डब्लुटीओको आँकडाअनुसार २०२० मा अघिल्लो वर्षको संख्याबाट ८० प्रतिशत मानिस घुम्न निस्किएनन्। २० प्रतिशत अर्थात् २८ करोड हाराहारीले भने संसार घुमे। यो वर्ष ४०/५० करोड मान्छे घुम्न निस्किरहेको अनुमान छ। तर पनि अझैसम्म पर्यटकहरूका लागि घुम्न जाने ठाउँहरू सीमित छन्, सीमित गन्तव्यहरू मात्र खुला भएकाले। नेपालको त्यसको भरपुर फाइदा लिनसक्छ।
कोभिडका कारण कति यो क्षेत्रबाट पलायन भए र रोजगारी गुमाए भन्ने यकीन तथ्यांक भने छैन। सरकारले कोरोनाविरुद्धको भ्याक्सिन लगाएर आउने र कोभिड नेगेटिभ रिपोर्ट लिएर आउने सबै विदेशी पर्यटकलाई खुलमखुला घुम्न दिने निर्णयसँगै गत महिनादेखि सकारात्मक प्रभाव सुरु भएको छ।
अक्टोबर महिनामा २३ हजार विदेशी पर्यटक नेपाल आएका थिए। नोभेम्बरमा दोबर पर्यटक आउने आँकलन गरिएको छ। अहिले ट्रेकिङ गाइडहरू व्यस्त हुन थालेका छन्। आन्तरिक पर्यटन देशभर फैलिएको छ। होटल संघ नेपाल (हान) प्रथम उपाध्यक्ष विनायक शाह अहिले शुक्रबार र शनिबार होटलमा कोठा नै नपाउने अवस्था आएको बताउँछन्। ‘पोखरा, सौराह, नगरकोट, धुलिखेलमा कहिँकतै कोठा पाइँदैन, घुम्नका लागि छटपटिएका छन्’ शाहले भने। सरकारले पर्यटन बिदा ७ दिन दिएमा अर्थतन्त्र नै माथि उकास्ने भएकोले सरकारले यसमा ध्यान दिनुपर्ने बताए।
अहिले ठूला होटलहरूमा पनि १० प्रतिशत अकुपेन्सी पुगेको छ। दुई वर्ष रित्तै भएका होटलहरूमा अहिले १० प्रतिशत अकुपेन्सी पुगेको छ। पुराना होटल भन्दा नयाँ ठूला तारे होटलले आकर्षक प्याकेज दिएपछि अलफ्ट र मेरियट होटल ८० प्रतिशत अकुपेन्सीमा चलिरहेका छन्। काठमाडौंका होटलहरूमा पनि अहिले गोष्ठी सेमिनार र बिहेले भरिभराउ भएका छन्।
सबै राजनीतिक दलका पार्टी अधिवेशनले गर्दा पनि देशभर मुभमेन्ट बढेको छ। यतिबेला एयरलाइन्स कम्पनीहरूलाई भ्याइ नभ्याइ भएको छ। दैनिक ७ हजारभन्दा बढी यात्रु बुद्ध एयरले मात्रै बोकिरहेको छ। यति, तारा, गुण, श्री एयरलाइन्स लगायतले पनि उडान थपिरहेका छन्। यसले आन्तरिक पर्यटकको मुभमेन्ट बढाइरहेको देखिएको हान उपाध्यक्ष शाह बताउँछन्।
सन् २०१९ मा १२ लाख पुगेको पर्यटक आगमन अहिले शून्य अवस्थामा छ। अब सोही तथ्यांक भेट्न धेरै नै पापड पेल्नुपर्ने देखिन्छ। विदेशी पर्यटक तत्काल लाखौँको संख्यामा नआउने भए पनि आन्तरिक पर्यटकमा केन्द्रित भएर गतिविधि बढाउने व्यवसायी र सरकारी निकायको जोड छ।
कोभिड १९ पर्यटन क्षेत्र थला परेसँगै हवाई क्षेत्र पनि थला परेको थियो। अहिले पर्यटन गतिविधि बढेपछि आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान पनि बढेको छ। कतार एरवेजले पुरानै अवस्थामा दैनिक पाँच वटा उडान काठमाडौंमा गर्न थालेको छ। नेपाल वायुसेवा निगमले पनि विभिन्न गन्तव्यमा उडानहरू थप्न थालेको छ। यसरी दैनिक अन्तर्राष्ट्रिय ३० वटाभन्दा बढी उडान हुन थालेको विमानस्थल कार्यालयले जनाएको छ। यता आन्तरिकतर्फ पनि काठमाडौं मात्रै होइन यतिबेला प्रादेशिक उडान पनि हुन थालेपछि देशैभर उडानको संख्या बढेको छ।
पर्यटकको स्वास्थ्य सुरक्षा चासो सम्बोधन गर्न हेल्थ प्रोटोकलहरू कडाइका साथ पालना गर्नुका साथै अन्तर्राष्ट्रिय पर्यटन जमातमा त्यसले एउटा विश्वसनीय आधार बनाउने नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशी बताउँछन्। ‘काठमाडौं, पोखरा लगायतका मुख्य पर्यटकीय सहरहरूमा रहेका पर्यटन व्यवसायहरूमा हेल्थ प्रोटोकलको राम्रोसँग पालना भइरहेको जानकारी गराएर प्रचार गराउन आवस्यक छ,’ जोशीले भने।
जोशी ’भी-टु-भी’ मोडललाई अगाडि सार्नुपर्नेसमेत बताउँछन्। ‘भी-टु-भी’ मोडल भन्नाले ’भ्याक्सिनेटेड गेष्ट’लाई ’भ्याक्सिनेटेड होस्ट’ ले सेवा दिएर गन्तव्यहरू खुला गर्ने हो,’ उनले भने। सरकारले खोपको मात्रा पूरा गरेका पर्यटकलाई क्वारेन्टिन बस्नु नपर्ने र अनअराइभल भिसाको सुविधा खुला गरिसकेकोले यसको मार्केटिङ गर्नु जरीरहेको छ।
विश्वभरको पर्यटन ठप्प
कोरोना कालमा लगभग अन्तर्राष्ट्रिय पर्यटन ठप्प नै भयो। यसरी ठप्प हुँदा यो क्षेत्रबाट मुलुकको कूल गार्हस्थ उत्पादनमा हुने योगदान पनि ठूलो अंकमा घटेको छ। संसाभर हुने पर्यटनको आम्दानी कोरोना सुरु नहुँदैको सन् २०१९ को तुलनामा ४ ट्रिलियन अमेरिकी डलर क्षति पुगेको एक अध्ययनले देखाएको छ।
संयुक्त राष्ट्रसंघीय ट्रेन्ड एण्ड डेभलेपमेन्ट र राष्ट्र संघकै पर्यटन सम्बन्धिको एजेन्सीले सयुक्त रुपमा गरेको एक अध्ययनअनुसार पछिल्लो दुई वर्षमा पर्यटन क्षेत्रले ४ ट्रिलयनभन्दा बढी आम्दानी गुमेको छ।
२.४ ट्रिलियन डलर सन् २०२० मै क्षति भएको यो रिपोर्टले देखाएको छ। यो अध्ययनमा पर्यटन कोरोनाभन्दा अघिको तहमा पुग्न कम्तिमा अझै २ वर्ष लाग्ने अनुमान गरिएको छ। सन् २०२३ पछि मात्र पहिलेकै तहमा पुग्ने अनुमान यो अध्ययनले अनुमान गरेको छ।
पर्यटनमा कोरोना प्रभाव र यसबाट हुने आर्थिक क्षति यो वर्ष पनि रोकिने छैन। सन् २०२१ मै यो क्षेत्रमा हुने आम्दानीमध्ये २.४ ट्रिलियन गुम्ने छ। न्यूनतम १.७ ट्रिलियन क्षति हुने अनुमान गरिएको छ। आर्थिक क्षतिसँगै पर्यटन प्रभावकै कारणले गर्दा समग्र बेरोजगारीदर ५.५ प्रतिशतले बढेको छ। देश हेरी यस्तो दर ३० प्रतिशतसम्म पुगेको छ।
सन् २०१९ को तुलनामा सन् २०२० मा ७४ प्रतिशतले पर्यटक घटेका थिए। वर्ल्ड ट्राभल एण्ड टुरिज्म काउन्सिलको एक प्रक्षेपन अनुसार सन् २०२० मा संसारभर पर्यटकले गर्ने खर्च ६९.४ प्रतिशतले घटेको थियो।
वर्ल्ड ट्राभल एण्ड टुरिज्म काउन्सिलको पछिल्लो प्रक्षेपनअनुसार यो वर्षदेखि पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखिन थालेका छन्। यो वर्ष खर्च ९ प्रतिशतले बढ्ने छ। २०२२ मा त्यो ९८.८ प्रतिशतले बढ्ने छ।
धेरै पर्यटक स्रोत मुलुकहरूमा गरिएको सर्वेक्षणअनुसार धेरै मान्छे घुम्ने योजना बनाइरहेका छन्। खोप लगाएका तथा आत्मविश्वास भएकाहरू पछिल्लो दुई वर्षदेखि घुम्न पाएका छैनन्। उनीहरू अब घुम्ने योजनामा छन्। तर उनीहरूको रोजाइमा परम्परागत गन्तव्यहरू परेका छैनन्। नयाँ गन्तव्यमा उनीहरूको आकर्षण देखिएको छ।
यो वर्ष अन्तर्राष्ट्रियको तुलनामा घरेलु पर्यटन फस्टाउने देखिएको छ। कोभिड प्रोटोकल अझै पनि कतिपय देशहरूमा कडा रहेकाले आन्तरिक पर्यटक नै फस्टाउने देखिएको छ। संसारका कतिपय देशको आन्तरिक पर्यटन यो वर्ष २०० प्रतिशतसम्म बढेको पाइएको छ।
अन्तरदेशीय घुमफिरका लागि विभिन्न मापदण्डहरू रहेको र कतिपय देशमा अझै कोरोना प्रभाव न्यूनीकरण नभएको, भ्याक्सिनेसन दर न्यून भएकाले पर्यटकहरू आफ्नै देशमा घुम्न धेरै जाने वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलको अनुमान छ। यही कारणले गर्दा कयौं देशमा आन्तरिक पर्यटकका कारणले ट्रिप तथा होटल बुकिङमा दोबरभन्दा बढीले वृद्धि देखिएको छ।
अबको चुनौती
पर्यटनको मुख्य पक्ष नै महामारीले पारेको असरबाट यो क्षेत्रलाई बाहिर ल्याउनु नै हो। जस्तो, २०७२ मा भूकम्प जाँदा नेपालमा पर्यटकलाई बोलाउन सक्ने अवस्था थियो र त्यसरी नै बोलाइएको पनि हो।
अहिलेको समस्या नै विश्वव्यापी समस्या हो। धेरै देशहरूले नेपाल घुम्न जान सुरक्षित छ भनि उनीहरूले रेड लिष्टबाट हटाउनुपर्ने छ, यो चुनौतीपूर्ण नै छ। कतिपय देशले खोपको नाम नै तोकेर त्यही खोप लगाएको देशमा मात्रै जाने भन्ने पनि छ। अर्काेतर्फ देशहरूले नै नागरिकहरूलाई घुम्न जान रोक लगाएको अवस्था पनि छ।
नेपाल घुम्नका लागि सुरक्षित छ र सबै स्वास्थ्य सुरक्षाका प्रोटोकलहरू पनि पालना हुन्छन् भन्ने सन्देश दिनु अबको आवश्यकता हो। नेपाल कोभिडपछि घुम्नका लागि राम्रो गन्तव्य हो, किनभने यहाँ प्राकृतिक क्षेत्र, राष्ट्रिय निकुञ्जहरू, ट्रेकिङलगायतका राम्रा क्षेत्रहरू छन् भन्ने सन्देश अझै फैलाउनुपर्नेछ।
यो सन्देश दिन जरुरी भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीसमेत बताउँछन्। चुनौतीकै बीचमा हामी एक वर्षमा नै रिकभरमा जान सक्छौँ’ रेग्मीले भने।