शनिबार, साउन १२ गते २०८१    
images
images
images

विदेशको जागिर छाडेर बाख्रा र मौरीपालन, वार्षिक १५ लाखको कारोबार

images
बिहीबार , मंसिर २१ २०८०
images
images
विदेशको जागिर छाडेर बाख्रा र मौरीपालन, वार्षिक १५ लाखको कारोबार

सात वर्षअघि मात्रै १० लाख रूपैयाँ लागतमा बाख्रा र मौरीपालन थालेका वन अहिले मनग्य आम्दानी गर्न सफल भएका छन्।

images

गलकोट- नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन्।

images
images

बागलुङको बडिगाड गाउँपालिका-१ दगा निवासी मतिलाल वनले सात वर्षअघि १० लाख रूपैयाँ लागतमा बाख्रापालन थालेका थिए। पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वन गाउँमै उद्यम गर्ने अठोटमात्रै गरेनन्, विदेशको राम्रो जागिर छाडेर सात वर्षअघि स्वदेश फर्किएका थिए।

images

जागिरभन्दा उद्यममा सम्भावना देखेका वनले बाख्रा र मौरीपालनबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन्। भारतमा पुगेर बजारीकरण विषयमा स्नातकोत्तर पास गरेका उनी बजारीकरण क्षेत्रबाटै मलेसियासमेत पुगेका थिए।

तीन वर्षको मलेसिया बसाइ छाडेर गाउँमै कृषि गर्ने उद्देश्यले वन नेपाल फर्किएका थिए। सात वर्षअघि मात्रै १० लाख रूपैयाँ लागतमा बाख्रा र मौरीपालन थालेका वन अहिले मनग्य आम्दानी गर्न सफल भएका छन्। धर्मराज बाख्रा फार्म र पुष्पा मौरी फार्म गरी दुई वटा नाममा फार्म सञ्चालन गर्दै आएका उनको बाख्रा फार्मममा एक सय ५० बाख्रा, बोका र पाठापाठी रहेका छन् भने ६० वटा मौरीका घार रहेका छन्।

images

'बुबा भारतमै हुनुहुन्थ्यो, एसएलसी पासपछि भारत गए, उतै बजारीकरण विषयमा डिग्री हासिल गरे, उतैबाट मलेसिया पुगेँ', वनले भने, 'मासिक तीन लाख रूपैयाँ आम्दानी हुने जागिर मलेसियामा तीन वर्ष गरेँ, केही रकम जम्मा गरेर गाउँ फर्कने निधो गरेँ, सात वर्षअघि पुर्खाले परम्परागतरुपमा गर्दै आएको बाख्रापालन र मौरीपालनलाई व्यवसायीकरण गर्न थालेँ, अहिले वार्षिक १५ लाख रूपैयाँसम्मको बाख्रा र मौरीबाट कारोबार गर्दछु।'

उनले मौरीपालन र बाख्रा फार्म दर्ता गरेर दुई फार्मको मालिक बन्न सफल भएको जनाउँदै वार्षिक छदेखि आठ लाख रूपैयाँसम्म बचत गर्न सफल भएको बताए। पढेलेखेकाभन्दा नपढेकाले मात्रै गर्ने कृषि पेसालाई विस्तारै पढेलेखेकाले अगाल्दा बढी सफल हुने उनको भनाइ छ।

उनले पढेलेखेकाले खाने सरकारी जागिरभन्दा मौरीपालन र बाख्रापालनबाट बढी रकम कमाउन थालेको र अन्य युवाले समेत उद्यममा लगानी गर्न आवश्यक रहेको बताए।

'भारतमै ठूलो कम्पनीको मार्केटिङ जनरल म्यानेजेर थिएँ, मलेसिया पुगेर त मासिक तीन लाख रूपैयाँ कमाइ हुने जागिर खाएँ सात वर्षअघि तर नेपालमा नै केही गर्नुपर्छ भनेर लागि परेँ', उनले भने, 'बाख्रापालन व्यवसायभन्दा मौरीपालनबाट धेरै आम्दानी गर्न सकिने अनुभव सँगालेको छु, अहिले बाख्राबाट आफ्नो मेहनतसहित २० देखि ३० प्रतिशत र मौरीपालनबाट ६० प्रतिशत खुद नाफा गर्न सकिने रहेछ।

हाल पूर्वाधार, खोर, मौरीका घार र बाख्रासहित झन्डै ६० लाख रूपैयाँको पुँजी जम्मा भएको उनको भनाइ छ। कमाइ भएको केही प्रतिशत पुँजी वृद्धिमा हाल्दै आएको र अन्य रकम बचत गर्ने गरेको वनले बताए। राज्यले अनुदान दिने नीति सुधार्न आवश्यक रहेको जनाउँदै वनले ५० प्रतिशत अनुदानले किसान झनै समस्यामा परेको बताए।

उनले १० लाख रूपैयाँ लगानी गरेको खोरमा पाँच लाख राज्यले दिँदा आफ्नो लगानी उठाउन धेरै समय लागेको जानकारी दिँदै असली किसानलाई शतप्रतिशत अनुदान दिनुपर्ने बताए। उनले नेपाल सरकारबाट शून्य ब्याजदरमा १५ लाख रूपैयाँ ऋण ल्याएको जनाउँदै उक्त ऋणले आफूलाई ठूलो राहत पुगेको बताए। अहिले वनको फार्ममा यती सेरेना जातको मौरी रहेका छन् भने खरीजात, जमुनापारी, बोयर क्रसजातका बाख्रा रहेका छन्।

उनले मौरीको महलाई प्रतिकिलो एक हजार दुई सय रूपैयाँमा बिक्री गर्दै आएका छन्। उत्पादन भएको मौरी र बोकालाई बजारको अभाव भने नभएको उनले बताए। वनको फार्ममा बाबा, आमा, श्रीमतीले समेत सहयोग गरिरहेका छन्। बाख्रापालनका लागि स्थानीय घाँस एक सय रोपनीमा रहेको छ भने ३० रोपनी जग्गामा आधुनिक प्रजातिको घाँसखेती गरिएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend