शनिबार, साउन १२ गते २०८१    
images
images
images

व्यावसायिक मौरीपालनमा तोगीवासी, वर्षमै करोडौँ रकम भित्र्याउँछन् गाउँ

images
बुधबार, मंसिर २० २०८०
images
images
व्यावसायिक मौरीपालनमा तोगीवासी, वर्षमै करोडौँ रकम भित्र्याउँछन् गाउँ

यस क्षेत्रमा रहेका सबै घरमा धेरै/थोरै घार छन्। व्यावसायिक मौरीपालनबाट यहाँका स्थानीयले लाखौँ आम्दानी गरिरहेका छन्।

images

गण्डकी- कास्की जिल्लाको मादी गाउँपालिका-११ तोगी लम्तरीका विनोद ढकालले गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका छन्। उनले सहर झर्ने र विदेश जाने युवालाई आफ्नो जन्मभूमिमा बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका छन्।

images
images

समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाइमा रहेको विकट बस्तीमा मह र माहुरीसहितको घार बिक्रीबाट एक वर्षको अवधिमा सात लाख रूपैयाँ आम्दानी गरेको २७ वर्षीय ढकालले जानकारी दिए। 'परम्परागत खरले छाएको घुमाउने घरैभरि र वरिपरि करेसाबारीमा राखिएका ३२ वटा मौरीका घारबाट उत्पादिन महको मुख्य बजार पोखरा हो', उनले भने, 'घरबाट मह प्रतिकिलो एक हजार चारसय रूपैयाँ र माग अनुसार सम्बन्धित स्थानमा पुर्‍याउँदा थप एक सय रूपैयाँ लिने गरेको छु।'

images

तोगीगाउँ भन्दामाथि बस्ती नभएको चिसो भए पनि झुल्के घाम लाग्ने उक्त पाखोमा महत्त्वपूर्ण जडीबुटीको खानी तथा घना जंगल भएकाले मौरीका लागि प्रशस्त चरण क्षेत्र रहेको ढकालले बताए। यहाँ उत्पादित अर्गानिक मह र घारको माग तीव्र रहेको उनले  जानकारी दिए।

कात्तिक/मङ्सिरमा मात्र तीन सय केजी मह उत्पादन भइ बिक्री गरेको ढकालले बताए। उनका अनुसार एक वर्षको अवधिमा ३८ थान मौरीसहितको घार समेत बिक्री भएको छ। मौरी सहितकोप्रति घारलाई दश हजार रूपैयाँमा बिक्री वितरण गर्दै आएको उनको भनाइ थियो।

images

गाउँका अघिकांश घारमा सेरेना जातका मौरी रहेका छन्। बुबाले विसं २०६७ देखि सुरु गरेको मौरीपालन यतिखेर व्यावसायिक रुपमा परिणत भएको बताउँदै ढकालले भने, 'गाउँमा बसेर २० घार मौरी पाल्ने हो भने कोही पनि भोकले मर्नुपर्दैन।' उमेरले समूहले नछेक्ने, खासै समय पनि दिनु नपर्ने, बिक्री हुँदैन कि भन्नु नपर्ने, मौरिपालनबाट राम्रो आम्दानी लिन सकिने हुँदा पैसा कमाउन जन्मथलो र परिवार छोडेर विदेश र सहरतर्फ भौँतारिनु नपर्ने उनको भनाइ थियो।

मौरीपालक किसान सोमनाथ खनालका अनुसार घर र आसपासमा मौरीका २२ घार छन्। यस सिजनमा उत्पादन भएको ६५ लिटर मह बिक्रीबाट एक लाख तिस हजार रूपैयाँ आम्दानी भएको उनले जानकारी दिए। महको मागअनुसार पोखराको लेकसाइडमा प्रतिलिटर दुई हजारका दरले बिक्री गरेको बताउँदै उनले भने, 'मौरीलाई खासै ध्यान दिनुपर्दैन। असिनापानीको बढी डर हुन्छ। मलछाप्रो, अरिंगाल, चिभेचरो, कमिला, खपटेकीरालगायत जंगली जनावर, चराचुरुंगीबाट जोगाउनु भने पर्छ।'

कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजको भण्डारकारुपमा लिइने बहुउपयोगी खाद्य वस्तु प्राप्त हुने महको सेवनकर्ता बढेपछि पछिल्लो समय मागसमेत बढेको किसान बताउँछन्। 

स्थानीय मौरिपालन गर्दै आएका अगुवा किसान पित्रृराज लामिछानेले महभन्दा मौरीसहितका घार बिक्रीमा विशेष ध्यान दिँदै आएका छन्। मह उत्पादन गरी बिक्री गर्नुभन्दा मौरीसहितका घार बिक्री वितरण गर्दा व्यावसायिक मौरीपालन विस्तार हुने, मह उत्पादन वृद्धि हुनुका साथै रोजगारीसमेत सिर्जना हुने उनको विश्वास छ।

एक वर्षको अवधिमा आफ्नो र छिमेकीको गरी ३५ लाख रूपैयाँ मूल्य बराबरका तीन सय पचास गोलासहितका घार बिक्री गरेको बताउँदै लामिछानेले भने, 'यस क्षेत्रमा रहेका सबै घरमा धेरै/थोरै घार छन्। गाउँमा वार्षिक एक करोड रूपैयाँभन्दा बढी सहरको पैसा आउने गरेको छ।' कात्तिक/मङ्सिर र फागुन महिनामा मौरीले गोला वृद्धि गर्ने भएकाले सोही समयमा नयाँ घारमा राख्न उचित हुने उनको भनाइ थियो।

कास्की जिल्लाका पाँचवटै स्थानीय तह तथा छिमेकी जिल्ला गोरखा र स्याङजामा मौरीका घार बिक्री गर्दै आएको बताउँदै लामिछानेले उनले थपे, 'अन्य काठको तुलनामा टुनी जातको काठमा बनाइएको घारको मूल्य बढी हुन्छ।' एउटा घारबाट फुटाएर एक वर्षमा १० घारसम्म मौरी बनाउने गरेको उनले बताए।

स्थानीय सरकार एवम् विभिन्न संघसंस्थाले किसानलाई मौरी घार वितरण गरेपनि प्रविधि र ज्ञानको अभावमा उनीहरुले उचित फाइदा लिन नसकेका लामिछानेको भनाइ थियो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) इलाका संरक्षण कार्यालय सिक्लेसद्वारा ५० प्रतिशत अनुदानमा प्रत्येक घरलाई मौरी सहितको एक। एक घार वितरण गरेसँगै यस क्षेत्रमा मौरीपालन सुरु भएको लामिछानेले जानकारी दिए।

गण्डकी प्रदेश सरकारले स्थापनाकालदेखि नै यस गाउँलाई मह पकेट क्षेत्र घोषणा गरेर मौरीघार विस्तारमा जोड दिँदै आएको गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बताए। किसानलाई घारसहित आवश्यक तालिम, अत्याधुनिक प्रविधि, सुरक्षाका सामग्री वितरण गर्दै आएको उनले जानकारी दिए।

मह उत्पादनका लागि आवश्यक सीप, ज्ञान र प्रविधिमा सहयोग गर्दै आइएको गुरुङले जानकारी दिए। उनका अनुसार मादी गाउँपालिकाका अधिकांश वडामा मह उत्पादनको प्रचुर सम्भावना रहेको छ।

पालिकाले पकेट क्षेत्रकारुपमा विकास गर्न चालु आर्थिक वर्षमा १५ देखि २० लाख मूल्य बराबरका मौरीसहितका घार खरिद गरी किसानलाई वितरण गर्ने योजना बनाएको गुरुङले जानकारी दिए। यसमा पालिकाकोतर्फबाट ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको उनले बताए।

गाउँपालिकाका विशेष गरी तोगी, याङजाकोट, घ्यामरुङलगायत स्थानमा राम्रो मह उत्पादन हुने जनाउँदै अध्यक्ष गुरुङले भने, 'मौरीसहितको घार पाउन त्यति सहज छैन। लम्तरी तोगीका किसना पित्रृराज लामिछानसँग घार लिनको लागि छ महिलाको समय लाग्ने र झण्झटिलो खरिद प्रक्रियाले थप असहज हुने गरेको छ।'

गण्डकी प्रदेशको राजधानी पोखराबाट विजयपुर, कालिका, माझठानाको सौरे, भगवतीटार, बरालडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ। सौरेसम्म पक्की सडक भए पनि बाँकी गाउँसम्म पुग्न कच्ची मोटर बाटो पुगेको छ। रासस


प्रकाशित : बुधबार, मंसिर २० २०८०१५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend