शुक्रबार, जेठ ४ गते २०८१    
images
images

काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

images
मंगलबार, मंसिर १९ २०८०
images
images
काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

काँडेभ्याकुर चरा सबैभन्दा धेरै पाइने क्षेत्र यही हो। यो चरा हेर्न विश्वका विभिन्न देशबाट पक्षीप्रेमी पर्यटक नेपालमा आउने गर्छन्।

images
images

भरतपुर- नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन्। तीमध्ये नेपालमा मात्र पाइने चरा हो, काँडेभ्याकुर।

images
images
images

यही चरा हेर्न चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र अग्लो डाँडा सिराइचुलीमा विदेशी पर्यटकहरु पुग्ने गरेका छन्। काँडेभ्याकुर चरा सबैभन्दा धेरै पाइने क्षेत्र यही हो।

images

यो चरा हेर्न विश्वका विभिन्न देशबाट पक्षीप्रेमी पर्यटक नेपालमा आउने गर्छन्। बेलायतबाट चरा हेर्न उपरदाङगढी आएका माइक होइटले काँडेभ्याकुर हेर्न पाएर आफू उत्साहित भएको बताए।

images
images

वातावरणका क्षेत्रमा काम गर्दै आएका होइटले भने, 'नेपालमा मात्रै पाइने चरा यस क्षेत्रमा प्रशस्तै देख्न पाइयो, अन्य चराको अवस्था पनि राम्रो छ।' उनले आफू चरा हेर्नकै लागि नेपाल आएको बताए।

images
images

वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले चितवनको उपरदाङगडी काँडेभ्याकुरको बासस्थानको ‘हटस्पट’ भएको बताए। यहाँ पहाडी क्षेत्रमा पाइने जनावरको पनि अवलोकन गर्न पाइने उनको भनाइ छ।

गिरीले आफू २० वर्षदेखि काँडेभ्याकुर हेर्न र पर्यटकलाई देखाउन यहाँ आउने गरेको बताए। 'उपरपरदाङगढी प्रकृति प्रेमीका लागि उत्तमस्थल मानिन्छ', उनले भने, 'यहाँ आउँदा काँडेभ्याकुर नदेखी फर्कनुपर्दैन।' 

उनले उपरदाङगढी क्षेत्रलाई ‘बर्ड सेन्चुरी’ को रुपमा घोषणा गर्नुपर्ने बताए। उनले पछिल्लो समय जैविक विविधतामा समस्या आउन थालेको भन्दै संरक्षणमा सरोकारवाला लाग्नुपर्ने बताए। उनले चराको बासस्थान मासिँदै गएकाले चरा संरक्षणका विषयमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने आवश्यक औँल्याए।

खैरो जिउ, सादा रङका आँखा र धर्का भएको छाति हुने यो चरा निकै सुन्दर र आकर्षक हुन्छ। मध्यपहाडी इलाकामा बस्न रुचाउने काँडेभ्याकुर गर्मीयाममा एक हजारदेखि एक हजार पाँच सयसम्म दुई हजार एक सय मिटरको उचाइमा बिताउँछ।

हिउँदमा भने पाँच सयदेखि एक हजार एक सय मिटरको उचाइसम्म बसाइँ सर्नेगर्छ। चितवनमा भने चार सय मिटरको उचाइमा पनि बच्चा र अण्डासहित काँडेभ्याकुर देखिएको नेपाल पक्षीविद् संघ बागमती प्रदेश संयोजक बासु विडारीले जानकारी दिए। उजले नेपालमा काँडेभ्याकुरको सङ्ख्या यतिनै छ भन्ने उल्लेख नभएको बताए।

'नेपालबाट लोप हुन लागेका एक सय ६८ प्रकारका चरा छन्', उनले भने, 'त्यसमध्ये काँडेभ्याकुरको संरक्षण पहिलो प्राथमिकतामा पर्नुपर्छ।' विडारीका अनुसार काँडेभ्याकुरलाई दुर्लभ तथा लोपहुने जोखिमयुक्त चराको सूचीमा राखिएको छ। 

जमिन नजिक वा बाक्लो झाडीको तल्लो भागमा बस्न रुचाउने यस चराको प्रमुख आहारा किरा तथा फट्याङ्ग्रा हुन्। मार्चदेखि अप्रिल यस चराको प्रजनन् समय हो। एक सिजनमा तीनदेखि पाँच वटासम्म अण्डा पारी कोरल्ने गर्छ। सामान्य बेला लजालु हुने र झाडीभित्र लुकेर बस्ने यसले प्रजनन्का बेला भने झाडीको बाहिरी हाँगामा बसेर आवाज निकाल्छ। एउटाले आवाज निकाल्यो भने अरुले पनि आवाज निकाल्न थाल्छन्।

प्रजनन्को समयमा यो चराले धेरै आवाज निकाल्छ। यही समयमा यसले बढी चहलपहल गर्छ। झाडी तथा घाँसे मैदानमा बस्न रुचाउने यो चराले आफ्नो गुण गहिरो बनाएको हुन्छ। सन् १८३६ मा हग्डसनमा वैज्ञानिकले काँडेभ्याकुरको सम्बन्धमा अध्ययन अनुसन्धान सुरु गरेका थिए। अहिले पनि विभिन्न ठाउँमा यसको अध्ययन/अध्यापन र अनुसन्धान भइरहेका छन्।

सन् १९५० तिर ठूलो सङ्ख्यामा देखिएको यो चराको सङ्ख्यामा हाल सङ्ख्या कम भएको छ। बढ्दो सहरीकरण, वनजंगल फँडानी र जथाभावी बनेका बाटाघाटाले यस चरालाई नकारात्मक असर पारेको विडारीको भनाइ छ। वनजंगलमा हुने आगलागी र चरा शिकार नियन्त्रण हुनुपर्ने उनको भनाइ छ। पर्यावरण र पर्यटन दुवैलाई उत्तिकै सहयोग पुर्‍याउने काँडेभ्याकुरबारे राम्रो अध्ययन गरेर स्थानीय बासिन्दालाई सचेत गराउनुपर्ने विडारीले बताए।

इच्छाकामना गाउँपालिकाका वनमा चहारेर काँडेभ्याकुर हेर्न विदेशी पर्यटक आउनेक्रम बढेपछि गाउँपालिकाले यसको संरक्षणका लागि चासो देखाएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले ‘इको टुरिजम’को विकास र संरक्षण आवश्यक रहेको बताए।

उनले गाउँपालिकाले पनि सक्रियाताका साथ काँडेभ्याकुरको संरक्षणका लागि स्कुल र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गर्ने  बताए। 'बालबालिकालाई चरा मार्न नहुने, गुँडको संरक्षण गर्नुपर्नेलगायतका कुरा जानकारी गराउनेछौँ', अध्यक्ष गुरुङले भने, 'काँडेभ्याकुरको संरक्षण गर्न सक्यौँ भने भावी पुस्ताको लागि यो अध्ययनको क्षेत्र पनि बन्नसक्छ।' रासस


प्रकाशित : मंगलबार, मंसिर १९ २०८००४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend