शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, गुल्मीमा पनि घट्यो उत्पादन

images
मंगलबार, मंसिर १९ २०८०
images
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, गुल्मीमा पनि घट्यो उत्पादन

पर्वतमा पछिल्ला केही दिनयता औँसे किरा लागेर धमाधम सुन्तला झर्न थालेको छ। गुल्मीमा पनि यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ।

images
images

काठमाडौं- पाक्ने बेलाको सुन्तलामा औँसे किरा फैलिएर नाश हुन थालेपछि पर्वतका किसान चिन्तित छन्। सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको पर्वतको मोदी गाउँपालिका-२ देउपुर र दक्षिण पर्वतको पैंयु गाउँपालिका-३ त्रिवेणीमा पछिल्लो दुई सातायता औँसे किराको प्रकोप फैलिएको हो।

images
images
images

सुन्तला बेचेर राम्रो आम्दानी गर्ने बेलामा औँसे किरा र पतेरोले सुन्तला झरेर बगैँचा भरिएको किसानले बताएका छन्। देउपुरका दाताराम चापागाईँले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने आशामा रहेका बेला औँसे किराका कारण सुन्तला झर्न र बोटसमेत मर्न थालेका बताए।

images
images

देउपुरमा मात्रै तीन सय बढी किसान व्यावसायिक सुन्तला खेती गर्दै आएका छन्। यो गाउँबाट गत वर्ष तीन करोड रूपैयाँको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईले जानकारी दिए।

images
images

पछिल्ला केही दिनयता औँसे किरा लागेर धमाधम सुन्तला झर्न थालेको उनले बताए। यस वर्षमा स्थानीय मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रमा अनुरोध गरे पनि निदानका लागि कुनै उपाय नपाएको स्थानीय प्रकाश चापागाईले बताए।

पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौं र बुटबल लैजाने भए पनि अहिलेसम्म व्यापारी आइपुगेका छैनन्। टिप्ने बेलामा झर्ने र भएका दानामा पनि कीरा लागेर खानै नमिल्ने समस्या देखिएको उनको भनाइ छ।

कृषि ज्ञान केन्द्र पर्वतले देउपुर र त्रिवेणीलगायत ठाउँमा औँसे कीराबाट झन्डै ३० प्रतिशत क्षति पुगेको जनाएको छ। कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले २५ देखि ३० प्रतिशत क्षति पुगेको र थप क्षति हुन नदिनका लागि जतिसक्दो चाँडोे सुन्तला टिपेर बजार पठाउन आग्रह गरिएको उनले बताए।

औँसा किराले झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने यो प्रक्रियाले किराको चक्र ब्रेक गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको उनले जानकारी दिए।

औँसा कीराको प्रकोपबारे पोखराबाट बाल संरक्षण प्रयोगशालाबाट विज्ञहरु लगेरसमेत स्थलगत अनुगमन गरिएको  किराको प्रकोप निदानका लागि किसानलाई आवश्यक सल्लाह र विषादीसमेत सिफारिस गरिएको बताए। चाइनिज फ्रुट प्लाई अर्थात् औँसा कीराको चक्र नष्ट गर्न झरेका सुन्तला प्लास्टिकमा जम्मा गर्ने र गहिरो खाल्डोमा पुर्न उनी सुझाउँछन्।

पर्वतमा झन्डै नौ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। जिल्लाका अन्य क्षेत्रमा भने अहिलेसम्म रोग कीराको समस्या नदेखिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। गत वर्ष पर्वतबाट ३० करोड रूपैयाँका सुन्तला निर्यात भएको थियो। 

किसानले समयमै मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिनाले मुख्य पकेट क्षेत्रहरुमा असर नपारेका कारण पर्वतमा यस वर्ष पनि सुन्तला उत्पादनमा वृद्धि हुने केन्द्रले जनाएको छ। 

गुल्मीमा पनि घट्यो सुन्तला उत्पादन

गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ। गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेट्रिक टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ।

गतवर्ष जिल्लामा छ हजार नौ सय ३८ दशमलव चार मेक्ट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यसवर्ष छ हजार पाँच सय ७२ दशमलव चारमेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ। गतवर्ष गुल्मीमा २९ करोड ३७ लाख दुई हजार चार सय ७२ रूपैयाँको सुन्तला उत्पादन भएकोमा १३ करोड २१ लाखको निर्यात भएको थियो।

यस वर्ष भने २३ करोड ७८ लाख ५५ हजार एक सय ५६ बराबरको सुन्ताला उत्पादन भएकोमा १२ करोड ८४ लाख रूपैयाँको मात्रै निर्यात हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए।

यसवर्ष सुन्तलाको औसत मूल्य प्रतिकेजी ४८ रूपैयाँ तोकिएको छ। फल पातलो लाग्नु, दाना सानो हुनु, फल झर्नु, किसान परम्परागत खेतीमा नै निर्भर हुनु जस्ता कारणले सुन्तला उत्पादन घटेको कार्यालयले जनाएको छ।

सुन्तला बगैँचामा मलखादको प्रयोग नहुनु, सिँचाइको अभाव, बोटबिरुवाको काँटछाँटमा ध्यान नदिनु जस्ता कारणले उत्पादनमा कमी आएको कार्यालयको भनाइ छ। जिल्लामा कुल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय सुन्तलाका बिरुवा छन्। जसमध्ये ६० दशमलव छ प्रतिशत बोटमा फल लागेको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend