शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सोमबार, मंसिर १८ २०८०
विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं- नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै आन्तरिक ऋण उठाउने तयारी गरेको छ। राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र जारी गर्न लागेको हो। 

यस विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले समेत आवेदन दिन सक्नेछन्। 

उक्त ऋणपत्र मंसिर १९ गते बोलकबोल हुनेछ। मंसिर २० गते निष्कासन हुने यस विकास ऋणपत्र २०८८ मंसिर २० गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत सरकारलाई दीर्घकालीन प्रकृतिको आन्तरिक ऋण उठाउने गरेको छ। पहिलो त्रैमाससम्ममा राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ९२ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ।

यसअघि राष्ट्र बैंकले करिब ७ प्रतिशत ब्याजदरमा विकास ऋणपत्र निष्कासन गरेको थियो। हाल बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले कम ब्याजदरमा विकास ऋणपत्रमा लगानी गर्ने देखिएको छ। 

राष्ट्र बैंकले आन्तरिक ऋणसम्बन्धी कार्यतालिका संशोधन गर्दै दोस्रो त्रैमासमा ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ।

यस त्रैमाससम्ममा राष्ट्र बैंकले १४ अर्ब रुपैयाँ ८ वर्षे विकास ऋणपत्र र ७ अर्ब रुपैयाँ ५ वर्षे विकास ऋणपत्रमार्फत उठाउन लागेको छ।

दोस्रो त्रैमासमा ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने राष्ट्र बैंकले जनाएको छ। जसमध्ये ३ अर्ब रुपैयाँ ९१ दिने ट्रेजरी बिल र ७ अर्ब रुपैयाँ १८२ ट्रेजरी बिलमार्फत संकलन हुनेछ। 

बैंकिङ प्रणालीमा करिब ५ खर्ब ४० अर्ब रुपैयाँ अधिक तरलता भएपछि ट्रेजरी बिलको ब्याजदर घट्दो क्रममा छ।

पछिल्लो पटक भएको बोलकबोलका आधारमा २८ दिने ट्रेजरीको ब्याजदर १.७५ प्रतिशत, ९१ दिने ट्रेजरीको ब्याजदर ३.९१ प्रतिशत, १८२ दिने ट्रेजरीको ब्याजदर ३.८८ प्रतिशत र ३६४ दिने ट्रेजरीको ब्याजदर ४.६३ प्रतिशत कायम भएको छ।


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend