शनिबार, साउन १२ गते २०८१    
images
images
images

सांसद विनोद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदानबापतको रकम

images
आइतबार, मंसिर १७ २०८०
images
images
सांसद विनोद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदानबापतको रकम

कृषि मन्त्रालयले आर्थिक वर्ष ०७९/८० का लागि अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ तोकेको छ।

images

काठमाडौं- नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै पाइन्छ।

images
images

चिनी मिलहरुले समयमै भुक्तानी नगरिदिँदा पछिल्लो समय उखु किसानहरु वैकल्पिक कृषि पेसातर्फ जान थालेका छन्। सरकारी तहबाट पनि उखु किसानका समस्या सम्बोधन गर्ने गरी पहल नहुने गरेको किसानको गुनासो छ।

images

सधैँको यो समस्याबाट यसपटक भने पश्चिम नवलपरासीका किसानहरु मुक्त भएका छन्। सरकारले दिने अनुदानबापतको रकम यसपटक किसानले समयमै पाएका छन्। नवलपरासी पश्चिम-१ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलपछि किसानले अनुदान रकम पाएका हुन्। उनले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयलाई निरन्तर ताकेता गर्दै आएका छन्।

नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार ‘सन्तु’ले सांसद विनोद चौधरीको पहलका कारण किसानले अनुदानबापतको रकम पाएको बताए। उनले भने, ‘हामी यहाँका जनप्रतिनिधि, उखु किसान गएर माननीय विनोद चौधरीसँग कुरा राख्यौँ। उनले कृषि मन्त्रालयमा निरन्तर ताकेता गरेका थिए। अनुदान रकम भुक्तानी गर्न कृषिमन्त्री, सचिव, कोलेनिकाका प्रमुखसँग समेत कुरा गरेका थिए।'

images

कृषि मन्त्रालयले कृषि विभागमार्फत नवलपरासी पश्चिममा १५ करोड १२ लाख १५ हजार ५५८ रुपैयाँ अनुदान रकम वितरण गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासीले जनाएको छ।

‘दशैँ अगाडि नै कृषि विभागबाट १५ करोड रुपैयाँको अख्तियारी आएको हो। त्यसपछि हामीले उद्योगबाट किसानको विवरण मागेर डकुमेन्ट रुजु गरेर वितरण सुरु गरिसकेका छौँ,’ जिल्ला कोलेनिका प्रमुख परशुराम नेपालले भने। उनका अनुसार पश्चिम नवलपरासीमा ६ हजार १९४ किसानका लागि अनुदान रकम आएको हो।

कृषि मन्त्रालयले आर्थिक वर्ष ०७९/८० का लागि अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ तोकेको छ। सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुदान रकम वितरण गरिएको हो।

चिनी उद्योगबाट प्राप्त विवरणका आधारमा किसानको बैंक खातामा अनुदान रकम पठाउने काम भइरहेको समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिए। ‘उखु किसानलाई दिने रकम निकासा भइसकेको छ। उनीहरुको बैंकिङ खातामा रकम निकासा गरेका छौँ,’ उनले भने।

उखु अनुदान रकम पाएपछि किसान खुसी छन्। ‘यसअघि अनुदान रकम पाउन निकै गाह्रो हुन्थ्यो, यसपटक माननीय विनोद चौधरीले पहल गरेको भनेर हामीले थाहा पायौँ। पैसा हाम्रो खातामा आइसकेको छ,' सुस्ता, विर्ताका उखु किसान राजेश्वर जयसवालले खुसी व्यक्त गर्दै भने, 'माननीयज्यूलाई धन्यवाद।’ 


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend