शनिबार, साउन १२ गते २०८१    
images
images
images

चिउरी, पैयूँ र दुदिलो नासिँदै जाँदा मौरीलाई चरन क्षेत्रको अभाव

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १० २०७८
images
images
चिउरी, पैयूँ र दुदिलो नासिँदै जाँदा मौरीलाई चरन क्षेत्रको अभाव
images

गलेश्वर- म्याग्दीका ग्रामीण क्षेत्रमा चिउरी, पैयूँ, दुदिलो प्रजातिका रुख नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव भएको छ। चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी आएको कृषकले बताएका छन्।

images
images

विगतका वर्षको तुलनामा यस वर्ष अत्यधिकरूपमा वर्षा भएको र बाढी, पहिरो, भूक्षयले क्षति पुर्‍याउनाका साथै कुकाठका नाममा सामुदायिक वनले चिउरी, पैयूँ र दुदिलाका बोट काट्ने क्रम बढेपछि पुष्परसको अभावले गर्दा मह उत्पादनमा कमी आएको उनीहरूको भनाइ छ।

images

जिल्लाका बेनी नगरपालिकालगायत मङ्गला, धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विम, मराङ, ताकम, ज्यामरुककोट, रत्नेचौर, सिम, राखु, पात्लेखेत, अर्मन, बाबियाचौरका गाउँमा व्यावसायिकरूपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका हुन्।

मालिका-२ का मौरीपालक कृषक टेकनाथ जैसीले तोरी, वुकी, पैयूँ, दुदिलोलगायत फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताए। जैसीले विगतका वर्षभन्दा यस वर्ष अत्यधिक वर्षा भएको र फूल फुल्ने समयमा बोट ढालिएकाले विगतको तुलनामा आधा मात्र मह उत्पादन भएको जानकारी दिए। 'मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको महिनामा पनि कम मह उत्पादन हुनुको कारण पुष्परसमा कमी आउनु नै हो', जैसीले भने।

images

मङ्गला गाउँपालिकाका कृषि प्राविधक जगत् बानियाँले अत्यधिक वर्षा र त्यसपछि सुक्खा हावा चलेका कारणले पनि पुष्परसमा स्वभाविक रुपले कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताए। मौरीको गोलाको सङ्ख्या अत्यधिक बढिरहेको छ। कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिक बानियाँले बताए। 

कृषि ज्ञान केन्द्रले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेष गरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ। जिल्लामा मौरीपालक कृषकको सङ्ख्या बढ्दै गइरहेको छ। जिल्लाका छ स्थानीय तहका २०० भन्दा बढी कृषक व्यावसायिक मौरीपालनमा लागेका स्थानीय तहका कृषि शाखाले जनाएका छन्। रासस


प्रकाशित : शुक्रबार, मंसिर १० २०७८०६:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend