शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

पूर्वगाउँपालिका अध्यक्षको फस्टाउँदो किवीखेती, गर्छन् लाखौँ आम्दानी

images
बिहीबार , मंसिर १४ २०८०
images
पूर्वगाउँपालिका अध्यक्षको फस्टाउँदो किवीखेती, गर्छन् लाखौँ आम्दानी

पाइजाको किवी खेती देखेरै यतिबेला बागलुङका कैयन किसानले व्यावसायिक किवी खेती सुरु गरेका छन्।

images
images

बागलुङ- बडिगाड गाउँपालिका-५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौंबाट पाँच वटा किवीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो। साविक धौलागिरि अञ्चलमा पहिलो पटक किवी भित्र्याएर यसको खेती सुरु गरेका पाइजा यतिबेला भने धेरैका लागि प्रेरणाको स्रोत बनेका छन्।

images
images
images

तत्कालीन समयमा प्रतिबिरुवा एक हजार पाँच सय रूपैयाँमा किवी खरिद गरेका उनले २०६४ सालमा मात्रै व्यावसायिक खेती गर्ने सोच बनाएका थिए। उनी यतिबेला एक सय २० रोपनीमा फलफूल खेती गरिरहेका छन्।

images
images

पाइजाले गतवर्ष मात्रै चार हजार केजी किवी बिक्रीबाट पाँच लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको बताए। उनले हाल चार सय किवीका बिरुवाबाट व्यावसायिक खेती गरिरहेका छन्।

images
images

कृषिमा रमाइरहेका पाइजा किसानको नेता हुँदै २०७४ सालको स्थानीय तहको निर्वाचनमा बडिगाड गाउँपालिका अध्यक्षमा निर्वाचित भए। पालिका अध्यक्षको कार्यकाल सकिएलगत्तै उनी फेरि गाउँमा किवी खेतीमै रमाइरहेका छन्।

'कृषि पेसाकै कारण मलाई धेरैले चिने, धौलागिरिका चार जिल्लामै पहिलो पटक किवी खेती भित्र्याउने मै हो', पाइजाले भने, 'कृषिबाटै जिल्लामा चिनिएको थिएँ, गाउँपालिकाको निर्वाचनमा पालिका अध्यक्षमै निर्वाचित भएँ, सो कार्यकालमा पालिकामा किवी खेती विस्तार गरेँ।' उनले आफू अध्यक्ष भएका बेला किसानलाई अनुदान उपलब्ध गराएको समेत बताए।

'गाउँपालिका अध्यक्ष भएपछि व्यस्तता बढ्यो, गाउँमा बसाइँ कम भयो, धेरै काम पालिका केन्द्रबाट गर्नुपर्ने हुँदा किवीले अलि स्याहार पाएन', पाइजाले भने, 'अहिले त फुर्सद छ दिनभर किवीको स्याहार गर्न भ्याउँछु, परम्परागत कोदो, गहुँ र मकैबाली पूर्णरुपमा बन्द गरेर फलफूलमा लगानी गरेको हुँ।' उनले हाल किवीसँगै ओखर, हलुवाबेद, सुन्तला, स्याउ, पाउलिनिया, एभोकाडो, कागती, अनार खेतीका साथै आठ घार मौरी पनि पालन गरिरहेका छन्।

पाइजाको किवी खेती देखेरै यतिबेला बागलुङका कैयन किसानले व्यावसायिक किवी खेती सुरु गरेका छन्। गलकोट नगरपालिका-१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका-४ का लीला घर्ती, बागलुङ नगरपालिका-८ सिगानाका अनन्तबहादुर खड्का, राजन जिसी, बागलुङ नगरपालिका-९ तित्याङका हीरा केसी र प्रेम केसी, ताराखोला गाउँपालिका-५ का नरबहादुर राना लगायत व्यावसायिक किवी खेतीमा रमाएका छन्।

बागलुङमा झन्डै ४० हेक्टर जमिनमा व्यावसायिक किवी खेती गरिँदै आइएको सरकारी तथ्यांक छ। बागलुङको दुदिलाभाटीमा किवी पकेट कार्यक्रम नै सञ्चालित छ। किवी भिटामिन सी, एन्टिअक्सिडेन्ट र फाइबरको राम्रो स्रोत मानिन्छ। किवी फ्रुट भिटामिन सी र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो। यसलाई नेपालमा ‘ठकी फल’ पनि भनिन्छ। रासस


प्रकाशित : बिहीबार , मंसिर १४ २०८०१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend