आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला

बिहीबार , मंसिर १४ २०८०
आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला

चितवन- चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ। उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन्।

सुन्तला पर्याप्त उत्पादन हुने यस क्षेत्रका किसानले सुरुवातमै अगौटेबाट राम्रो आम्दानी लिन सफल भएका छन्। इच्छाकामना गाउँपालिका-५ का रामप्रसाद बोहरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले उचित मूल्य पाएको बताउँछन्।

उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो ९० रूपैयाँसम्म परेको बताए। बोहराले भने, 'कम उत्पादन भए पनि मूल्य राम्रै पाएका छौँ।' बोहराले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन्।

वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फर्किएका ३३ वर्षीय उनी सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताउँछन्। बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि बिस्तारै यसलाई व्यावसायिक गर्दै जाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनले बताए।

बोहोराले भने, 'अहिले सुन्तलाको मूल्यबाट सन्तुष्ट छु। अन्य साथीहरु पनि सन्तुष्ट हुनुहुन्छ।' अझै सुन्तलाको मूल्य बढ्नेमा उनी विश्वस्त छन्। विगत वर्षहरुमा यति बेला प्रतिकिलो ७० रूपैयाँ हाराहारीमा सुन्तला बिक्री हुने गरेको थियो।

सुन्तलाले उचित मूल्य पाउँदा इच्छाकामना गाउँपालिकाका किसान हर्षित छन्। इच्छाकामना-३ माझगाउँका सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन्। उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष राम्रो आम्दानी लिन सकिने बताए।

उनले भने, 'अहिले होलसेल मूल्य नै प्रतिकिलो ९० देखि १ सय रूपैयाँसम्म परेको छ। यो बढ्दै जाने देखिन्छ।' बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटबढ हुनसक्ने भन्दै उहाँले बजारको व्यवस्था गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए।

गुरुङले भने, 'अहिले थोरै उत्पादन भएको छ। त्यही कारणले मूल्य पाउन सकेको हो। २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए। आफू सुन्तला खेतीबाट सन्तुष्ट रहेको उनले बताए। उनले वार्षिक चारदेखि पाँच लाख रूपैयाँसम्मको सुन्ताल बेच्दै आएका छन्।

इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाव नभएको बताउँछन्। उनले भने, 'बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ।'

केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उहाँले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए। यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ। जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ। जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका-२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend