काठमाडौं- विद्युतीय कारको दुनियाँमा टेस्ला र उक्त कम्पनीका सीईओ एलन मस्क नआउन वा नसमेटिन असम्भव जस्तै छ। यही ढपढापमा पुग्दै छ दुईपांग्रे विद्युतीय सवारीमा भारतीय कम्पनी ओला र यसका संस्थापक भाविस अग्रवाल।
विद्युतीय कारमा टेस्लाका सीईओ मस्कजस्तै दुईपांग्रे विद्युतीय सवारीमा को? त्यसको जवाफमा भाविस अग्रवाल तयारी उत्तर बनिसकेको छ। ओलाले गएको दुई वर्षमा ३ लाख ३८ हजार विद्युतीय स्कुटर बिक्री गरिसकेको छ। यसले ओलाको कायापलट नै गरिसकेको छ।
भारतीय सडक दुईपांग्रे सवारीले नै नियन्त्रण गरिरहेको छभन्दा फरक पर्दैन, जहाँ वार्षिक करोडौँ मोटरसाइकल तथा स्कुटर बिक्री हुँदै आएको छ। तीमध्ये लगभग सबै पेट्रोलबाट चल्ने हुन्। पछिल्लो समय ओलासहित अन्य केही ब्रान्डले बल्ल विद्युतीय स्कुटर तथा मोटरसाइकल बिक्री गरिरहेका छन्। यसको नेतृत्व ओलाले गरिरहेको छ विशेषगरी भारतमा।
‘अब हामी आईसीई (इन्टरनल कम्बस्चन इन्जिन) एराको अन्त्य गर्छौँ,’ ओलाका संस्थापन अग्रवालले १५ अगस्टमा १ हजार डलरको विद्युतीय स्कुटर सार्वजनिक गर्दै भनेका थिए। ओलाको मूल्यांकन ५ अर्ब ४० करोड डलरको भइसकेको छ। २०२३ को सुरुवातसम्ममा ओलाको वार्षिक विद्युतीय स्कुटर उत्पादन क्षमता २० लाख वटा हुने दाबी कम्पनीले गरेको छ।
ओलाले भारतभर चार सयभन्दा बढी सेल्स तथा सर्भिस नेटवर्क बनाइसकेको छ। जसले विद्युतीय स्कुटरप्रति उपभोक्तामा आकर्षण बढाउन मद्दत गरिरहेको छ।
रोयटर्सले जुलाईदेखि अक्टोबरको बीचमा १० राज्यमा रहेको ओलाको सेन्टर र त्यहाँ भेटिएका उपभोक्तासँग कुरा गरेको थियो। यसमा उपभोक्ता र ओलाको नेटवर्क सकारात्मक देखिएका छन्।
ओलाले भारतमा आफ्नो नेटवर्क विस्तारलाई तीव्रता दिइ नै रहेको छ। साथै ओला आफ्नो बिक्री लिएर अन्तर्राष्ट्रिय बजारमा जान चाहिरहेको छ। भारतीय बजारमा पर्याप्त उपलब्धता बनाएर अन्यत्र जाने योजनामा ओला रहेको छ। ओलाले आफ्नो उत्पादन क्षमता बढाइरहेकाले अबको केही समयपछिबाटै ओलाका विद्युतीय स्कुटरहरु विश्वका विभिन्न देशहरुमा पुग्ने छन्।
‘टेस्ला फर वेस्ट, ओला फर रेस्ट’
युवा जोसका अग्रवाल विद्युतीय स्कुटरको बजार विस्तार गर्न आक्रामक छन् र त्यसमा विश्वस्त पनि। यस्तैमा उनले भनेका छन्, ‘टेस्ला पश्चिमा विश्वका लागि र ओला बाँकी विश्वका लागि’(टेस्ला इज फर वेस्ट, ओला फर द रेस्ट)।
२०२५ को अन्त्यपछि नयाँ बिक्री हुने स्कुटर तथा मोटरसाइकल विद्युतीय हुनुपर्ने भाविसले बताएका छन्। यो लक्ष्य सरकारले नै तय गरेको हो। २०३० सम्म पुग्दा भारतमा बिक्री हुने नयाँ स्कुटर तथा मोटरसाइकल ७० प्रतिशतभन्दा धेरै हुने विश्वास सरकारको छ।
भारतमा विद्युतीय स्कुटर सार्वजनिक गरेको दुई वर्षमै ओला विद्युतीय स्कुटर सेगमेन्टको मार्केट लिडर बनेको छ। आगामी वर्ष भारतमा विद्युतीय स्कुटरको बिक्री ३ गुणा बढेर ७ लाख पुग्ने अनुमान गरिएको छ। हिरो इलेक्ट्रिक र टीभीएस मोटरपनि ओलाको प्रतिस्पर्धी हुने खोजिरहेका छन्। यसमा उनीहरुले ओलालाई धन्यवाद नै दिनुपर्छ।
भारतमा अहिले पनि वार्षिक रुपमा ५२ लाख नयाँ स्कुटर र १ करोड २ लाख मोटरसाइकल बिक्री हुँदै आएको छ। यसका बीच विद्युतीय स्कुटरको स्वीकार्यता बढ्दै गइरहेको छ। भारतमात्र होइन अमेरिका, चीनलगायत देशमा विद्युतीय स्कुटरको प्रयोग र पूर्वाधारको विकास भइरहेको छ।
ओलाले हासिल गर्दै गरेको सफलताबाट विद्युतीय कार जायन्ट टेस्ला इंक पनि विद्युतीय दुईपांग्रेतर्फ आकर्षित हुन सक्छ। टेस्ला भारतीय बजारमा आउने लगभग निश्चित जस्तै छ। भारतसहित एसियाली बजारमा अहिले पनि दुईपांग्रे सवारीकै दबदबा रहेको छ। त्यसैले पनि सम्भावित ठूलो बजारलाई लक्षित गर्दै टेस्लाले विद्युतीय स्कुटर बनाउने सम्भावना नकार्न सकिँदैन।