काठमाडौं- नबिल बैंक लिमिटेडले सेयरधनीलाई १० वर्षयताकै कम लाभांश दिने प्रस्ताव गरेसँगै लगानीकर्ता त्रासमा देखिएका छन्। जसमा बिहीबार एकैदिन प्रतिकित्ता ४६ रुपैयाँले सेयर मूल्य घट्यो। मुख्य कारण लाभांश कम हुनुभन्दा पनि नगद लाभांशमात्रै भएकोले लगानीकर्ता आत्तिए।
नबिल बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। बैंकले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। खासगरी लगानीकर्ताहरू विगतदेखि नै बोनस सेयरमा तानिने गरेका छन्। त्यसकै असर नबिल बैंकको सेयर मूल्यमा परेको छ।
गत वर्षको नाफाबाट २० मध्ये १० वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकबाहेक नै ९ बैंकले अझै लाभांश घोषणा गरेका छैनन्। बाँकी ९ वाणिज्य बैंक पनि आउने साताभित्रै लाभांश घोषणाको तयारीमा रहेका छन्। विगतमा बोनस सेयरलाई प्राथमिकता दिएका बैंकहरूले यसवपर्ष भने नगद लाभांशलाई प्राथमिकता दिएका छन्।
आधिकांश बैंकको पुँजी वृद्धि भइसकेकाले आधिकांशले नगदलाई प्राथमिकता दिएका छन्। नगद लाभांश दिनेवित्तिकै लगानीकर्ता हतासमा देखिने गर्दछन्। तर पनि फाइदा भने नगदमै हुने गरेको छ। नगदमा लाभांश दिँदा सेयर मूल्य समायोजन नहुने भएकोले सेयर मूल्य घट्दैन।
विगतका वर्षहरूमा नगद र बोनस दिने चलन यसपाली कम भएको छ। विगतमा राष्ट्र बैंकले नै लाभांशमा बोनस सेयरलाई प्राथमिकता दिन बैंकहरूलाई दिर्नेशन दिने गरेको थियो। तर यसपाली वाणिज्य बैंकहरूले कि नगद कि त बोनसमात्रै दिएका छन्। नगद र बोनस दुवै दिने वाणिज्य बैंकहरू कम देखिएका छन्।
चारवटा वाणिज्य बैंकले मात्र नगद र बोनस दुवै दिएका छन्। एभरेष्ट बैंक, एसबिआई, ग्लोबल आइएमई र सानिमा बैंकले मात्र नगद र बोनस दुवै लाभांश दिएका छन्।
एभरेष्टले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ लाभांश वितरण गरेको छ। यसैगरी सानिमा बैंकले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७० लाभांश वितरण गरेको छ।
एसबिआई बैंकले चुक्ता पुँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोमध्ये ३.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।
यसैगरी ग्लोबल आइएमई बैंक लिमिटेडले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत लाभांशमध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ।
यी चार बैंकबाहेक बाँकी ६ बैंकले कि नगद कि त बोनस मात्रै दिएका छन्। नबिल, सिटिजन्स, स्ट्यान्डर्ड चार्टड र सिद्धार्थ बैंकले नगद लाभांश मात्रै वितरण गर्ने घोषणा गरेका छन्।
नबिल बैंकले हिजोमात्रै ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सिटिजन्स बैंकले चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यसैगरी सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिएको छ।
बोनसमात्रै लाभांश वितरण गर्नेमा एनआईसी एशिया र माछापुच्छ्रे बैंक मात्रै रहेका छन्। अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको एनआईसी एशिया बैंकले चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद गरी कुल ३०.५ लाभांश वितरण गर्ने घोषणा गरेको छ।
यसैगरी माछापुच्छ्रे बैंकले चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ। माछापुच्छ्रे बैंकको बोनस सेयरसमेत नेप्सेमा सूचीकरण भएको छ।