आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

जागिर छाडेर गाईपालन, दूध बिक्री नहुँदा पेसा नै छाड्नुपर्ने स्थितिमा किसान

images
बुधबार, मंसिर ६ २०८०
images
जागिर छाडेर गाईपालन, दूध बिक्री नहुँदा पेसा नै छाड्नुपर्ने स्थितिमा किसान

किसानको समस्या राज्यले समाधान गर्ने हो भने कसैले पनि रोजगारीका लागि विदेश जानु नपर्ने किसान युवराज थापा बताउँछन्।

images
images

चितवन- रत्ननगरका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर खान्थे। जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन-चार वटा गाई थपेर गंगा-जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाले।

images
images
images

केही महिना अघिसम्म ५५ वटा गाई रहेको उनको गोठमा हाल ४५ वटा गाई छन्। व्यावसायिकरुपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध बिक्रीमा खासै समस्या नआएकामा यस वर्ष भने बिक्रीमा समस्या भएको छ। कृषक थापा भन्छन्, 'गत वर्षको दसैँ र तिहारमा पनि दूध बिक्रीमा समस्या थिएन, यसपालिको दसैँ-तिहारमा भने दूध नबिकेकाले समस्या आयो।'

images
images

व्यावसायिकरूपमा गाईपालन गर्न सुरुमा घाँसको राम्रो प्रबन्ध गर्नुपर्ने उनको अनुभव छ। आफ्ना गाईका लागि दुई बिघा जग्गामा सुपर नेपियर घाँस तथा अन्य स्थानमा जैलगायत मौसमी घाँस लगाएका कृषक थापा सबै पशुपालक किसानले व्यवसाय गर्दा घाँस लाउन अनिवार्य रहेको बताउँछन्। उनी भन्छन्, 'गाईलाई घाँस नभइकन उत्पादन हुँदैन, दाना चोकर खुवाउनभन्दा घाँसमा आधारित रहनुपर्छ।'

images
images

रत्ननगर-१६ मा रहेको आफू आबद्ध भद्रकाली दूध उत्पादक सहकारीबाट सुपर नेपियर घाँसको कार्यक्रममार्फत अन्य किसानलाई पनि घाँस लगाउन प्रेरित गरेको उनको भनाइ छ। थापाको गोठ (फार्म)मा हाल होलस्टेन र जर्सी जातका गाई छन्। उनले दैनिक गोठमा खटेर काम गर्नाका साथै सहयोगी पनि राखेका छन्।

गाईलाई लाग्ने साधारण रोग तथा प्राविधिक समस्याको समाधानका लागि आफै योग्य रहेको र थप जटिल समस्या तथा रोग लागेमा मात्र पशु प्राविधिक बोलाउने गरेको कृषक थापा बताउँछन्।

भद्रकाली दूध उत्पादक सहकारी संस्थाको अध्यक्षसमेत भएका उनले आफूलाई मात्रै नभएर अन्य किसानको समस्याका लागि पनि सहयोगी भूमिका निर्वाह गर्दै आएका छन्। थापा हाल नेपालका बजारमा बाहिरबाट दूध आएकाले यहाँको दूध बिक्रीमा समस्या भएपछि गाई घटाउँदै लग्नुपरेको गुनासो गर्छन्। दैनिक तीन सय लिटर दूध उत्पादन हुँदै आएको उनको फार्ममा हाल गाई घटेसँगै उत्पादन पनि घटेको छ।

'भारतबाट दूध तथा पाउडर आएका कारणले नेपालको दूध खपत हुन सकेको छैन', थापा भन्छन्, 'डेरीमा लगेको दूध बेलुका व्यापारी लिन आउने वा नआउने थाहा छैन, त्यही भएर गाई बेच्नु परेको हो।' केही समय अघि मात्रै ७९ रूपैयाँ प्रतिलिटरमा बिक्री भएको दूध हाल ७० रूपैयाँमा दिनुपरेको गुनासो गर्दै उनी भन्छन्, 'व्यापारीले दूध नलाने र सधैँ मूल्य मात्र घटाउने गर्दा पेसाप्रति नै नैराश्य भएर छाड्नुपर्ने स्थिति भयो। विगतका वर्षमा यस्तो समस्या थिएन।'

किसानको समस्या राज्यले समाधान गर्ने हो भने कसैले पनि रोजगारीका लागि विदेश जानुपर्दैन। उत्पादनले मूल्य पाएमा यहीँ जति पनि अवसर रहेको कृषक थापाको भनाइ छ। दूधै बेचेर छोराछोरीलाई पढाउनेदेखि घरखर्च राम्रैसँग चलाए पनि हाल दूध बिक्री नहुँदा अलि अलमलमा परेका उनी बताउँछन्। उनी भन्छन्, 'मुख्य बजारमा लैजादा दूध खरिदको मात्रा घटेको छ। मैले बुझ्दा दूध खानेलाई महँगो र उत्पादन गरी बेच्नेलाई सस्तो भएको छ।' रासस


प्रकाशित : बुधबार, मंसिर ६ २०८००८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend