आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

अधिकांश सूचक सकारात्मक हुँदा पनि किन ओरालो लाग्दैछ सेयर बजार?

बुधबार, मंसिर ६ २०८०
अधिकांश सूचक सकारात्मक हुँदा पनि किन ओरालो लाग्दैछ सेयर बजार?

पछिल्लो समय ब्याजदर पनि घट्दो छ भने अर्थतन्त्रका सूचकमा पनि क्रमश : सुधार हुँदै गएको छ तर सेयर बजारमा लगानीकर्ता सक्रिय हुन छाडेका छन्। 

काठमाडौं- सोमबार स्थिर देखिएको सेयर बजारमा मंगलबार ठूलो अंकले गिरावट आयो। अर्थतन्त्रका सूचकहरु सुधारोन्मुख हुँदा पनि सेयर बजार भने सकारात्मक हुन सकेको छैन।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ को यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा छ। 

लगानीकर्ताहरू तिहार र छठको बिदापछि खुलेको बजार सकारात्मक हुने अपेक्षामा थिए। सोमबार बजार सामान्य अंकले बढे पनि मंगलबार पुनः दोहोरो अंकले घट्यो।

मंगलबार २३.८२ अंकले घटेर बजार १८२९.६५ बिन्दुमा झरेको छ। ३१ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको मात्र कारोबार भएको छ। २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सोमबार १.३९ अंकले बढेर बजार १८५३.४८ बिन्दुमा पुगेको थियो। त्यसअघि दसैँ र तिहारबीचमा १० कारोबार दिनमध्ये ४ दिनमा बजार ४२ अंक बढेको थियो भने बाँकी ६ दिनमा बजार ९२ अंकले घटेको थियो। 

share.JPG

पछिल्लो समय ब्याजदर पनि घट्दो छ भने अर्थतन्त्रका सूचकमा पनि क्रमश : सुधार हुँदै गएको छ तर सेयर बजारमा लगानीकर्ता सक्रिय हुन छाडेका छन्। 

सूचीकृत कम्पनीहरूले पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिहेका छन्। प्रकाशित वित्तीय विवरणअनुसार धेरैजसो कम्पनीहरूको नाफा घटेको छ भने कतिपय नोक्सानीमा छन्। यस कारण पनि लगानीकर्ता सकारात्मक नभएको अनुमान गरिएको छ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा भने सकारात्मक सुधार हुँदै गएको देखिएको छ। गत कात्तिक मसान्तसम्ममा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भइ तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ। 

त्यस्तै सरकारको चालु खाता ५९ अर्ब नौ करोडले बचतमा छ। शोधनान्तर स्थिति ९९ अर्ब सात करोडले बचतमा छ भने कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ।

अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याजदरमा निक्षेप संकलन गरेकाले कर्जाको ब्याजदरसमेत उच्च भएपछि विगत २ वर्षयता कर्जा प्रवाह न्यून रहँदै आएको छ। बैंकिङ प्रणालीमा करिब ५ खर्ब १४ अर्ब अधिक तरलता भएपनि कर्जाको ब्याजदर महँगो भएकोले कर्जा परिचालन न्यून छ। 

कर्जा प्रवाह न्यून हुँदा बैंकहरुको नाफा नै घट्न थालेपछि वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन्। कात्तिक महिनामा १५ वाणिज्य बैंकले ब्याजदर घटाएकोमा मंसिरमा १३ वाणिज्य बैंकले ब्याजदर घटाएका छन्।


प्रकाशित : बुधबार, मंसिर ६ २०८००१:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend