शनिबार, साउन १२ गते २०८१    
images
images
images

चाडपर्वमा पर्यटक बढ्दा व्यवसायीमा थपियो उत्साह

images
सोमबार, मंसिर ४ २०८०
images
images
चाडपर्वमा पर्यटक बढ्दा व्यवसायीमा थपियो उत्साह

पछिल्लो समय नेपालीमा घुम्ने संस्कार विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।

images

चितवन- कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो। पहिले-पहिले नेपालीको घुम्ने ‘कल्चर’ नै थिएनभन्दा पनि हुन्छ। पछिल्लो समय नेपालीको घुम्ने संस्कार विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।

images
images

शनिबार, सार्वजनिक बिदा र चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा उल्लेख्य आन्तरिक पर्यटक आउने गरेका व्यवसायीले बताएका छन्। दसैँ, तिहार र छठ पर्वको समयमा यहाँका प्रायः सबै पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिएका थिए। पर्वका अवसरमा धार्मिक पर्यटकीयस्थलसँगै प्राकृतिक सौन्दर्यस्थलमा पनि पर्यटकको उस्तै घुइँचो थियो। 

images

दसैँदेखि छठसम्म जिल्ला र वरपरका पर्यटकीय गन्तव्य आन्तरिक र बाह्य पर्यटकले भरिभराउ भएका थिए। मनकामना दर्शनका लागि गत शुक्रबार साँझ मन्दिर पुगेका धेरैले सुत्ने कोठा पाएनन्। मन्दिरको दर्शनका लागि पुगेका पत्रकार प्रकाशमणि ज्ञवालीका अनुसार मन्दिरका पेटी, होटलका वरण्डामा समेत कतिपयले रात बिताउनु परेको थियो। होटल सञ्चालकले आफूले प्रयोग गर्ने कोठा पनि पाहुनालाई दिएको उनको भनाइ थियो। ज्ञवालीले त्यसरात मन्दिर क्षेत्रमा दुई हजारभन्दा बढी मानिसले मन्दिरका पेटी, होटलका वरण्डामा दुःख-सुख गरेर रात बिताएका बताए।

गत शनिबार १० हजार ५२ जनाले केबलकार यात्रा गरेका मनकामना दर्शन प्रालिका नायक महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार बिहान ६ बजेदेखि राति १० बजेसम्म केबलकार चलाउनुपरेको थियो। यसका अतिरिक्त गाडी, मोटरसाइकल र पैदल यात्रा गरेर पनि मनकामना दर्शनका लागि पर्यटक मन्दिर पुगेका उनको भनाइ थियो।

images

'केबलकार सुरु भए यताकै यो सङ्ख्या धेरैमध्येको एक पर्दछ। यसअघि गत बैशाख १ गते केबलकार चढ्नेको सङ्ख्या १० हजार नाघेको थियो', शेरचनले भने, 'केबलकार यात्रा गर्ने धेरै भारतीय हुने भए पनि गत शनिबारको सङ्ख्यामा तीन सय ९१ भारतीय थिए, बाँकी सबै नेपाली थिए।'

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहामा पनि तिहारको समयमा पर्यटकले कोठा पाउन नसकेका क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले बताए। उनका अनुसार गत बिहीबार र शुक्रबार कोठा पाउन नसकेर कतिपय आन्तरिक पर्यटक फर्किनुपरेको थियो। हात्ती, डुंगा र जिप चढ्नका लागि दसैँयतादेखि धेरैले समय नपाएको थपलियाको भनाइ थियो। निकुञ्ज प्रवेशका लागि टिकट लिन बिहान ४ बजेदेखि लाइन बस्नुपरेको उनले बताए।

'निकुञ्जले त्यहाँ दुई जना कर्मचारी मात्रै राख्दा पर्यटकलाई प्रवेश टिकट लिन घण्टौँ लाइन बस्नुपर्ने अवस्था बन्यो', थपलियाले भने, 'चाडपर्वमा सात वर्षयताको सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका छन्। चाडपर्वमा आएका धेरै पर्यटक आन्तरिक छन्।' उनका अनुसार ५० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक छन्। यससँगै व्यवसायीमा उत्साह थपिएको उनले बताए।

पश्चिम चितवनको पटिहानी र जगतपुर क्षेत्रका होटल पर्यटकले भरिएका छन्। होटल जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलका अनुसार अक्टोबरयता पर्यटक आगमन राम्रो छ। उनका अनुसार त्यसमा पनि चाडपर्वका समयमा आन्तरिक पर्यटक बढ्ने भएकाले होटल भरिने गरेका छन्।

चाडपर्वसँगै मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन्। केबलकार सञ्चालनमा आएपछि मन्दिर दर्शनका लागि आउनेको सङ्ख्या विगतकोभन्दा बढेको मौलाकालिका धार्मिक सेवा समितिका अध्यक्ष शालिग्राम सापकोटाले बताए। उनका अनुसार दसैँको समयमा दैनिक चार हजार भक्तजन मन्दिर पुगेका थिए। तिहारमा यो सङ्ख्या तीन हजार हाराहारी थियो। यो सङ्ख्या विगतको तुलनामा २५ प्रतिशत बढी भएको सापकोटाले जानकारी दिए।

मौलाकाली केबलकार प्रालिका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार केबलकार सञ्चालनमा आएसँगै भक्तजनको सङ्ख्या बढेको हो। उनका अनुसार ज्येष्ठ र अशक्तसमेत केबलकार चढेर सहजरुपमा मन्दिर जाने गरेका छन्। दिउँसोको समयमा मन्दिर पुग्नेहरु अधिकांश केबलकारबाटै जाने गरेका पौडेलले बताए। अरुबेलाको तुलनामा चाडपर्वको समयमा यात्रु निकै बढेको उनको भनाइ थियो।

चाडपर्वको समयमा लाग्ने मेला, जात्राले पनि पर्यटकीय चहलपहल बढाएको छ। नारायणी नदी किनारमा आइतबार छठ पर्वका लागि हजारौँको सङ्ख्यामा भक्तजनसँगै पूजा हेर्नेहरुको भिड लागेको थियो। तराई सामुदायिक सेवा समितिका सल्लाहकार राजकुमार गुप्ताले ३० हजारभन्दा बढीले छठ पर्व मनाउनुका साथै अवलोकन गरेका बताए। उनले भने, 'एक हजारले पूजा गरे भने ३० हजारभन्दा बढीले अवलोकन गरेका छन्।'

नारायणी नदी किनार व्यवस्थित बनेपछि छठको पूजा गर्ने र हेर्नेको घुइँचो लागेको थियो। छठका लागि नदी किनारलाई व्यवस्थित गरिएको जनाउँदै नदी किनार व्यवस्थित भएसँगै छठ मनाउन आउनेको सङ्ख्या निकै बढेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताइन्। आफूसमेत शुभकामना दिन आइतबार साँझ नदी किनार पुगेको भन्दै उनले नदी किनारको रौनकता यसअघिका वर्षमा भन्दा यस वर्ष बढेको बताइन्।

विगत तीन वर्षअघिसम्म छठ पर्वमा सामान्य मानिस आउने गरेकामा व्यवस्थित भएसँगै सङ्ख्या निकै बढेको दाहालको भनाइ थियो। पर्यटक प्रवर्द्धनमा यस्ता कार्यक्रम सहयोगी हुने उनले बताइन्। उनले भनिन्, 'छठ पर्व हेर्न जाँदै गर्दा निकै रौनकता पाएँ। यस्ता परम्परागत चाडपर्वको प्रवर्द्धन गरेर पर्यटनसँग जोड्नुपर्छ।'

चाडपर्व सुरु भएसँगै चौकीडाँडा, उपरदाङगढी, गोलाघाट, बीसहजार ताल, देवघाट, गणेशधामलगायतका यहाँका पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ। मुख्यरुपमा बिदाको दिनमा पारिवारिकरुपमा घुम्न जानेको सङ्ख्या बढी हुने पर्यटन व्यवसायीको भनाइ छ। रासस


प्रकाशित : सोमबार, मंसिर ४ २०८००७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend