काठमाडौं- जलवायु परिरवर्तनको क्षेत्रमा गम्भीर असमानता देखिएको छ। व्यक्तिगत रुपमा धनाढ्य तथा कुलीनहरूका कारणले प्रदूषित वातावरणको मार भने गरिब जनताले भोगिरहेको पाइएको छ। पछिल्लो एक अनुसन्धानले संसारका १ प्रतिशत कुलीन तथा धनाढ्यहरूले दुई तिहाइ जनताको भन्दा धेरै प्रदूषण गरिरहेको पाइएको छ।
बढ्दो पृथ्वीको तापमानका लागि जिम्मेवार मानिएको हरितगृह ग्यास उत्सर्जना न्यूनीकरण अहिले चिन्ताको विषय बनिरहेको छ तर यही ग्यासको उत्सर्जन एउटाले गर्ने तर त्यसको मार अर्को वर्गले भोग्नुपरेको छ। जलवायु परिरवर्तनको क्षेत्रमा ठूलो असमानता तथा अन्यायको अवस्था सिर्जना भएको छ। अक्सफाम इन्टरनेसनल, स्टकहोम इन्भार्मेन्ट इन्सिच्युट र गार्जियनले संयुक्त रुपमा गरेको अनुसन्धानबाट जलवायु असमानताको यो खाडल उजागर भएको हो।
संसारकै १२ जना धनाढ्यहरूको हरितगृह ग्यास उत्सर्जन २१ लाख सामान्य घरपरिवारको तुलनामा धेरै रहेको छ। अर्थात् संसारका १२ जना धनाढ्यले २१ लाख घरपरिवारको भन्दा धेरै उत्सर्जन गरिरहेका छन्। अनुसन्धानले अमेजनका मालिक जेफ बेजोस, रसियन कुलीन रोमन अब्रामोबिच, प्रविधि टाइकुन बिल गेट्स, ल्यारीपेज, मिचेल डेल, एलन मस्क र मेक्सिकन म्याग्नेट कार्लोस स्लिमलेमात्र संसारका २० लाख घरपरिवारकोभन्दा बढी हरितगृह ग्यास उत्सर्जनमा योगदान गरेको देखाएको छ।
यी धनाढ्यको विराली खरिद, सुपरयाच्ट्स, निजी विमान, कार, हेलिकप्टर र भिल्लाहरू र लगानीका कारणलेमात्र १ करोड ७० लाख टन हरितगृह ग्यास उत्सर्जन गररिहरेका छन् वर्षमा। यो उत्सर्जन २१ लाख घर परिवार, ४.६ कोइला पावरप्लान्टले गर्नेभन्दा धेरै उत्सर्जन हो। मेक्सिकन अर्बपति म्याग्नेट कार्लोस स्लिमकोमात्र ७० लाख टन हरितगृह ग्यास उत्सर्जन गरिरहेका छन्। त्यस्तै बिल गेट्सको बर्सेनि उत्सर्जन ६५ लाख टन छ। त्यस्तै जेफ बेजोसको १५ लाख टन छ।
अर्बपतिहरूको जीवनशैली र नाफाको लालसामा गरिने लगानीले प्रदूषणको विस्तार हुँदै गएको देखिएको छ। धनाढ्यको नाफाका कारण सिर्जित प्रदूषणका कारणले लाखौँ सर्वसाधारण मारमा परिरहेका छन्। यो असमानता र समस्या यति धेरै बढेको छ कि आगामी दशकमा झन चिन्ताजनक हुनसक्ने अनुमान गरिएको छ।
संसारभरका १ प्रतिशत धनाढ्य तथा कुलीनहरूले ६६ प्रतिशत गरिबको भन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गरिरहेका छन्। १ प्रतिशतमा धनाढ्यहरू, राजनीति तथा प्रशासनको क्षेत्रमा प्रभावशालीहरूलाई गणना गरिएको छ। यी यस्ता व्यक्ति हुन् जसले राजनीतिदेखि अर्थतन्त्रसम्म प्रभुत्व राख्छन्। यिनिहरूकै कारणले गर्दा बर्सेनि प्रदूषणको समस्या पनि बढ्दै गएको छ।
वर्षमा संसारभरमा हुने कार्बन उत्सर्जनको १६ प्रतिशत यही एक प्रतिशतले गरेको गरेको छ। यतिमात्र होइन १ प्रतिशत कुलीन वर्गले गरेको प्रदुषणको कारणले सिर्जित मौसमी आपतका कारणले लाखौ मान्छेले ज्यान गुमाइरहेका छन्।
तीनवटा संस्थाले ६ महिना लगाएर गरेको अनुसन्धानले जलवायु परिवर्तनको यो अन्याय र असमानतालाई कोप २८ को मुख्य मुद्दा बनाउन सहाता गर्ने विश्वास गरिएको छ। अनुसन्धानले धनाढ्य तथा कुलीनहरूलाई प्रदूषक कुलीनको नाम दिएको छ। १ प्रतिशत कुलीनहरूको लगानी, जीवनशैली तथा खपतले वर्षमा ५.९ अर्ब टन कार्बन सन् २०१९ मा मात्र उत्सर्जन भएको थियो।
अमेरिकन वातावरण संरक्षण एजेन्सीको हिसाब अनुसार १० लाख टन कार्बन उत्सर्जनबाट २२६ जनाको ज्यान जान्छ। यो हिसाबले यी १ प्रतिशत धनाढ्यहरूको उत्सर्जन आगामी दशकमा १३ लाख मान्छेको मृत्युको कारक हने देखिएको छ। चरम मौसमी घटना काणले गरिब तथा विकासोन्मुख मुलुक सिकार हुने गरेका छन्। गरिबीको रेखामुनी रहेका, सीमान्तकृत आदिवासी जनजाति, आप्रवासी, महिलाहरू तथा घर बाहिर काम गर्नेहरू यसबाट पीडित भएका छन्। एकजना गरिबले १५०० वर्षमा उत्सर्जन गर्नसक्ने कार्बनको धनाढ्य अर्बपतिले एक वर्षमै गर्नसक्ने अनुसन्धानबाट देखिएको छ।
सन् १९९७ मा भएको क्योटो प्रोटोकले औद्योगिक राष्ट्रलाई हरितगृह ग्यास उत्सर्जनका लागि जिम्मेवार बनाउने व्यवस्था गरेको थियो। तर त्यसपछि पछिल्लो समय धनाढ्यहरूलाई पनि कार्बन न्युट्रल हुनका लागि जिम्मेवार बनाउने प्रयास भइरहेको छ। धनाढ्यहरूले गर्ने नाफाको बदलामा भइरहेको हरितगृह ग्यास उत्सर्जनको भरपाइका लागि उनीहरूले काम गर्नुपर्ने विषयमा चर्चा भइरहेको छ।