काठमाडौं- अर्थशास्त्रीहरू सार्वजनिक प्रवचन दिँदा होस्, लेख लेख्दा या अर्थतन्त्रको संरचनाका बारेमा बोल्दा एउटा कुरा छुटाउँदैनन्। त्यो हो संरचनागत परिवर्तनको क्रम।
धेरैले भन्ने यस्तो क्रममा अर्थतन्त्रमा देश अविकसित हुँदा कृषिको हिस्सा धेरै हुन्छ। कृषिमा आधारित उद्योगहरू बढ्दै जान्छन्। त्यसले गर्दा उद्योगको संख्या फस्टाउँछ। त्यसरी भएको उत्पादनलाई वितरण गर्नका लागि सेवाजन्य व्यवसाय फस्टाउँछ। ठीक यसैगरी अर्थतन्त्रमा कुनै पनि क्षेत्रको योगदानको प्रतिशत तलमाथि हुने उनीहरू बताउँछन्।
उनीहरूका अनुसार कृषिबाट अर्थतन्त्र उद्योगमा आधारित हुन्छ। अर्थात् कृषिलाई उद्योगले जित्न थाल्छ। उद्योगपछि सेवा क्षेत्रको योगदान बढी हुने उनीहरूको भनाइ छ।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महत पनि यस्तै भनाइ राख्छन्।
‘कुनै पनि देशको अर्थतन्त्रमा कृषिको योगदान जति कम हुँदै आउँछ अर्थतन्त्र त्यति विकसित हुँदै जान्छ। नेपालको अर्थतन्त्रमा कृषिको योगदान ७० बाट अहिले २५/२६ प्रतिशतमा आएको छ यो अर्थतन्त्र आधुनिक तथा रुपान्तरित हुँदै आएको संकेत हो’ महत भन्छन्।
महत पनि कृषिमा आधारित अर्थतन्त्रमा अविकास, शोषणको मात्रा धेरै हुने र उत्पादकत्व न्यून हुने कुरा स्वीकार गर्छन्। त्यस्तै कृषिबाट उद्योग र उद्योगबाट सेवा क्षेत्रले हस्तक्षेप अर्थतन्त्रमा हुनुपर्ने उनी पनि बताउँछन्।
तर पटकपटक अर्थमन्त्री भएका मात्र होइन आर्थिक उदारीकरणका एक मुख्य नेतासमेत महतले भनेको जस्तो नेपाली अर्थतन्त्रको संरचनागत रुपान्तरण भने भएको छैन।
सिद्धान्त र सुत्रअनुसार नै सबै देशको आर्थिक रुपान्तरण हुन्छ भन्ने होइन। दीगो आर्थिक विकास तथा रुपान्तरणका लागि हुनुपर्ने भनेर विज्ञहरूले भनिरहे अनुसारको विकासक्रम नेपाली अर्थतन्त्रमा देखिएको छैन।
कस्तो छ नेपाली अर्थतन्त्रको संरचनागत रुपान्तरण
वर्षभर देशको आर्थिक वृद्धिदर कति भयो, अर्थतन्त्रको आधार कत्रो छ, अर्थतन्त्रमा कुन क्षेत्रको योगदान कति भनेर तथ्यांक निकाल्दा केन्द्रीय तथ्यांक विभागले विभिन्न समूह विभाजन गरेर तथ्यांक निकाल्छ।
एक आर्थिक वर्षमा उत्पादन भएको वस्तु तथा सेवाको मूल्य निकाल्नुअघि विभागले वर्गीकरण अनुसारको तथ्यांक निकाल्छ। त्यही तथ्यांकको आधारमा कुन क्षेत्रको हिस्सा कति भन्ने कुरा विभागले बर्सेनी तथ्यांक निकाल्छ।
यसमा मुख्य गरी तीन वर्गीकरण छन्। कृषि, वन, माछापालन, खानी तथा उत्खनन् जस्ता क्षेत्रलाई प्राथमिक वा कृषि क्षेत्र भनिन्छ।
उत्पादनमूलक उद्योग, विद्युत, ग्यास, पानीको आपूर्ति तथा निर्माण क्षेत्रलाई समेटेर द्वितीय अथवा उद्योगको नाममा वर्गीकरण गरिएको हुन्छ।
बैंक तथा वित्तीय मध्यस्थता सेवा, शिक्षा, स्वास्थ्य तथा अन्य सेवासँग सम्बन्धित क्षेत्रलाई सेवा क्षेत्रको नाममा वर्गीकरण गरिएको हुन्छ।
कृषि, उद्योग र सेवा क्षेत्रको वर्गीकरण भएको छ।
नेपाली अर्थतन्त्रमा यी तीन क्षेत्रको समीकरणमा अहिले सेवा क्षेत्र अग्रस्थानमा छ। उद्योग तेस्रो छ भने कृषि दोस्रो स्थानमा छ। अर्थात् नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो क्षेत्र सेवा हो भने सानो क्षेत्र उद्योग हो।
डा. महतले भनेअनुसार नेपालको अर्थतन्त्रमा कृषिपछि उद्योग क्षेत्र सबैभन्दा ठूलो भएर मात्र सेवाले त्यसपछि उछिन्न पर्ने थियो। तर त्यसो भएन।
आर्थिक वर्ष २०३१/०३२ मा कृषि क्षेत्र अरु दुई क्षेत्रभन्दा फराकिलो अन्तरले अग्रस्थानमा थियो। अर्थात् नेपाली अर्थतन्त्र भनेकै लगभग कृषिमात्र जस्तो थियो। उक्त कृषि क्षेत्रको योगदान ७१.६ प्रतिशत थियो। उद्योगको योगदान त्यो वर्ष ८.२ प्रतिशत थियो भने सेवा क्षेत्रको योगदान २०.२ प्रतिशत थियो।
कृषि क्षेत्रको दबदबा नेपाली अर्थतन्त्रमा कतिसम्म थियो भने पछिल्ला केही वर्षसम्म कृषि प्रधान अर्थतन्त्र भनेर धेरैले भन्दै आएका थिए।
तर कृषि क्षेत्रको फराकिलो अग्रस्थान विस्तारै साँघुरिँदै गयो।
आर्थिक वर्ष २०४७/०४८ सालमा आइपुग्दा कृषि क्षेत्रको योगदान ४७.७ प्रतिशतमा सीमित भएको थियो। उद्योगको योगदान त्यो वर्ष १७.५ प्रतिशत थियो भने सेवा क्षेत्रको योगदान ३४.८ प्रतिशत थियो।
कृषि क्षेत्रको योगदान घट्दै जाँदा उद्योगको बढ्दै जाुनपर्ने गति यो बेलासम्म देखिएको थियो। तर उद्योगभन्दा सेवा क्षेत्रको रफ्तार झनै तीब्र बन्यो। २०४७ सालपछि २०५७ सालसम्म उद्योग क्षेत्रको विस्तार पनि तीब्र नै भएको थियो।
तर सेवा क्षेत्रको रफ्तार यति तीब्र बन्यो कि आर्थिक वर्ष २०५७/५८ मा आएर सेवा क्षेत्रले कृषिलाई निकै पछाडि पार्यो। त्यसपछि उद्योग क्षेत्र घट्दै गएर अहिले १२ प्रतिशतमा खुम्चिएको छ भने सेवा क्षेत्र ६१ प्रतिशतमा पुगेको छ। कृषि भने अहिले पनि साढे २६ प्रतिशतमा रहेको छ।
उद्योगमा पनि उत्पादनमूलक उद्योगको हिस्सा भने निकै न्यून छ। गएको वर्ष यसको हिस्सा जम्मा ५ प्रतिशतमा सीमित भएको छ।
स्वभाविक रुपान्तरण किन भएन?
पूर्वअर्थमन्त्री डा महत उद्योगको पनि विकास भएको तर उद्योगको तुलनामा सेवा क्षेत्रको विकास तीव्र हुँदा हिस्सा न्यून भएको बताउँछन्।
उदारीकरण सुरु भएपछि उद्योगको विकास तीव्र हुने उपयुक्त समय भए पनि त्यो समयमा नेपालमा माओवादी सशस्त्र द्वन्द्वका कारणले गति रोकिएको उनको बुझाइ छ।
‘उद्योगको विकास हुने बेला द्वन्द्व भयो। त्यसपछि राजनीतिक संक्रमण जस्ता कारणले मौका नै पाएन। यतिबेलासम्म सेवा क्षेत्र निकै अघि बढिसकेको छ’ उनले भने।
उद्योगका लागि ठूलो लगानी चाहिने साथै त्यसका लागि श्रम र पुँजीको पनि विशिष्ट माग हुन्छ। जसका लागि राजनीतिदेखि अन्य थुप्रै पूर्वाधार चाहिन्छ। जुन नेपालमा थिएन। यी र यस्तै कारणले उद्योग फस्टाउन नपाएको धेरैको तर्क छ।
नेपाल सरकारले औद्योगीकरणका लागि खासै चासो नदिएकाले यस्तो अवस्था आएको उद्योगी व्यवसायीहरूले बताउँदै आएका छन्। रोजगारी सिर्जना तथा आर्थिक विकासका लागि निकै महत्व भए पनि उद्योगका लागि सरकारले कहिल्यै पनि प्राथमिकता नदिएको उनीहरूको आरोप छ।
प्रणालीको स्थिरता र नियमकानूनको कार्यान्वयन नहुँदा समस्या आएको बताउँछन् नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर।
‘सरकारले पनि निरन्तर भन्दै आयो उद्योगमा फड्को मार्नुपर्छ भनेर तर यसका लागि हामीले गर्नुपर्ने सहजीकरण, तीब्र प्रशासनिक प्रक्रियाजस्ता कुरामा कुनै पनि सुधार भएन। त्यसैले औद्योगीकरणको वातावरण बनेन’, उनले भने’ अहिले पनि अन्तरसरकारी समन्वयन हुनुपर्छ भनिरहेका छौँ। अहिलेको जस्तो प्रतिस्पर्धी संसार र विश्वव्यापी आपूर्ति श्रृखलासँग जोडिएको अर्थतन्त्रमा कसरी औद्योगीकरण हुन सक्छ।’
अस्वभाविक आर्थिक रुपान्तरणका कारणले गर्दा बढीरहेको सेवा क्षेत्रको दीगोपन र यसबाट उन्नत अर्थतन्त्रतर्फको यात्रामा अवरोध हुनसक्ने अर्थशास्त्रीहरूले चेतावनी दिँदै आएका छन्। उनीहरूले यस्तो किन भनिरहेका छन् भने अहिले पनि जुन ६१ प्रतिशत पुगेको सेवा क्षेत्र छ त्यसमा थोक तथा खुद्राको हिस्सा १५ प्रतिशत छ। उन्नत र आधुनिक सेवा क्षेत्र मानिने क्षेत्रको विकास अझै पनि यसमा मूलधारमा आएको छैन।